पूर्वाधार न स्वास्थ्य सामग्री



रुकुम पूर्व/पाल्पा/रोल्पा/अर्घाखाँची — लुम्बिनी प्रदेशका पहाडी जिल्लाका अस्पतालमा पूर्वाधार अभाव भएकाले चिकित्सकले प्रभावकारी उपचार गर्न नसकेको गुनासो गरेका छन् । जिल्लाका अस्पतालमा ६ जना राख्न सकिन्छ । त्यसभन्दा बढी भएमा पाल टाँगेर उपचार गर्नुपर्छ । अस्पतालमा आवश्यक औषधि छैन । लामो समयदेखि एकैथरी औषधि बिरामीलाई दिन बाध्य छन् । अधिकांश पहाडी जिल्लामा श्वासप्रश्वासमा समस्या आएपछि मात्र अस्पताल भर्ना हुन्छन् ।

रुकुमपूर्व पनि यसबाट अछुतो छैन । ‘जसोतसो अक्सिजन पुर्याएका छौं,’ चिकित्सक पूर्णबहादुर पुनले भने, ‘टाजोपिप नामको औषधि मात्रै अब बाँकी छ ।’ यो औषधि पनि केही मात्रामा मात्रै रहेको चिकित्सकले बताए । संक्रमितलाई नभई नहुने हाइड्रोकोर्टिसन र डेक्थामेथासोन उपलब्ध नरहेको उनको भनाइ छ । ‘यी औषधि बजारमा पनि अभाव भइसक्यो,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा सामग्री छैनन् ।’ स्टाफ नर्स शोभ्ना सिंह गुप्ताले केही थान मास्क, सेनिटाइजर, पीपीईमात्र रहेको बताइन् । ‘पुर्याएर प्रयोग गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘६ जना स्टाफ नर्समध्ये तीन जनाले नर्मल र तीन जनाले कोरोना संक्रमितलाई हेर्ने गरेका छौं ।’
रोल्पा जिल्ला अस्पताल भवन जीर्ण छ । पाँच दशक पुरानो मक्किएको भवनमा चिकित्सकले संक्रमितको उपचार गरिरहेका छन् । साँघुरो र थोरै जनशक्ति भएको अस्पतालमा दैनिक एक दर्जन संक्रमित भर्ना हुन्छन् । ‘हामीले ओपीडी पनि चलाएका छौं । अस्पताल आएपछि सबैलाई जाँच गर्नैपर्यो,’ मेडिकल अधिकृत प्रतिभा सुवेदीले भनिन्, ‘साधनस्रोत अभाव भए पनि सकेसम्म उपचार गरिरहेका छौं ।’ उनका अनुसार संक्रमितको उपचार गर्दा विभिन्न चुनौती छन् । अस्पतालमा आएका बिरामीमध्ये को संक्रमित हो/होइन परीक्षणपछि मात्रै जानकारी हुन्छ ।
अस्पतालमा कोरोना परीक्षण किट पर्याप्त छैनन् । पीसीआर मेसिन नभएकाले रिपोर्ट आउन एक साताभन्दा बढी समय लाग्छ । छिट्टै परीक्षण गर्न मिल्ने एन्टिजेन किट अभाव छ । ‘बिरामीको अवस्था र लक्षण थाहा पाएर पनि कोरोना संक्रमण पत्ता लगाउन नसक्दा समस्या छ,’ डा. सुवेदीले भनिन्, ‘तत्काल उपचार गर्दा प्रभावकारी हुन्थ्यो ।’
रोल्पामा अक्सिजन आपूर्तिको समस्या पनि उत्तिकै चर्को छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर बुढाले अक्सिजन सिलिन्डर थोरै भएकाले ढुक्क मनले उपचार गर्न नसकिएको बताए । सात जना चिकित्सक, १८ जना नर्सिङ स्टाफ र १५ जना प्यारा मेडिक्स छन् । अस्पतालमा थलिएर आएका बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था हुन्छ । उपचार गर्दागर्दै अरू गम्भीर भए थप उपचारका लागि जिल्लाबाहिर पुर्याउनुपर्ने अवस्था छ ।
