रोल्पामा थप १५ दिन निषेधाज्ञा

काशीराम डाँगी

रोल्पा — कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि स्थानीय प्रशासनले जेठ २० गतेसम्म निषेधाज्ञा थपेको छ । 

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बृद्धि हुनेक्रम देखिएकाले नियन्त्रणका लागि सहज हुने निष्कर्षसहित निषधाज्ञा थप्नु परेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लाभर संक्रमण बढेको देखिएकाले नियन्त्रणका लागि पहल थाल्नुका साथै मानिसहरुको आवातजावत रोक्न थप १५ दिनसम्म निषेधाज्ञा थपिएको बताए ।

स्थानीय तहका प्रमुख, सरोकारवालासहितको सुझावपछि सोमबारको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीएमसीसी) को बैठकले निषेधाज्ञा थप्न निर्णय गरेको हो । यसअघि पहिलोपटक गत वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । प्रशासनले निषेधाज्ञा गर्दा पनि संक्रमण रोक्ने उद्देश्यले विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा सिल गरिएको जनाएका छन् ।

२४ घण्टामा १९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा रोल्पामा १९ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबारसम्म संक्रमित हुनेको संख्या ४ सय ५८ छ । हालसम्म ३६ जना निको भएका छन् । निको हुने भन्दा संक्रमित हुनेको संख्या बढी देखिएको छ । उपचाररत संक्रमितको मृत्यु भएपछि झन सबैमा त्रास फैलिएको छ । अहिलेसमम्म रोल्पामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?