तिलोत्तमा नगरपालिकाले बनायो ४० शय्याको अस्थायी कोरोना अस्पताल- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमा नगरपालिकाले बनायो ४० शय्याको अस्थायी कोरोना अस्पताल

सन्जु पौडेल

तिलोत्तमा — कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा ९ केवलानीस्थित नगरपालिकाको सभाहलमा ४० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ ।


बुधबार नगरप्रमुख बासुदेव घिमिरेले उक्त अस्पतालको उद्घाटन गर्दै कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गरे । शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेग्न नसक्ने देखिएपछि पुन : नयाँ अस्पताल निर्माण गरिएको नगर प्रमुख घिमिरेले बताए । तत्काल ४० बेड रहेपनि अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिस्टमबाट बिरामीलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन भट्टराईले जानकारी दिए । उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।

नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्‍न नगरपालिकाले उपलब्ध सबै साधन स्रोतको उच्चतम् प्रयोग गर्ने बताए । अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताए । नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

वुहान सम्झेर रुनेहरूका लागि फर्किएको वसन्त

चीनमा महामारीमा सर्वसाधारणको जीवनलाई महत्त्व नदिने र कामका लागि आलटाल/ ढिलासुस्ती गर्ने उच्च अधिकारीहरू तुरून्त बर्खास्त गरिएका छन् । नेपालमा त्यस्तो कानुन कतिखेर लागू भएको छ?
लक्ष्मी लम्साल

बेइजिङ — ‘कुनै पनि नेताले जनतासमक्ष गरेका वाचाहरू पूरा गरेर देखाउनुपर्छ’ भन्ने चिनियाँ मान्यता छ। यसबारेमा भन्ने हो भने नेपालमा पनि यस्तै मान्यता छ, ‘गरेका वाचा निभाउनुपर्छ।’ सहकर्मी ललितासँग राजनीतिक वाचामा अडिग रहने नेतृत्वको चरित्रका विषयमा एउटा छायांकन चल्दै थियो।

चीनको हुबेई प्रान्तको राजधानी वुहान । तस्बिर : पाइतु

गत अप्रिल २७ मा नेपाललाई स्वास्थ्य सहयोग दिने चिनियाँ वचनको २ हप्तामा अर्थात् मे ११ तारिख चिनियाँ स्वास्थ्य सामग्रीको पहिलो खेप काठमाडौं पुगिसकेको थियो। भिडियो खिच्दाखिच्दै पृष्ठभूमिमा एउटा ठूलो आवाज माइकबाट आएपछि हाम्रो काम अवरूद्ध भयो।

वुहानमा कोरोना महामारी देखिएपछि के कस्तो प्रयासमा नियन्त्रण गरिएको थियो भन्ने विषयको वृत्तचित्र हेर्नका लागि निम्त्याइएका हामी सोही मौकामा सिनेमा हलको बाहिरपट्टि यस्तो खालको भिडियो बनाइरहेका थियौं। काम अधुरै राखेर हामी सो हलभित्र प्रवेश गर्नुपर्ने भयो।

वुहानमा कोरोना देखिँदाको प्रारम्भिक चरण, विचलित मानिसका मनोदशा, देशबाट परिवारसँग बिछोडिएर फ्रन्टलाइनमा खटिन हिँडेका चिकित्सकहरू, अभाव र संकटका बेलामा उत्पन्न जनआक्रोश, जीवन र मरणबीचको कारूणिक द्वन्दहरू कैद गरिएको वृत्तचित्र प्रसारण हुन थालेको पाँच मिनेटमै दर्शकका आँखाहरू सल्बलाउन थालिसकेका थिए। जीजिविषा मानव जातिको प्राकृतिक चाहना हो। यसको नियन्त्रण कुन अदृष्य शक्तिले गरेको हुन्छ भन्ने विषय गौण हो तर मानिसले सक्ने भनेको मृत्युलाई सकेसम्म पर धकेल्ने नै हो। मानवजातिमा देखापरेको एउटा अकल्पनीय विपत्ति चीनले कसरी नियन्त्रणमा लिन सक्यो भन्ने विषय अहिले पनि खुल्ला किताबजस्तै छ। एक वर्षको अवधिमा यस्ता ज्ञानहरू संसारभरि फैलिसकेका छन्, तर बुझ्नु नबुझ्नु वा बुझ्पचाउनु अहंकार र दम्भको एउटा पाटो हुनसक्छ।

