कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाउँगाउँमा संक्रमण

रुकुम पूर्व — घरघरै बिरामी रहेका गाउँमा कोरोना संक्रमित फेला परेका छन् । सिस्ने गाउँपालिकाले बिरामी रहेका गाउँमा स्वास्थ्यकर्मी पठाएर कोरोना परीक्षण गराएको हो । वडा ३, ८ र २ मा कोरोना परीक्षण गर्दा मंगलबारसम्म ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँगाउँमा संक्रमण

खोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आलस्य हुने, जीउ दुख्ने समस्याका बिरामी रहेका गाउँमा गएर १ सय २५ जनामा कोरोना परीक्षण गरिएकामा १२ महिला र २५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले बताए । यो संक्रमण दर २९ दशमलव ६ प्रतिशत हो ।

जेठ २ गते वडा ३ को स्वास्थ्य चौकी पोखरामा ४३ जनाको परीक्षण गर्दा ५ महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको थियो । जेठ ३ मा वडा ८ को स्वास्थ्य चौकी धपेमा ३८ जनाको परीक्षण गरिएकामा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको थियो । मंगलबार वडा २ को स्वास्थ्य चौकी नायगाडमा परीक्षण गर्दा ५ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको सिस्ने गाउँपालिकाले जनाएको छ । लामो समयदेखि सर्वसाधारण बिरामी भएको र कोरोना भाइरससित मिल्दाजुल्दा लक्षण देखिएपछि गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मी खटाएर कोरोना परीक्षण गरेको हो ।

सर्वसाधारण भने भाइरल ज्वरो र टाइफाइट भन्दै विभिन्न औषधि प्रयोग गर्न बाध्य थिए । जिल्ला सदरमुकाम पुगेर कोरोना परीक्षण गर्न पनि सर्वसाधारणले सकेका थिएनन् । त्यसअघि जिल्ला अस्पतालमा मात्रै कोरोना परीक्षण गर्ने गरिएको थियो । कोरोना परीक्षणका लागि किट अभाव भएको भन्दै अस्पतालबाहिर परीक्षण गरिएको थिएन । अहिले सिस्ने गाउँपालिका आफैंले एन्टिजेन किट खरिद गरी परीक्षण गरेको हो । परीक्षणमा सहभागी अधिकांश बिरामी रहेको गाउँपालिकाले जनाएको छ । विभिन्न लक्षणसहित अस्वस्थ भएकाहरू नै परीक्षणमा सहभागी भएको स्वास्थ्य संयोजक यादवले बताए । कोरोना परीक्षणका लागि यादवकै नेतृत्वमा स्वास्थ्यकर्मी गाउँगाउँ गएका थिए ।

यसबीचमा कोरोना संक्रमण पुष्टि भएका सबैलाई होम आइसालेसनमा बस्न भनिएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जिल्ला अस्पताल आउनु, नभए घरमै आराम गर्नु भनेर गाउँपालिकाको टोली गाउँपालिकाको केन्द्र फर्किएको छ । गाउँमा अरु पनि बिरामी रहेका र संक्रमितको उपचार र अरु व्यवस्थापन पनि नगरिँदा संक्रमण थप फैलने डर भएको वडा ८ का शेरबहादुर पौडेलले बताए । संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण नगर्दा पनि जोखिम बढेको उनले बताए ।

गाउँपालिका अध्यक्ष कुमारी बरालले पछिल्लोपटक किनिएका किटबाट केही परीक्षण गरिएको र आवश्यकताका आधारमा थप परीक्षणको व्यवस्था मिलाउने बताइन् । हालसम्म जिल्लामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा चार जनाको मृत्यु भइसकेको छ । ६ जना जिल्ला अस्पतालको आइसोलेसनमा छन् भने बाँकी १ सय २४ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित : जेष्ठ ८, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?