पाल्पामा थप ६ कोरोना संक्रमितको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाका थप ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

पाल्पामा थप ६ कोरोना संक्रमितको मृत्यु 

लुम्बिनी मेडिकल कलेजमा चार, एक जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । यस्तै गुल्मीका एक जनाको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

तानसेन नगरपालिका–२, का ३१ वर्षीय पुरुषको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो । मंगलबार पीसीआर गर्दा पोजिटिभ देखिएका उनको उपचारका क्रममा मृत्यु भएको हो । रैनादेवी छहरा–५, मुझुङका ७५ वर्गाीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको हो । वैशाख ३१ गते पोजिटिभ देखिएका उनलाई छहरा स्वास्थ्य चौकीमा रहेको कोरोना अस्थायी अस्पतालमा उपचार गरिएको थियो । जेठ २ गते भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै रैनादेवी छहरा–४, छहराका ६२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार वैशाख २८ गते पोजिटिभ पुष्टि भएका उनको घरमै मृत्यु भएको हो । उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा ल्याइएका माथागढी गाउँपालिका–८, बहादुरपुरका ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार अस्पतालमा ल्याएर एन्टिजेन गर्दा उनको पोजिटिभ देखिएको थियो । उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

गुल्मीको रेसुङ्गा नगरपालिका–१०, का ४२ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको छ । उनलाई उपचारका लागि तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको थियो । १२ दिनअघि उनलाई पोजिटिभ देखिएको थियो । पुनः चार दिनअघि एन्टिजेन परीक्षण गर्दा भने नेगेटिभ आए पनि उनमा स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा ल्याएका हुन् । युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । तानसेन नगरपालिका–१२, बौघागुम्हाका उनको श्वासप्रश्वासमा समस्याका कारण मृत्यु भएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७८ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?