चीनको हुबेई प्रान्तको राजधानी वुहान । तस्बिर : पाइतु

वुहानलाई एउटा नेपालको आकृतिका रूपमा परिकल्पना गर्ने हो भने हामीले कसरी कोरोनाबाट मुलुकलाई बचाउन सक्छौं भन्नेतिर घोत्लिन पनि सघाउँछ। कोरोना महामारीविरूद्ध वुहान २ महिना २ हप्ता २ दिन बन्द भएको थियो। त्यो लकडाउन कोरोना भाइरस नफैलियोस् भन्ने ध्येयले थियो। त्यसो भन्ने हो भने नेपाल र भारतको सीमामा अहिलेसम्म पनि लकडाउन गरिरहनुपर्ने हो। अझ त्यो भन्दा पनि कुन शक्ति वा भक्तिका लागि हो, भारतसँगका स्थल वा हवाई नाका निर्बाध खुल्ला छन्। सन् २०२० देखि हालसम्म पनि चीनले नेपालसँगका नाका सजिलै खोलेको छैन, खोले पनि निकै सावधानी अपनाइरहेको छ। यसको अन्तर्य के हो, प्रस्ट छ। नेपाल वा भारतका अधिकारीहरू बसेर सीमा क्षेत्रमा कसरी भाइरसको ‘चेन ब्रेक’को संयन्त्र बनाउन सकिन्छ भनेर छलफल गरेको कहाँ सुनिएको छ?

वृत्तचित्रमा देखिन्छ, महामारी नियन्त्रणका लागि राष्ट्रपति सी चिनफिङको नेतृत्वमा संयन्त्रहरू चलिरहेका छन्। महामारीमा सर्वसाधारणको जीवनलाई महत्त्व नदिने र कामका लागि आलटाल/ ढिलासुस्ती गर्ने उच्च अधिकारीहरू तुरून्त बर्खास्त गरिएका छन्। नेपालमा त्यस्तो कानुन कतिखेर लागू भएको छ?

देशका विभिन्न स्थानबाट स्वास्थ्यकर्मीहरू परिवारबाट छुटेर वुहानतर्फको गाडी, जहाज वा रेलमा चढिरहेका छन्। आफन्तहरू आँसुँ चुहाउँदै बिदा गरिरहेका छन्। हामीले सम्झिरहेको हुनुपर्छ, उतिखेर भाइरसको भेउ पत्ता नलाग्दा मानिस जिउँदो वा मृत के भएर फर्किने भन्ने अन्योल थियो। कैयौँ दिनसम्म काममा गएर, सम्पर्क पनि गर्न नभ्याएको छोरालाई आमाले हकार्छिन्,‘कम्तीमा जवाफ त दिनुपर्छ, कहिले फर्किने त भन्नुपर्छ।’ महामारी नियन्त्रणको काममा जहाँ पल्टियो त्यहीँ निदाउनसक्ने गरी योद्धाहरू कसरी खटिएका थिए भन्ने कुरा जगजाहेर थियो।

एकजना युवतीले आफ्नो कथा सुनाउँछिन्, ‘भर्खरै बिहे गरेको श्रीमानले कि जागिर छोड्, कि मलाई छोड् (ली हुन्) भनेर धम्क्याए।’

समुदायमा मानिसहरू सागसब्जी नपाएर भौंतारिरहेका छन्। त्यहाँका रक्षकलाई भीडले गाली गरिरहेको छ। उसले आश्वासन दिन्छ, ‘धैर्य गर्नुस्, सरकारले हेर्छ।’

सागसब्जी, अन्नपातको चरम संकट परिरहेका बेला राज्यको जिम्मेवार निकायले व्यवस्थापन गर्छ। रातोदिन खटेर भोक, शोक टार्न मरिमेटेको देखर स्वयंसेवकप्रति बूढीआमैले कृतज्ञता प्रकट गर्छिन्। गाली सहेर सेवामा जुटेको युवा स्वयंसेवक धरधरी रुन्छ। उसको मुहारमा कस्ता तरंग/छाल उठ्छन्, त्यो त देखिँदैन। तर उसका रसिला आँखाले बूढीआमाको आशीर्वाद थापेको प्रस्टै देखिन्छ ।

