२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पहाडी जिल्ला जोड्ने लोकमार्ग धमाधम

पाल्पादेखि रूकुम जोड्ने २ सय ९० किलोमिटर लम्बाइको सडकको ट्य्राक खुल्यो
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका पहाडी जिल्ला जोड्न प्रदेश लोकमार्ग निर्माण सुरु भएको छ । पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम जोड्ने गरी रामपुर–कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुक लोकमार्ग निर्माण थालिएको हो ।

पहाडी जिल्ला जोड्ने लोकमार्ग धमाधम

लुम्बिनी प्रदेशको सिमाना पाल्पाको रामपुरदेखि सुरु भएको यो मार्गको लम्बाइ २ सय ९० किलोमिटर रहेको छ । जुन पूर्वी पाल्पाको रामपुरबाट सुरु भएर रोल्पाको दहवनदेखि लिगलपाली हुँदै लुम्बिनी प्रदेशको पहाडी क्षेत्रको पश्चिम सिमानासम्म जोडिएको छ ।

चुरे क्षेत्र भएर सञ्चालन हुने यस लोकमार्ग डाँडैडाँडा भएर निर्माण भएको छ । जसले धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रलाई जोडेको प्रदेश योजना आयोगका उपाध्यक्ष ईश्वर गौतमले बताए । ‘पहाडबाट तराईमा बढ्दो बसाइँसराइलाई रोक्ने, उत्पादनमा वृद्धि गर्ने र तिनको बजारीकरण गर्ने एवं नयाँ धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले लोकमार्ग निर्माण थालिएको हो,’ उनले भने । जुन लोकमार्गलाई प्रदेशको एकमात्र गौरवको सडक आयोजनाअन्तर्गत राखिएको छ ।

लोकमार्ग निर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयले लिएको छ । जसअन्तर्गत पाल्पा, प्यूठान र अर्घाखाँचीमा कार्यालय स्थापना गरेर काम गरिएको छ । ठेकेदार कम्पनीले विवाद झिकेर अदालत गएपछि रोल्पा क्षेत्रको काम भने भएको छैन । पहाडको मेरुदण्डका रूपमा रहेको यस सडकले पहाडी बस्ती गुल्जार हुने अपेक्षा गरिएको छ । हाल पाल्पा, प्यूठान, अर्घाखाँची र रोल्पाका विभिन्न खण्डमा सडक निर्माणको काम भइरहेको छ । रामपुर–कपुरकोट सडकको ट्र्याक सञ्चालनमा आइसकेको छ । ट्र्याक खुलेकाले अब यस सडकमा सवारीसाधनबाट ओहोरदोहोर गर्न सकिने मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा सडक निर्माण सुरु भएको हो । यो सडकको चौडाइ ३० मिटर अर्थात् बीचभागबाट दायाँबायाँ १५/१५ मिटर कायम गरिएको छ । सडकमा अब दुई चरणमा काम हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले पहिलो चरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म सडक पक्की गरिसक्ने बताए । जसमा ३ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । सडकले बीचबीचमा अधिकांश उत्तर दक्षिण जोड्ने सिद्धार्थ राजमार्गसँग जोडिनेछ । गाउँको पहुँच सहरसम्म पुर्‍याउन यसो गरिएको उनले बताए ।

दोस्रो चरणमा रामपुर–कपुरकोट सडकको २ सय ९० किलोमिटर क्षेत्रमा रहेका घर बस्तीलाई उचित मुआब्जासहित हटाइनेछ । ओटासिल पिचको आयु सकिएका स्थानमा बाटो फराकिलो बनाउने काम गरिनेछ । दोस्रो चरणका लागि १५ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान प्रदेश सरकारले गरेको मन्त्रालयका सडक इन्जिनियर हितेन्द्रसिंह रायमाझीले बताए । ‘सडकको बीचबीचमा केन्द्रीय सडक आयोजनाले पनि छोएको छ । त्यस क्षेत्रमा केन्द्रीय बजेटले नै काम हुनेछ,’ उनले भने, ‘यसले पूर्व अनुमान गरेको रकममा थपघट हुन सक्छ ।’

सडकले पाल्पा जिल्लाको सदरमुकाम तानसेन, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र प्यूठानको सदरमुकाम प्यूठान भएर पहाडी बस्ती जोडेको छ । यतिधेरै क्षेत्रमा एउटा पनि पुल बनाउनुपर्ने छैन । अर्घाखाँचीमा पाणिनि गाउँपालिका हुँदै सन्धिखर्क र भूमिकास्थान नगरपालिका भएर लोकमार्ग सञ्चालनमा भएको छ । ‘यो मार्गले पहाडी जिल्लाको मुहार बदल्नेछ,’ सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, ‘गाउँसँग सहर र पहाडसँग पहाड जोड्न र समृद्धि ल्याउन ढोका खोल्नेछ ।’

प्रकाशित : वैशाख २८, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?