१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जो दिनहुँ संक्रमितको मृत्यु देख्छन्

‘कोभिड वार्डमा उपचार गराइरहेका आफूजस्तै कोरोनाका बिरामीको मृत्यु भएको देख्दा मन त्यसै आत्तिन्छ । सबै बिरामी र कुरूवाको अनुहार मलिन हुन्छ । वार्डभरि सन्नाटा छाउँछ ।’

नेपालगन्ज — एउटै वार्डका बेडमा उपचार गराइरहेका बिरामीले आँखैअगाडि छटपटिएर ज्यान गुमाएको देख्दा दाङका सन्तोष वलीको मन पोल्छ । उनी संक्रमित श्रीमतीको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा आएका हुन् ।

जो दिनहुँ संक्रमितको मृत्यु देख्छन्

‘कोभिड वार्डमा उपचार गराइरहेका आफूजस्तै कोरोनाका बिरामीको मृत्यु भएको देख्दा मन त्यसै आत्तिन्छ । सबै बिरामी र कुरुवाको अनुहार मलिन हुन्छ । वार्डभरि सन्नाटा छाउँछ,’ उनले भने, ‘बिरामीको मन त झन् त्यो अवस्था देखेर रुन्छ ।’ उनका अनुसार आफूजस्तै बिरामीको मृत्यु भएको देख्दा आत्मबल कमजोर हुने गरेको छ ।

भेरी अस्पतालमा एउटै वार्डमा ६० बढी बिरामी छन् । कोरोनाका बिरामीलाई राख्ने तीन ठूला हलमा वार्ड बनाइएको छ । खुला हल भएका कारण बिरामी छटपटिने र मृत्यु भएको सबैले सहजै देख्न सक्छन् । जटिल अवस्थाका बिरामी छटपटिएको देखेर सामान्य स्वास्थ्य अवस्था रहेका अन्य बिरामी पनि आत्तिने गर्छन् । ‘वार्डमा मान्छे नमरेको दिन छैन । त्यो दृश्य दैनिक हेर्नुपर्छ । लास देख्दा मन खिन्न हुन्छ । आफ्ना मान्छेको पनि त्यस्तै हुने हो कि भन्ने डरले मनमा त्रास बढ्छ,’ दाङका वलीले भने, ‘अब त लास देख्ने बानी पर्न थालिसक्यो । तर, डरचाहिँ लाग्दो रहेछ ।’

नेपालगन्ज उपमहानगरपालिका –१८, कारकाँदोका चन्द्र वली कोरोनाको लक्षण देखिएपछि तीन दिन परिवासँग छुट्टिएर होटलमा बसे । तर, ज्वरो कम नभएपछि भेरी अस्पतालमा उपचारका लागि भर्ना भए । उनले कोरोना जित्न अस्पतालमा १७ दिन बिताए । उनी बसेको बेडवरिपरि २३ जना संक्रमित थिए । मृत्युलाई उनले नजिकबाट चिन्ने मौका पाए । संक्रमितको छटपटी, कुरुवाको आक्रोश र चिन्ता पनि उनले नजिकबाट नियाले । आफ्नै अगाडि तीन जना कोरोना संक्रमितको मृत्यु भएपछि उनले डरले शिर ठाडो पार्न सकेनन् । ‘न पर्दा थियो, न कुनै छेकबार । आफ्नै अगाडि मान्छे मरिरहँदा डरले घोप्टो परेर सुत्थें । हेर्न सक्दिनथें,’ उनले भने, ‘राति मरेको मान्छेको शव बिहान मात्र लैजान्थे । हामी निकै आत्तिन्थ्यौं ।’ एकातिर संक्रमितको चाप र अर्कोतिर जनशक्तिको अभावमा कोरोना उपचार उनका लागि सजिलो भएन । ‘अरुको अवस्था हेर्दाहेर्दै आफू कमजोर भएको महसुस हुन्थ्यो,’ उनले भने, ‘अहिले ठूलै युद्धको भुमरीबाट निस्किएको अनुभूति भएको छ ।’

