कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वास्थ्यकर्मीमाथि आक्रमण घटना : समितिले बुझायो प्रतिवेदन

घटना हुनुको कारण र समस्याको दीर्घकालीन समाधानबारे सुझाव समावेश
ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेको भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण घटनाको वास्तविकता बुझ्न गठन गरिएको छानबिन समितिले समस्या र दीर्घकालीन समाधानसहितको प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण घटना : समितिले बुझायो प्रतिवेदन

सहायक प्रमुख जिल्ला अधिकारी रोशन विष्टको संयोजकत्वमा गठन भएको सात सदस्यीय समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोमबार २५ पृष्ठको प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन मंगलबार सार्वजनिक गर्ने जनाइएको छ ।

गत बिहीबार दाङका कोरोना संक्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत, छोरा भरत र लोकराजलगायतले भेरी अस्पतालको आईसीयूमा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीलाई लखेटीलखेटी आक्रमण गरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए । सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो ।

छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मीहरू, पीडक, घटनाका प्रत्यक्षदर्शी, बिरामीका कुरुवासँग समेत सोधपुछ गरेको छ । उक्त प्रतिवेदनमा घटना हुनुको कारण, दीर्घकालीन समस्या समाधानको पाटोलाई पनि समावेश गरिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायतका समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए । ‘तर प्रतिवेदनमा समावेश गरिएका सबै विषय प्रमुख जिल्ला अधिकारीले अध्ययनपछि सार्वजनिक गर्नु हुनेछ,’ उनले भने, ‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समस्या समाधानको सुझाव पनि दिएका छौं ।’

भेरी अस्पताल विकास समितिका दुई जना सदस्य, जिल्ला प्रहरीका डीएसपी, नेपाल चिकित्सक संघका दुई सदस्य, नर्सिङका तर्फबाट एक जना सदस्य रहने गरी समिति बनाइएको थियो । प्रजिअ गेलालले समितिले प्रतिवेदन बुझाइसकेको तर विस्तृतमा अध्ययन गर्न नभ्याएको बताए । तर, बिरामीहरूप्रति स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, अस्पतालको आन्तरिक व्यवस्थापन, केन्द्रबाट उपलब्ध गराउनुपर्ने जनशक्तिसमेत प्रतिवेदनमा उल्लेख गरिएको उनले जनाए । त्यस्तै अस्पतालभित्र स्वास्थ्यकर्मीहरूको सुरक्षालाई पनि प्रतिवेदनमा जोड दिइएको छ । ‘प्रतिवेदन अध्ययनपछि समस्या समाधानका लागि पहल गर्ने प्रयास गर्छौं,’ उनले भने ।

भेरीका चिकित्सक र स्वास्थ्यकर्मीहरूले गत बिहीबार साँझ ६ बजेदेखि एक घण्टा दैनिक प्रदर्शन गर्दै आएका छन् । उनीहरूले चिकित्सकलगायतका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पाँच वर्षको जेल सजाय हुने कानुनको माग गर्दै भेरी अस्पतालमा प्रदर्शन जारी राखेका हुन् । पीडित चिकित्सक र स्वास्थ्यकर्मीले स्थानीय प्रशासनले आक्रमणकारीलाई हदैसम्मको कारबाही र सुरक्षा दिन नसके बिरामीको उपचार गर्न नसक्ने अडान राखेपछि भेरीमा सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षा समितिको बैठकको निर्देशनमा शनिबारदेखि भेरी अस्पतालमा जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायव निरीक्षक (सई) तोजेन्द्र बीसीको कमान्डमा दुई प्रहरी सहायक निरीक्षक (असई) सहित २५ जनाको टोली खटाएको छ । यसअघि उक्त अस्पतालमा हबल्दारको कमान्डमा दुई जना प्रहरी तैनाथ हुने गरेका थिए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम रानाले भेरी अस्पतालको पूर्ण सुरक्षाका लागि सईको कमान्डमा २५ सुरक्षाकर्मी तैनाथ गरिएको जनाए । अस्पतालभित्र २४ सै घण्टा प्रहरी परिचालन गरिएका छन् । बिहीबारको घटनामा भेरी अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकले एक तलामाथि रहेको कोरोना वार्डको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योग र उपद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?