कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाकामा हट्यो सास्ती

महिनावारी भएकालाई सेनेटरी प्याड
सेनिटाइज गरिँदै, पुराना मास्क फेरिँदै
गन्तव्यसम्म पुग्नका लागि यातायातको व्यवस्था
माधव ढुंगाना

भैरहवा — टाढाबाट आइपुग्नुभयो, केही समस्या छ कि ?,’ यहाँस्थित बेलहिया–सुनौली नाका हुँदै मुलुक प्रवेश गर्नेबित्तिकै सशस्त्र महिला प्रहरीले सोधिन्, ‘कुनै शारीरिक समस्या त छैन ?’ नाकामा पहिलो पटक प्रहरीले यसरी चासो दिएपछि रूपन्देहीको तिलोत्तमा–७ की गीतु भण्डारी अलमल परिन् । कोरोना संक्रमण र लामो लकडाउनले समस्यामा परे पनि उनको परिवार र नातेदार भारतको चेन्नईबाट घर फर्किरहेका थिए । उनीहरू लामो यात्राले थकित देखिन्थे । यात्राका क्रममा अर्को समस्या थपिएको थियो । जुन आफूले नातेदारलाई बताउन नसकेको उनले सुनाइन् ।

नाकामा हट्यो सास्ती

‘केही समस्या छ भने निर्धक्कसँग भन्नूस्,’ नाकामा खटिएकी ती सशस्त्र महिला प्रहरीले गोप्य स्थान देखाउँदै आग्रह गरिन् । त्यसपछि भण्डारीले महिनावारी भएको तर आफूसित सेनेटरी प्याड नभएकाले पीडा भइरहेको बताइन् । ती महिला प्रहरीले तत्काल उनको समस्या हल गरिन् । ‘यात्रुप्रति नाकामा यस्तो मानवीय व्यवहार कहिल्यै देखेकी थिइनँ,’ बेलहियास्थित होल्डिङ सेन्टरमा कान्तिपुरसित भण्डारीले भनिन्, ‘सर्वसाधारण यात्रुसित भइरहेको यस खालको व्यवहार र महिलाको समस्यालाई प्राथमिकता दिएको देखेपछि खुसी लागेको छ ।’

सशस्त्र प्रहरीले सिमाना व्यवस्थापन कार्यक्रम लागू गरेपछि बेलहिया–सुनौली नाकामा यात्रुसित गरिने व्यवहारमा परिवर्तन आउन थालेको हो । यात्रुको आवागमनबाट हुन सक्ने कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले सीमा नाकामा यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ । नाका हुँदै फर्किने सबै यात्रुलाई सन्चो बिसन्चो सोधपुछ गरिन्छ । उनीहरूले खाना खाए/नखाएको पनि सोधिन्छ । स्वास्थ्य उपचारका साथै र सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउन थालिएको छ । गत वर्ष कोरोना महामारीका बेला भारतमा दुःख पाएर घर फर्केका प्रवासी नेपालीले नाकामा धेरै पीडा झेल्नु परेको थियो । नाकाबाट प्रवेशमा रोक लगाइएको थियो । बालबच्चा र झोलागुन्टा बोकेर दिनभर नाकामा बस्थे । साँझ भारततिर क्वारेन्टाइनमा पठाइन्थ्यो ।

यसपटक नाकाको अवस्था फेरिएको छ । नाका हुँदै भित्रिने नागरिकलाई सुखदुःख बुझ्ने गरिएको छ । ‘हरेक नेपालीले आफ्नो देशमा प्रवेश गरेको सुखद् अनुभूति सीमा नाकाबाटै पाउनुपर्छ भन्ने मान्यताअनुरूप नाकामा व्यवस्थापन गरिएको छ,’ सशस्त्र प्रहरी बल २७ नम्बर गण हेडक्वार्टरका प्रमुख एसपी राजेश उप्रेतीले भने, ‘यात्रु आगमन हुने प्रमुख नाकालाई उचित किसिमले व्यवस्थापन गर्न सकेमा कोभिड संक्रमण नियन्त्रणको प्रयास पनि प्रभावकारी हुन सक्छ ।’ सिमानालाई सही किसिमले व्यवस्थापन गर्नका लागि निश्चित नाकाबाहेक अन्य सिमानाबाट हुने आवागमन भने बन्द गर्नुपर्ने उनले बताए । गत वर्ष मूल नाकाबाट आवागमन बन्द गरिएपछि हजारौं नेपाली भागेर लुक्दै खुला सिमानाबाट नेपाल प्रवेश गरेका थिए ।