बर्दियाको बाँसगढीका ४९ वर्षीय पुरुष २२ दिनदेखि भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेका छन् । कोरोनाको संक्रमणले अक्सिजनको मात्रा तलमाथि हुन थालेपछि उनी अस्पताल भर्ना भएका थिए । उनी पनि लहरै बेड राखिएको कोरोना वार्डमै भर्ना भएका हुन् । यतिका दिनसम्म उनले दर्जनौं लास देखिसके । त्यो दृश्य देखेर कहिलेकसो उनी आत्तिन्छन् । आफूलाई सम्हाल्ने प्रयास गर्छन् । उनले अहिले कोरोनालाई पराजित गरेका छन् । एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज हुने क्रममा छन् । ‘आफ्नै अगाडि मृत्यु भएको देख्दा कोरोनाको सामान्य लक्षण भएका बिरामी पनि आत्तिन्छन् । डर र त्रास पैदा हुन्छ । यसले निको हुनमा झन् समय लाग्दो रहेछ,’ उनले भने, ‘कोठाहरू भइदिएको भए त्यो अवस्था देख्नु पर्दैन्थ्यो । तर, बिरामी यति धेरै छन् कि हलमा नराखी उपाय नै छैन ।’

उक्त अस्पतालमा रहेका सुविधासम्पन्न १८ आईसीयू बेड भरिएका छन् । बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा ठाउँ अभाव छ । १ सय ४२ बेडको कोरोना वार्डमा २ सय ५० जना बिरामी भरिभराउ छन् । त्यहाँ पनि बिरामी नअटाएपछि अस्पताल परिसरमा पाल टाँगेर कोरोना संक्रमितको उपचार भइरहेको छ । उक्त अस्पतालमा स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै उपचारका लागि आउने गरेका छन् । लुम्बिनी र कर्णाली प्रदेशबाट जटिल अवस्थाका कोरोना संक्रमितलाई उपचारका लागि पठाउने गरिएको छ । जसका कारण बिरामीको चाप भेरीमा बढेको हो ।

मृत्यु हुने घटनाले कुरुवाका आफन्त मन थाम्न नसकेर अस्पतालमै रुने कराउने गर्छन् । कतिपयले आक्रोश पोख्दै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार पनि गर्ने गरेका छन् । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा.संकेत रिसालले हालको अवस्थामा बिरामीलाई व्यवस्थित रूपमा राख्न नसकिने बताए । उनका अनुसार तीनवटा ठूला हलमा कोरोना वार्ड बनाइएको छ । ‘कोभिड वार्डमा रहेका बिरामीलाई सक्ने सहयोग गरिरहेका छौं । जेजति जनशक्ति छ, त्यसको प्रयोग गरेका छौं,’ उनले भने, ‘एउटा बिरामीका कारण अर्को बिरामीलाई अप्ठ्यारो नहोस् भन्ने हेक्का राखेका छौं ।’ एउटा बिरामीको मृत्यु हुँदा अर्को बिरामीलाई पीडा हुनु स्वाभाविक रहेको उनले बताए । ‘हाल बिरामीलाई कोठाको वार्डमा राखेर उपचार गर्न साध्य छैन । यो बाध्यात्मक अवस्था हो,’ उनले भने ।

अस्पतालको इमर्जेन्जी वार्डसमेतलाई कोरोना वार्डमा परिणत गरिएको छ । १६ बेडको इमर्जेन्सीको ८ वार्डमा अक्सिजनको पाइपलाइन जोडिएको छ । बाँकीका वार्डमा सिलिन्डर अक्सिजनले काम चलाउनु परेको अस्पतालले जनाएको छ । हालसम्म बाँकेमा २ सय ३२ जनाको मृत्यु भएको छ । १ सय ५४ जनाको आईसीयूमा उपचार भइरहेको छ । वैशाखयता मृतकको संख्या बढेको हो । ३ हजार ५ सय ६० सक्रिय संक्रमित छन् । २ हजार ९ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् ।

अस्पतालका नर्सिङ अधिकृत शिला शर्माले मोनिटर, अक्सिजन पाइपलाइनसहितको आईसीयू बेड सेटअप गरेर जटिल स्वास्थ्य अवस्थाका बिरामीको उपचार भइरहेको बताइन् । ‘वार्डका बेडहरूमा अक्सिजन र मोनिटर जडान गरिएकाले आईसीयूजस्तै मानिएको हो,’ उनले भने, ‘अस्पतालमा अन्तिम अवस्थाका बिरामी उपचारका लागि बढी आउने गरेकाले मृतकको संख्या बढेजस्तो देखिएको हो ।’

प्रकाशित : जेष्ठ १०, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?