कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जोखिममा बालबालिका

कोरोना हटस्पट लुम्बिनी प्रदेशको पूर्वतयारी शून्य
सन्जु पौडेल, कमल पन्थी

लुम्बिनी/बर्दिया — कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै विज्ञहरूले अस्पतालमा निश्चित बेड छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा हटस्पट बनेको लुम्बिनी प्रदेशमा बालबालिकालाई संक्रमणबाट जोगाउन कुनै तयारी छैन ।

जोखिममा बालबालिका

यहाँका अस्पतालले बालबालिकाका लागि बेड छुट्याएका छैनन् । अन्य पूर्वतयारी पनि कतै देखिँदैन । गत वर्षदेखि बालबालिका संक्रमित भइरहेका छन् । यस क्रममा बालबालिकाको मृत्युसमेत भइरहेको छ । तर, उनीहरूको उपचारका लागि छुट्टै व्यवस्था छैन । संघीय सरकारले प्रदेशमा बालबालिकाका लागि बेड छुट्याउन परिपत्र गरे पनि त्यसको सुनुवाइ नभइरहेको सरोकारवालाले बताए ।

अहिलेसम्म बालबालिकालाई वार्डमा राखेर उपचार गर्नुपर्ने अवस्थाका नआएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । प्रदेशका अस्पतालमा अहिले ३३ बाल रोग विशेषज्ञ कार्यरत छन् । कोरोनाको तेस्रो लहर आउने निश्चितजस्तै देखिएको बुटवलस्थित आम्दा अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । ‘पहिलो लहरले वृद्धवृद्धालाई बढी असर गरेको देखियो,’ उनले भने, ‘अहिलेको भेरियन्टले युवामा असर देखिएकाले तेस्रोले बालबालिकालाई हानि गर्छ भनिएको हो ।’ समस्या आउनुपूर्व नै तयारी गर्नु राम्रो हुने उनले बताए । बालबालिकामा संक्रमण भएपछिको एन्टीबडी विकासको तथ्यांक हेर्दा ठूला मान्छेसरह २५ प्रतिशत देखा परेकाले अहिलेसम्म धेरै असर गरेको नपाइएको उनले जनाए ।

पछिल्लो अध्ययनले संक्रमितको फोक्सोमा रगत जमेर मृत्यु भएको समेत देखाइरहेकाले रगत पातलो बनाउने औषधिको प्रयोग गर्नुपर्ने स्थिति आएको डा. गौतमले बताए । ‘बालबालिकामा त्यो समस्या हुँदैन,’ उनले भने, ‘बालबालिकाका लागि अस्पतालमा बेड मात्रै नभई उनीहरूको उमेर समूहअनुसारका अन्य विषयमा समेत ख्याल गर्नुपर्ने हुन्छ ।’ अहिले काम गरिरहेका चिकित्सकबाहेक थप नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी आवश्यक पर्ने भन्दै उनले जनशक्तिको व्यवस्थापन, तालिमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पाँच वर्षमुनिका बालबालिका आएमा आइसोलेसनमा राख्न नमिल्ने भएकाले त्यस उमेर समूहका संक्रमित भइहालेमा आमासँग राखेर खोप दिने र सुरक्षित बनाई हाल्नुपर्ने उनले बताए । त्यस्तै, पाँच वर्षमाथिका र १० वर्षमाथिका बालबालिकालाई मानसिक दबाब नपर्ने गरी उपचार विधि अपनाउनका लागि बाल चिकित्सकीय तालिम दिई स्वास्थ्यकर्मी खटाउनुपर्ने उनले बताए ।

संघीय स्वास्थ्य निर्देशनालयबाट तयारीका लागि पत्र आएको र सोही अनुसार गर्न थालिएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभरि पाँच वर्षमुनिका ६ सय ८४ बालबालिका संक्रमित छन् । जसमध्ये शून्य दशमलव ९ प्रतिशतलाई मात्र समस्या देखा परेको भण्डारीले बताए । पाँच वर्षमाथिका बालबालिकाको तथ्यांक नरहेको भन्दै उनले धेरै संख्यामा संक्रमित नभेटिएकाले तथ्यांक नरहेको उनको भनाइ छ । प्रदेशमा अहिले १ सय ५ बालबालिका सक्रिय संक्रमित रहेका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना अस्पतालमा बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन पत्राचार गरेको उनले बताए । ‘अहिलेसम्म सरकारी अस्पतालमा बालबालिकाका लागि फरक बेड छैनन्,’ उनले भने, ‘अब त्यसका लागि काम गर्नेछौं ।’

चिकित्सक अभाव

बर्दियामा बालबालिकालाई हेर्ने विशेषज्ञ चिकित्सकको अभाव छ । बालबालिकालाई संक्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयले सास्ती भोग्न बाध्य छन् । स्थानीयका अनुसार परिवार नै कोरोना संक्रमण हुनासाथ बालबालिका अछुतो रहँदैनन् । तर, बालबालिका हेर्ने चिकित्सक नहुँदा अस्पताल लैजाने वातावरण छैन ।

जिल्लामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका संक्रमित हुने जोखिम रहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् । २ वर्षदेखि १६ वर्षमाथिकाका लागि कुनै खोप नआएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले बताए । जिल्लामा हाल १ वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म २७ जना बालक र २२ जना बालिका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि १ सय ८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् । ठाकुरबाबा नगरपालिकामा ११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा ८/८ जना, बारबर्दियामा ६, राजापुरमा पाँच जना बालबालिका कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?