नेपाल आउने सबै यात्रुलाई बेलहिया दशगजामा आउनासाथ महिला, बालबालिका र पुरुषको लाइन छुट्याएर साबुनपानीले पालैपालो हात धुन लगाइन्छ । सबैलाई सेनेटाइज गरिन्छ र नयाँ मास्क दिएर उनीहरूले लगाएको पुरानो मास्क फेर्न लगाइन्छ । सशस्त्र प्रहरीले सञ्चालन गरेको हेल्थ डेस्कमा सबैको अभिलेख राखिन्छ । ज्वरोमापन लगायतको स्वास्थ्य जाँच गरिन्छ । सबैलाई होल्डिङ सेन्टरमा राखेर विश्राम, पिउने पानी, शंकास्पद यात्रुलाई एन्टिजेन परीक्षण र गन्तव्यसम्म पुग्नका लागि यातायातको व्यवस्था मिलाउने गरिन्छ । होल्डिङ सेन्टरमा कोभिड संक्रमण र यसका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा सशस्त्र प्रहरी अधिकृतले केही समयको प्रशिक्षण दिने गर्छन् । अन्य बिरामी र कुनै यात्रुलाई कुनै कारणवश तत्कालै उद्धार गर्नु परेमा प्राथमिक स्वास्थ्य उपचारसहितको उद्धार टोली खटाइएको छ । महिला र बालबालिकाका लागि अलग्गै महिला सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । कक्षमा तैनाथ रहेका सशस्त्र महिला प्रहरीले हरेक महिला यात्रुलाई यात्राका क्रममा परेका समस्याका बारेमा सोध्ने गर्छन् । ‘सबैलाई बताउन नसकिने खालका महिलाका समस्याका बारेमा यहाँ सोधपुछ गर्ने गरिन्छ,’ महिला सहायता कक्षकी सशस्त्र महिला प्रहरी हवल्दार बन्दना घर्ती मगरले भनिन्, ‘गर्भवती, सुत्केरी, महिनावारीलगायत यात्राका क्रममा महिलामाथि परेका समस्या बुझ्ने प्रयास गर्ने गरेका छौं ।’ यसबाहेक यात्राका क्रममा घरेलु हिंसा र यौन शोषण र दुर्व्यवहारका बारेमा पनि सोधपुछ गर्ने गरिएको उनले बताइन् ।

विगतमा नाका व्यवस्थित नभएको गुनासो आएकाले यस पटक पहिलाको अनुभव र व्यवस्थापनमा परिवर्तन गरी सुधार गरिएको सशस्त्रको विन्दवासिनी बाहिनी लुम्बिनी प्रदेशका डीआईजी किशोर प्रधानले बताए । ‘अहिले नेपाल प्रवेश गर्नेबित्तिकै पाएको सुविधा र आत्मीयताका कारण धेरै प्रवासी दाजुभाइ र दिदीबहिनीले खुसी व्यक्त गरेका छन्,’ उनले भने, ‘उनीहरूको यो खुसीलाई हामीले आफ्नो सफलता मानेका छौं ।’ लुम्बिनी प्रदेशमा भारतसँग जोडिएको ४ सय ३६ किलोमिटर खुला सिमानाबाट हुने सीमा अपराध, चोरीपैठारी र कोरोना नियन्त्रणका लागि ३ हजार ५ सयभन्दा धेरै सशस्त्र प्रहरीको २४ सै घण्टा तैनाथ गरिएको उनले बताए । लुम्बिनी प्रदेशका सबै मुख्य नाकामा हेल्थ डेस्क सञ्चालन गरिए पनि बेलहिया नाका प्रभावकारी रहेकाले नमुना बनेको उनले बताए ।

धादिङको नीलकण्ठ–१० ज्यामरुङका सोमबहादुर पाण्डे भारतको लद्दाखस्थित एक होटलमा खाना बनाउने काम गर्छन् । लकडाउनले होटल बन्द भएपछि उनी सुनौली नाका हुँदै घर फर्केका हुन् । यो नाका हुँदै उनी धेरैपटक घर र परदेश आउने जाने गर्थे । तर, अहिलेको यस नाकामा पाएको अनुभव भने उनका लागि अविस्मरणीय बनेको छ । ‘पहिला सिमानामै लौ लाहुरे आए भन्दै जताततै ठग्न खोजिन्थ्यो र हामीप्रति बोलिने र गरिने व्यवहारले हेपिएको महसुस हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने दाजु, भोकप्यास लागेको छ कि भन्दै पानी, बिस्कुट, चाउचाउजस्ता खाने कुरा दिँदै केही समस्या छ कि भनेर सोधखोज गरिँदा खुसी र हर्षको सीमै रहेन ।’ सीमा नाकामा धेरै समय खट्ने सशस्त्र प्रहरी बल बीओपी डन्डा सशस्त्र प्रहरी निरीक्षक प्रमुख विजय थापाले यात्रुलाई आफ्नो गन्तव्यमा पुग्ने क्रममा कसैले ठगेको खण्डमा तत्काल सम्पर्कका लागि सम्पर्क फोन नम्बरसमेत उपलब्ध गराउने गरिएको बताए ।

प्रकाशित : जेष्ठ १५, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?