चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सकमाथि आक्रमण भएको भन्दै भेरी अस्पतालमा विरोध प्रदर्शन

रूपा गहतराज

नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्  । 

कोभिड बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले शुक्रबार अस्पताल परिसरमै प्रदर्शन सुरु गरेको छ । प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘अस्पतालमा राजनीति चल्दैन, हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही गर, दोषीलाई लुकाउन पाइँदैन, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन,’ भन्दै नारा लगाइरहेका छन् ।

अस्पतालको मूल गेटमा भेला भएर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म काममा फर्कन नसक्ने बताएका छन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।

जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरेलगायतमाथि हातपात गरेका थिए । डाक्टर साहुका अनुसार आफूहरू पाँच जनालाई लखेटी–लखेटी कुटपिट हुन थालेपछि उनीहरू झ्यालबाट हाम फालेर जोगिएका थिए ।

यसअघि विज्ञप्ति जारी गरी संघकी जिल्ला अध्यक्ष लक्ष्मी केसी ओलीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएकी थिइन् । संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरूले आईसीयूमा प्रवेश गरी तोडफोडसमेत गरेका थिए ।

घटना छानबिन गर्न स्थानीय प्रशासनले मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दोषीलाई कडा कारबाही हुने आश्वासन दिएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट भैरहवामा थप चार जनाको मृत्यु

माधव ढुंगाना

भैरहवा — भैरहवाको भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना पुरुष र एक महिला छन् ।  

भीम अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार सिद्धार्थनगर नगरपालिका–६ का ७७ वर्षीय पुरुषको बिहीबार राति १२:४० मा मृत्यु भएको थियो । उनी गत सोमबारदेखि भर्ना भई उपचाररत थिए ।

रूपन्देहीको गैडहवा गाउँपालिका–२ का ५५ वर्षीय अर्का एक संक्रमित पुरुषको पनि राति १२:२५ मा मृत्यु भएको छ । उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए ।

युुनिभर्सल शिक्षण अस्पतालमा दुवै जना बिरामीको शुक्रबार बिहान मृत्यु भएको हो । नवलपरासीको बर्दघाट नगरपालिका–४ का ६७ वर्षीय एक पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ७० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका प्रशासन संयोजक तेज केसीले बताए ।


प्रकाशित : जेष्ठ १४, २०७८ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×