बाबुआमाको मृत्यु, छोराको बिचल्ली

कमल पन्थी

बर्दिया — करिब दुई महिनाअघि भारतको हरियाणा गुडगाउँस्थित स्टाइल डिजाइनमा काम गर्न गएका गुलरिया–२ का ४३ वर्षीय गोपाल नगरकोटी दम्पतीको मृत्युपछि उनीहरूका दुई छोरा र वृद्ध आमा बिचल्लीमा परेका छन् ।

भारतमा कोरोना संक्रमण भएपछि उनको १० दिनअघि मृत्यु भएको थियो । उनको शव त्यहाँको कम्पनीले यहाँसम्म पुर्‍याइदिएको छ । उनको अन्तिम संस्कार गरेको पाँच दिनपछि श्रीमती लक्ष्मीको पनि ज्यान गयो । श्रीमान्को मृत्युको खबरले उनी बेहोस भइन् । श्रीमान्को मुख हेर्न दाहसंस्कार गरिने भादा घाटमा नपुग्दै बेहोस भएपछि श्रीमान्को अनुहारसमेत हेर्न नपाएको परिवारजनले बताएका छन् ।

गुलरिया–३ मा बसोबास रहेकी ३९ वर्षीया लक्ष्मीलाई उच्च ज्वरोले च्यापिसकेको उनकी भान्जी संगीता महताराले बताइन् । मामाको मृत्यु भएको पाँच दिनपछि माइजूको पनि मृत्यु भएको संगीताले सुनाइन् । उनीहरूका दुई छोरा अमन ११ र राहुल ९ वर्षका छन् । दुवै बालक अहिले ७८ वर्षीया हजुरआमा पद्माको सहारामा छन् । पद्मा पनि कान्छो छोरा र बुहारीको सहारामा थिइन् । छोरा र बुहारीको मृत्युपछि उनी शोकमा छिन् । उनीमाथि दुई नातिको पालनपोषणको जिम्मा आएको छ । उनले आफूभन्दा नातिहरूको पिरलो बढी भएको बताइन् । १० धुर जग्गामा घर भएका नगरकोटी परिवारको आम्दानीको स्रोत केही छैन । नगरकोटी दम्पतीको मृत्युको खबर पाएपछि जिल्ला प्रहरी उपरीक्षक ईश्वर कार्की शनिबार बिहान खाद्यान्न लिएर घर पुगेका थिए । अहिले एक महिनालाई पुग्ने खाद्यान्न दिएका उनले अझै केही सहयोग चाहियो भने दिन तयार रहेको बताए ।

आमाबुबाको मृत्यु भएपछि दुई बालक सहाराविहीन भएको गुलरिया नगर कार्यपालिका सदस्य विष्णुकुमारी शर्माले बताइन् । उनीहरूको संरक्षणका लागि नगरपालिकालगायत विभिन्न संघसंस्थासँग अपिल गरेको उनले जनाइन् । गोपाल केही वर्ष मलेसियामा पनि रोजगारीमा थिए । कोभिड–१९ को महामारीले त्यहाँ रोजगारी गुमेपछि घर फर्केका हुन् । आम्दानीको स्रोत नभएपछि उनी पुनः भारतको हरियाणा पुगेको भान्जी संगीताले बताइन् ।

अमन ४ र राहुल ३ कक्षामा पढ्दै छन् । खान, बस्न र अध्ययनमा समेत समस्या भएका ती बालकका ठूलाबुबा कृष्ण नगरकोटीले बताए । उनी गुलरिया–२ मा अलग भएर बसेको धेरै भयो । उनीहरूको आर्थिक अवस्था पनि कहालीलाग्दो छ । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले दुवै बालकलाई निःशुल्क शिक्षा, पालनपोषणलगायतको व्यवस्था गरिने बताए । चाँडै कार्यपालिकाको बैठकले उक्त निर्णय गर्ने उनले जनाए ।

प्रकाशित : जेष्ठ ३, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?