अर्घाखाँचीस्थित जिल्ला अस्पतालमा आवश्यक उपकरण अभाव हुँदा स्वास्थ्यकर्मीले सास्ती सहनु परेको बताएका छन् । अभाव सहेरै दुःखकष्ट साथ संक्रमितको ज्यान बचाउन लागिपरेको उनीहरूले बताए । ‘पीपीई लगाइसकेपछि दिसा, पिसाब, भोक र तिर्खा लागे खटाएरै बस्ने हो,’ अर्घाखाँची अस्पतालकी नर्स शर्मिला केसीले भनिन् । अरू बेला जस्तो हिँड्न मिल्दैन । निश्चित ठाउँमै बस्नुपर्ने हुन्छ । ‘संक्रमितको मृत्यु हुँदा रुन मन लाग्छ,’ उनले भनिन्, ‘निको बनाएर घर पठाउँदा युद्ध जितेजस्तो हुन्छ ।’ उनी अस्पतालबाट आधा घण्टा पैदल हिँडेरै घर पुग्छिन् । ‘एक महिनादेखि अलग्गै कोठामा बसिरहेकी छु,’ उनले भनिन्, ‘आमाले खाना ल्याएर परै छाडिदिनुहुन्छ । बुबाआमाको अनुहार टाढैबाट हेर्छु ।’
अस्पताल प्रमुख डा. कपिल गौतमले औषधि, स्वास्थ्य सामग्री अभाव रहेको बताए । ‘मुख्य अक्सिजन अभावले सताउने गरेको छ,’ उनले भने, ‘अभावबीच संक्रमितको ज्यान बचाउनुपर्ने चुनौती छ ।’ अर्घाखाँची अस्पतालमा १० एचडीयू र ६ जनरल बेड छन् । अहिले यहाँ २९ बिरामी उपचाररत छन् । ‘बिरामी दैनिक थपिन्छन्, अक्सिजन अभाव नै हुन्छ, कुन दाताले अक्सिजनका सिलिन्डर भरिदेलान्, कसले सहयोग गर्लान् भनेरै दाता खोज्नुपर्ने बाध्यता छ,’ उनले भने ।
गुल्मी अस्पताल प्रमुख डा. उत्तम पाच्यले डाक्टरले अस्पतालमा आएका सबै प्रकृतिका बिरामी हेर्नुपर्ने बताए । अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री अभाव सधैं भइरहन्छ । अक्सिजनका लागि दाताकै भर पर्नुपरेको उनले बताए । ‘अक्सिजन कतिखेर सकिन्छ भनेर जाग्राम बस्नुपर्छ,’ उनले भने, ‘कतिबेला कति बिरामी आउँछन्, टुंगो हुँदैन, अक्सिजन पर्याप्त हुँदैन ।’ गाउँमा सामान्य ज्वरो, रुघाखोकी भएर बस्ने र सिकिस्त भएर आउँदा अक्सिजन दिएर बचाउनुपर्छ । यहाँ आईसीयू नहुँदा छटपटाएर बिरामीको मृत्यु हुँदा धेरै दुःख लाग्ने उनले बताए । पीपीई, स्वास्थ्य सामग्री र औषधिको अभाव भएकाले कसरी जुटाएर बिरामीको ज्यान बचाउने भन्ने चिन्ता रहेको उनले बताए ।
पाल्पास्थित लुम्बिनी मेडिकल कलेजका फिजिसियन डा. तिलचन पाण्डेय निदाउन सकेका छैनन् । शरीर असहज भए पनि ड्युटीमा खटिन्छन् । परिवारले दिनहुँ आफ्नो ख्याल गर्नु भन्छन् । ३५ देखि ४० जनासम्म कोरोना संक्रमित भर्ना रहेको वार्डमा काम गरिरहेका छन् । ‘दिउँसो दुई/तीन पटकसम्म संक्रमित वार्डमा पुगेर त्यहाँको अवस्था हेर्दा निद्रै पर्दैन,’ उनले भने, ‘तैपनि, उच्च मनोबल राखेर काम गरेको छु ।’ विद्यालय बिदा भएकाले छोरा र श्रीमती पनि सँगै छन् । छिनछिनमा बेडका लागि आउने फोन सुन्दा परिवार चिन्तित हुन्छन् । अक्सिजन अभाव भएपछि बेडमा बिरामी राख्न नसकेको उनले बताए । ‘पहिलो लहरको जस्तो छैन अहिलेको संक्रमण,’ उनले भने, ‘संक्रमण भएपछि छिटो गम्भीर भइरहेका छन् ।’
उनका अनुसार अक्सिजन अभाव छ । शिक्षण अस्पतालको प्लान्ट पुरानो भएकाले कम अक्सिजन उत्पादन हुन्छ । त्यसपछि कोभिडका बिरामी इमर्जेन्सीबाटै फिर्ता गर्नुपर्ने बाध्यता छ । युनाइटेड मिसन अस्पतालमा कार्यरत चिकित्सक डा. विकास अधिकारीलाई बिरामीको चीत्कारले सुत्न दिँदैन । ‘हामीले उपचार नगरे कसले गर्ने हो ?’ उनले भने, ‘त्यही भएर मनोबल बढाएर काम गरेका छौं ।’
प्रकाशित : जेष्ठ २३, २०७८ ०८:४३

















