पाल्पामा थप ६ जना कोरोना संक्रमितको मृत्यु 

माधव अर्याल

पाल्पा — होम आइसोलेसन र अस्पतालमा गरी बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा चार र दुई जनाको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पूर्वखोला गाउँपालिका–२, जल्पाका ४० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । 

पाल्पामा थप ६ जना कोरोना संक्रमितको मृत्यु 

जल्पाका वडाध्यक्ष निरबहादुर सारुका अनुसार भारतबाट आएर घरमा बसेको र घरमै एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएको थियो । स्वास्थ्यमा धेरै समस्या नआएपनि एक्कासी स्वास्थ्य अवस्था बिग्रेर मृत्यु भएको हो । तानसेनका अस्पतालहरुमा बेड खोजी गर्दा नपाएको र पूवखोलामा कोरोना अस्थायी अस्पतालमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो ।

तानसेन नगरपालिका–४ लहरेपिपलका ४४ वर्षीय पुरुष र गुल्मी छत्रकोट गाउँपालिका–३ का ३५ वर्षीय पुरुषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । माथागढी गाउँपालिका–३ कसेनीकी ५८ वर्षीय महिलाको पनि बिहीबार मृत्यु भएको छ । अस्पतालहरुमा बेड नपाएपछि गाउँपालिकाले बनाएको कोरोना अस्थायी अस्पतालमा लगेको र अक्सिजन लेबल घटेपछि घर ल्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष दीपक थापाले बताए । उनका अनुसार लुम्बिनी मेडिकल कलेजले ३ बजेपछि बेड खाली हुने र लैजाने क्रममा मृत्यु भएको हो ।

माथागढी गाउँपालिका–२ रुप्सेकी ४० वर्षीय कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको छ । होम आइसोलेसनमै बसेकी उनी दमको बिरामी थिइन । उपचारका लागि बुटवल गएको र बेड नपाएपछि घर ल्याएर राखेका थिए । बगनासकाली गाउँपालिका–६ यम्घा लाम्दीका ७५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । मिसन अस्पतालमा उपचार गरेर फर्किएका उनको अचानक समस्या आएपछि मृत्यु भएको हो । वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार मृतक पुरुष दमको बिरामी थिए । बुधबार मात्र अक्सिजन लेवल ठिक भएको भन्दै मिसनले फिर्ता गरेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?