कपिलवस्तु अस्पतालमा अक्सिजन अभाव
कपिलवस्तु — जिल्ला अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि बिरामीका आफन्त छटपटिन थालेका छन् । अब बढीमा २ घण्टासम्मलाई मात्र अक्सिजन पुग्ने अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए ।
त्यसपछि अक्सिजनको आपूर्ति हुन नसके ४५ बिरामीको स्वास्थ्य जोखिममा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
अस्पताललाई नियमित अक्सिजन सप्लाई गर्ने बुटवलस्थित लुम्बिनी अक्सिजन प्रालिमा ७० वटा खाली सिलिन्डर बुधबार पठाइएको थियो । ‘अझ भर्ने पालो आएको छैन्,’ डा. किशोर बन्जाडेले भने, ‘यहाँ भर्खर चाहिएको छ । त्यसपछि सांसद बृजेशकुमार गुप्ता र प्रजिअ चक्रपाणी पाण्डेलाई गुहार्यौं । उहाँहरुको पहलमा भैरहवामा रहेको शंकर अक्सिजन प्रालिबाट बिहीबार बिहानै १५ सिलिन्डर अक्सिजन आयो । अहिले त्यही चलिरहेको छ ।’
बुधबार आउनु पर्ने अक्सिजन नआउँदा समस्या भएको हो । ‘अब यहाँ डेढ दुई घण्टा चल्ने अवस्था छ । उता लुम्बिनी अक्सिजन प्रालिमा ३० वटा अक्सिजन भरिएको सिलिन्डर ल्याउने भनेर गाडी कुरिरहेको छ । अझै पाइएको छैन । सञ्चालकले दुई ढाई बजेसम्म दिन्छु भनेका छन् उनले भने । कतिखेर आउँछ ठेगान छैन,’ उनले भने । दाङ र भरतपुर तर पहल गर्दा सिलिन्डर भर्न ३ दिन पालो कुर्नु पर्छ भन्ने खबर पाएको उनले बताए । सबै मिलेर बिरामीको जीवनरक्षा गर्न वैकल्पिक व्यवस्था तत्काल गर्नुपर्ने पनि उनले बताए ।
प्रजिअ पाण्डेले बिरामीलाई समस्या पर्न नदिने गरी अक्सिजनका लागि पहल गरिरहेको दाबी गरे । अहिले अस्पतालमा सिलिन्डरको पनि अभाव छ । अस्पतालसँग ७० वटा रहेकोमा अहिले थपथाप गरेर ११० पुर्याइएको छ ।
अहिले जिल्ला अस्पतालको इमर्जेन्सी र बरन्डामा २१, आईसीयूमा ६ र अस्थायी कोभिड अस्पतालमा १८ जना बिरामी उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मंगलबार १२ जना, बुधबार १० र बिहीबार मध्यान्नसम्म ३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले बताए ।
प्रकाशित : वैशाख ३०, २०७८ १२:२७