सिस्नेमा ३७ प्रतिशतमा संक्रमण

रुकुम पूर्व — सिस्ने गाउँपालिकाले एन्टिजेन किटमार्फत बिरामी भएका गाउँमै पुगेर परीक्षण गर्दा ३७ प्रतिशतमा संक्रमण देखिएको छ । आइतबार सिस्ने–३ को स्वास्थ्यचौकीमा परीक्षण गरिएका ४३ जनामध्ये १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सिस्नेमा ३७ प्रतिशतमा संक्रमण

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले ५ महिला र ११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । संक्रमित सबैमा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र जीउ दुख्ने समस्या देखिएको छ । अहिले सबैलाई घरमै बस्नु भनिएको र समस्या जटिल बन्दै गए जिल्ला अस्पतालमा आउन भनेको संयोजक यादवले बताए ।

सिस्ने–३ का सबैजसो घरमा बिरामी छन् । एक घर एक बिरामीजस्तै अवस्था छ । कुनै घरमा एकभन्दा बढी बिरामी छन् । धेरै बिरामी भएको र लक्षण पनि मिल्दोजुल्दो देखिएपछि गाउँपालिकाले गाउँमै गएर परीक्षण सुरु गरेको हो । ३ सय एन्टिजेन किट ल्याएको गाउँपालिकाले सिस्ने–३ बाट परीक्षण सुरु गरेको छ । १, २ र ४ नम्बर वडामा पनि बिरामी छन् ।

सकेसम्म अरू वडामा पनि पुगेर परीक्षण गर्ने तयारी गाउँपालिकाले थालेको छ । घरघरै लक्षणसहितका बिरामी भएकाले परीक्षणको दायरा बढाउँदा संक्रमित पनि थपिन सक्ने जनता माविका प्रधानाध्यापक कलु खड्काले बताए । ‘गाउँमै पुगेका बेला धेरै मात्रामा परीक्षण गर्दा रोकथाम र नियन्त्रणमा सजिलो हुन्छ,’ उनले भने, ‘सकेसम्म लक्षण देखिएका सबैको परीक्षण गर्नुपर्छ ।’


प्रकाशित : जेष्ठ ४, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?