कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिकिस्त भएपछि अस्पताल

'अस्पताल आउने शतप्रतिशत बिरामी जटिल खालका हुादा मृत्युदर बढ्दो’
अमृता अनमोल

बुटवल — कोरोना संक्रमणलाई मौसी रुघाखोकी लागेको र ज्वरो आएको ठान्दा मृत्यु हुनेको संख्या बढेको छ । कोरोनाका लक्षण देखिँदा पनि परीक्षण र उपचार नगराउँदा संक्रमण घरपरिवार र समुदायमा फैलिएको छ । बुटवल–११ का मोहन शाही त्यसैमध्येका एक हुन् । उपचारमा बेवास्ता गर्दा ३५ वर्षीयले उनले ज्यानै गुमाए । ‘मौसम फेरिने बेला छ । सामान्य होला भनेर घरमै राख्यौं,’ शाहीका आफन्त टेकबहादुरले भने, ‘गलेपछि अस्पताल लैजाँदा बचाउन सकिएन । उपचार नपाएरै ज्यान गुम्यो ।’

सिकिस्त भएपछि अस्पताल

आफन्तहरूका अनुसार शाहीलाई एक सातादेखि ज्वरो आएको थियो । कटकटी शरीर दुख्यो भन्थे । सुक्खा खोकी पनि थियो । तैपनि, सामान्य भाइरल होला भन्दै सिटामोल खाएर घरमै बसे । सोमबार साँझ सास लिनै गाह्रो भएपछि परिवारले लुम्बिनी प्रादेशिक अस्पतालमा लगे । अक्सिजन लेभल घटेर ६०/६५ थियो । फोक्सोमा ठूलै दाग देखियो । जसोतसो आकस्मिक कक्षको भुइँमा ठाउँ पाए । परिवारले हारगुहार गरेर अक्सिजनको जोहो गरे । अन्तिम अवस्थामा अस्पताल गएका शाहीलाई अक्सिजनले मात्रै धानेन । ‘डाक्टरले आईसीयू वा भेन्टिलेटर खोज्न भनेका थिए,’ टेकबहादुरले भने, ‘तर, कतै भेटिएन । मंगलबार साँझ आकस्मिक कक्षको भुइँमै प्राण गयो ।’

घर नजिकै अस्पताल थियो । चिनेका डाक्टर र नर्सहरू थिए । तर पनि बुटवल–४ का सत्य पौडेलले बिरामी पर्दा कसैसित सल्लाह लिएनन् । यही बेवास्ताले ४८ वर्षीय उनको मंगलबार राति मृत्यु भयो । ‘मिल्दोजुल्दो लक्षण भए पनि कोरोना होइन जस्तो लाग्यो । भइहाले पनि घरमै जितिन्छ भन्ने ठानियो,’ छोरी पूर्णिमाले भनिन्, ‘यही बेवास्ताले बुबालाई गुमाउनु परेको छ ।’ अहिले परिवारका सबै सदस्यलार्ई पोजिटिभ देखिएको उनले बताइन् ।

दोस्रो चरणको कोरोनाका लक्षण एकै खाले छैनन् । चिकित्सकहरूका अनुसार ज्वरो आउने, शरीर दुख्ने, पखाला लाग्ने, शरीर गल्ने, वान्ता हुने, आँखा पाक्ने, स्वाद हराउने, रिंगटा लाग्ने, सास लिन समस्या हुने थरीथरीका लक्षण छन् । केहीलाई संक्रमण हुँदाहुँदै गलाउँछ । केहीलाई बिस्तारै समस्या ल्याउँछ । यही कारण केही व्यक्ति लक्षण देखिए पनि परीक्षण र उपचारमा लाग्दैनन् ।

बरु निको भयो भनेर हिंड्ने गर्छन् । यसले घरमै बिरामी शिथिल हुने र जटिल समस्या निम्त्याउने गरेको छ । ढिलो गरी अस्पताल जाँदा मृत्युदर बढेको छ । सामान्य फ्लु हो भनेर बेवास्ता गर्ने र शिथिल बन्दासम्म घरमै बस्ने परिपाटीले यस्तो भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दुप्रसाद पाठकले बताए ।

‘आकस्मिक कक्षमै मृत्यु हुने बिरामी बढेका छन् । धेरै बिरामीको अस्पताल ल्याउँदा ल्याउँदै र परीक्षण गर्दागर्दै मृत्यु हुन्छ,’ उनले भने । चिकित्सकहरूका अनुसार अहिले अस्पताल आउने शतप्रतिशत बिरामी नै सिकिस्त र जटिल खालका छन् । अक्सिजन लेभल ८० भन्दा तल झरेका छन् । निमोनिया देखिएका र फोक्सोमा समस्या भएका छन् । उनीहरूलाई अक्सिजनसहितको आईसीयूमा उपचार गर्नुपर्छ । केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने देखिन्छ ।

तर, अस्पतालको सीमित स्रोत साधनले बिरामीको आवश्यकताअनुसार उपचार गर्न नसकिने भीम अस्पतालकी मेसु डा. शकुन्तला गुप्ताले बताइन् । ‘थेग्नै नसकिने बिरामी छन् । बरन्डा, भुइँ र सिँढीको कुनोसमेत बाँकी छैन,’ उनले भनिन्, ‘सिकिस्त बिरामी हो भन्ने जान्दा जान्दै पनि आईसीयू र एचडीयू बेड उपलब्ध गराउन सकिएको छैन ।’ सामान्य अवस्थामा बिरामीलाई परामर्शले पनि आत्मबल बढाउन सकिने चिकित्सकहरू बताउँछन् । खानपानबाट पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । जटिल अवस्थामा पुगेपछि यी सबै बेकामे हुने कोरोना फोकल पर्सन डा. पाठकले बताए । ‘संक्रमित जहाँ बसे पनि स्वास्थ्यकर्मीको निगरानी र परामर्शमा हुनुपर्छ,’ उनले भने, ‘यसले मात्रै समुदायमा संक्रमण फैलनबाट रोक्न र मृत्युदर घटाउन सकिन्छ ।’

प्रकाशित : जेष्ठ १, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?