चिकित्साकर्मीको हातेमालो बेजोड छ। सबैभन्दा कुनै पनि चिकित्साकर्मी संक्रमित नहुनका लागि डाक्टरका नेताहरूले सचेत गराइरहेका हुन्छन्। स्वास्थ्यकर्मी छन् भने मात्रै बिरामीको जीवन छ। नेताको आज्ञाबमोजिम चर्को गर्मीदेखि हिमपातको हिउँद ऋतुसम्म पीपीईमा टाँस्सिएका सेता मान्छेहरू सावधानीका साथ दिलोज्यान दिइरहेका छन्। राजनीतिक दलका भ्रातृ संगठनका रूपमा खुलेका चिकित्सा संघ, संगठनका नेतृत्वहरूले आफ्ना सदस्यको हौसलाका लागि, स्वास्थ्य अभावपूर्तिका लागि के कत्तिको दरिलो आवाज उठाएका छन् भन्ने त हाम्रोमा देखिएकै छ। महामारी नियन्त्रणको नेतृत्व राजनीतिले लिन सक्दैन भने स्वास्थ्य संगठनले यथोचित अख्तियारी मागेर आफै डट्नुपर्ने होइन र?

वृत्तचित्रको सार लिने हो भने महामारीका बेला राजनीतिक रामलीला रचेर मनोरञ्जन दिलाउने हाम्रो नेतृत्वप्रतिको वितृष्णा विस्फोट हुन्छ। सामाजिक सञ्‍जालभरि नेटिजनहरू भनिरहेका हुन्छन्, ‘घरि नेताले गरेन, घरि जनताले टेरेन।’

वास्तवमा महामारी नियन्त्रणका लागि नेपालसामु दुइटा किताब प्रकाशित छन्। लोकतन्त्रको नाममा जीवनमाथिको मजाक गर्ने वा मानिसको बाँच्न पाउने अधिकारलाई नै लोकतन्त्र भन्ने। लोकतन्त्रलाई लोकतन्त्र नै रहन दिने कि यसमा कुरूप रंग पोत्ने? कम्तीमा महामारीका बेलामा लोकतन्त्रको परिभाषा केही हदसम्म साँघुरो पार्नैपर्छ। यो मनोमालिन्यले हामीले धेरै आफन्त गुमाउने निश्चित छ।

डेढ घण्टाको वृत्तचित्र सकिएर सन्नाटा छाएको सिनेमा हलभित्र मानिसहरू बाहिरिन हतारिइरहेका थिएनन्। सबैजना स्तब्ध थिए र एक वर्षअघिको त्यो कहालीलाग्दो अवस्थामा फर्किएका थिए सायद। यतिखेर सिनेमा हलमा सामूहिक छिर्ने र प्रवेश गर्नसक्ने वातावरण सामान्य प्रयासले बनेको थिएन। वसन्त ऋतुको आगमन साना मेहनतले भएको थिएन। बाहिरिएपछि थाहा भयो, धेरै मानिसजस्तै आफ्ना सहकर्मीहरूको आँखा र नाकको टुप्पो पनि रातो रातो भएको थियो। मैले जिस्क्याएँ, ‘के बच्चाजस्तो रोएको? यस्तो रून लायकका घटना त जीवनमा कति आउँछन्, कति।’

उनले डस्टबिनतिर आँसु पुछेको टिस्यु पेपर फ्याँक्दै मतिर नहेरिकन भनिन्, ‘आत्म नियन्त्रणको शक्ति गुमाएँछु।’

आँखा यताउता ननचाएर वृत्तचित्र हेरेको भए म पनि सोही हालतमा हुन्थें होला। म रोएर मन कमजोर बनाउने पक्षमा थिइनँ। यतिखेर आफ्नै देशबन्धुहरूको हविगत वुहानको जस्तो भइरहेको छ। तर यस्तो कहालीमा पनि न नेतृत्व छ, न साधनश्रोत छ, न विज्ञहरूको सक्रियता छ जस्तो लाग्छ। सत्तामा रहनेहरूले भनिरहेका छन्, स्थिति सबै नियन्त्रणमा छ। सरकारले यो यो गरेको छ, त्यो त्यो गरेको छ।’

र, अघि स्थगित भएको भिडियो छायांकनको काममा हामी पुनः जुट्न लाग्यौं, ‘वाचाअनुरूप काम फत्ते गर्नु कुनै पनि शासक व्यवस्थापकको दायित्व हो।’

प्रकाशित : जेष्ठ ५, २०७८ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×