कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संक्रमितकै परिवार परीक्षण गर्न मान्दैनन्

कपिलवस्तु/रूपन्देही — कपिलवस्तुको यशोधरा गाउँपालिका–४, अम्लोनहाका विश्वनाथ पासीको कोरोना संक्रमणबाट मृत्यु भयो । उनका छोरा संक्रमित छन् । गाउँपालिकाका स्वास्थ्यकर्मीले दुवैको कन्ट्याक्ट ट्रेसिङ गरे । बाबुछोराको सम्पर्कमा १९ जना रहेछन् ।

संक्रमितकै परिवार परीक्षण गर्न मान्दैनन्

गत बुधबार गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली एन्टिजेन परीक्षण गर्न उनको घरमै पुग्यो । तर उनीहरूले परीक्षण गर्न मानेनन् । टोलीसित झगडा गरे । वडाध्यक्ष पारसनाथ कुर्मीको परिवारका एक सदस्य कन्ट्याक्ट ट्रेसिङमा परे । त्यहाँ पनि परीक्षण सम्भव भएन । वडाध्यक्ष कुर्मी संक्रमित छन् ।

संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण सुरु गरिए पनि डर र सामाजिक समस्या निम्तिने चिन्ताले परीक्षण गर्न नमानेको स्वास्थ्यकर्मीले बताए । ‘अवहेलनाको डर छ,’ यशोधराका अहेब मनोज कोरीले भने, ‘संक्रमित भए हेला गरिन्छ । बोलचाल गर्दैनन् । तर्केर हिँड्छन् ।’ त्यसैले संक्रमण लुकाएर घरमै बस्न बाध्य भएको उनले सुनाए । सिकिस्त भएपछि अस्पताल पुग्छन् । त्यसैले जेठमा मात्रै यशोधराका सात जनाको मृत्यु भएको उनले बताए । त्यहाँ एक महिनामा १ सय ५६ जनाको एन्टिजेन परीक्षण भएको छ । तीमध्ये ४८ जना पोजिटिभ भेटिए । अहिले १७ जना होम आइसोलेनमा छन् । ‘गाउँमै जाँदा पनि जाँच्न मान्दैनन्,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक वीरेन्द्र मिश्रले भने, ‘आफैंले शोधखोज गर्ने त कुरै छैन ।’ त्यसैले समुदायमै अभियान चलाएर परीक्षण गर्न नसकेको उनले बताए ।

जिल्लाका सीमावर्ती स्थानीय तहमा संक्रमणको परीक्षण प्रभावकारी हुन सकेको छैन । स्थानीय तह सक्रिय छैनन् । ‘परीक्षणको अवस्था दयनीय छ,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भने, ‘यसले संक्रमणको जोखिम उच्च छ ।’ परीक्षण नहुँदा हेलचक्य्राइँले संक्रमण बढिरहेको छ । संक्रमण लुकाउने र लापरबाहीले समस्या भइरहेको हो । रुघाखोकी र ज्वरो आयो भनेर नजिककै मेडिकलमा गएर औषधि लिएर खान्छन् । शुद्धोदन गाउँपालिकामा परीक्षणको अवस्था नाजुक छ । एक महिनामा ७५ जनाको एन्टिजेन परीक्षण गरिएको छ । तिनमा १२ जना संक्रमित पाइएका छन् । ‘समुदाय सचेत छैन,’ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक असफाक खाँले भने, ‘आफूहरू जाँदा वास्ता गर्दैनन् ।’ लवनी, हथिहवा र पतरियामा एन्टिजेन परीक्षणको व्यवस्था छ । तर त्यहाँ परीक्षणका लागि कोही आउँदैनन् । गम्भीर लक्षण देखिए परीक्षणका लागि तयार हुन्छन् । नभए हुँदैनन् । यहाँ संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

महाराजगन्ज नगरपालिकामा जेठ महिनामा २७ जनाले एन्टिजेन परीक्षण गरेका छन् । यो ठूलो नगरपालिका हो । तर अवस्था दयनीय छ । ‘यहाँ ११ ठाउँमा एन्टिजेन परीक्षणका लागि किट वितरण गरेका छौं,’ महाराजगन्ज पीएससीका ल्याब असिस्टेन्ट अम्बर पुनले भने, ‘परीक्षणका लागि कोही आउनै मान्दैनन् ।’ कन्ट्याक्ट ट्रेसिङमा परेकाले पनि परीक्षण गर्न गाह्रो मान्ने उनले बताए । जिल्लाको दक्षिणका स्थानीय तहमा परीक्षण निकै कम छ । यसले केस पनि कम देखिएका छन् । तर उत्तरी क्षेत्रका शिवराज, वाणगंगा र दक्षिणी क्षेत्रको कपिलवस्तु नगरपालिकाले परीक्षणको दायरा बढाएका छन् । यसले यहाँ संक्रमितको संख्या अन्यत्रभन्दा धेरै छ । ‘जति बढी परीक्षणको दायरा बढायो, त्यति धेरै देखिएका छन्,’ स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले भने । शिवराज नगरपालिकाले प्रत्येक बुधबार आधारभूत अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गर्छ । वाणगंगा नगरपालिकाले एक हजारको पीसीआर परीक्षण अभियानअन्तर्गत परीक्षणलाई सघन बनाएको छ ।

समुदायस्तरमा परीक्षण

कोरोना संक्रमित पत्ता लगाउन रूपन्देहीका स्थानीय तहले पनि समुदायस्तरमा परीक्षण सुरु गरेका छन् । संक्रमणको चेन ब्रेक गर्न यस्तो परीक्षण थालिएको पालिकाले जनाएको छ । एन्टिजेन परीक्षण किट प्रयोग गरी कन्ट्याक्ट ट्रेसिङमा परेका वा कोरोनासित मिल्दाजुल्दा स्वास्थ्य समस्या भएकाको परीक्षण भइरहेको हो । तिलोत्तमा नगरपालिकाले निःशुल्क कोरोना परीक्षण समुदायस्तरमा सुरु गरेको छ । दुईवटा समूह बनाएर गत मंगलबारबाट १७ वटा वडामै परीक्षण सुरु गरिएको छ । एन्टिजेन परीक्षणबाट संक्रमण भए/नभएको तत्काल पत्ता लाग्ने भएकाले यसलाई तीव्र तुल्याएको नगरपालिकाको दाबी छ ।

गत बुधबारसम्म ३४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाका कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । परीक्षण नहुँदा संक्रमण घटेको आशंका बढेकाले समुदायस्तरमा केन्द्रित गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था खुल्ने उनले बताए । तिलोत्तमामा अहिलेसम्म ५ हजार ८ सय ३६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ५ हजार २ सय १६ जना संक्रमणमुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकामा गत साताबाट टोलटोलमा निःशुल्क परीक्षण सुरु गरिएको छ । मोतीपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा भइरहेको परीक्षणबाट ३३ संक्रमित फेला परेको जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् । दिनहुँ तीन/तीन स्थानलाई समेटिने गरी परीक्षण गर्ने गरिएको उनले बताइन् । जोखिम क्षेत्र र लक्षण देखिएकालाई परीक्षण गरिएको उनले जनाइन् । देवदह नगरपालिकामा स्वास्थ्य कार्यालयले प्रदान गरेको ९ सय किटबाट जाँच सुरु गरेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?