अस्पताल चहार्दाचहार्दै जान्छ ज्यान

अक्सिजन अभावमा मृत्यु हुनेको संख्या बढ्दो
संक्रमण नियन्त्रणमा सुस्त प्रशासन
अमृता अनमोल, मधु शाही

बुटवल/बाँके — हनहनी ज्वरो आयो र शरीर काप्न थाल्यो । लगातार खोकी लाग्यो । श्वास फेर्नै गाह्रो मान्न थाले । बुटवल–११ का श्रीभद्र गौतम शुक्रबार यस्तै बेचैन थिए । होम आइसोलेसनमा बसेका ५२ वर्षीय उनी आत्तिएपछि आफन्त जुटे ।

अस्पताल चहार्दाचहार्दै जान्छ ज्यान

अस्पताल लैजान रूपन्देहीका सबै अस्पताल चहारे । पोखरादेखि काठमाडौंसम्मका अस्पतालमा सम्पर्क गरे । कतै आईसीयू र अक्सिजन बेड पाएनन् । अन्तिममा शुक्रबार दिउँसो लुम्बिनी प्रादेशिक अस्पतालमा लगे । तर, आकस्मिक कक्षमा राख्ने भुइँ पनि पाएनन् ।

करिब तीन घण्टा एम्बुलेन्समै राखेर सिकिस्तलाई साँझ घर फर्काए । उपचारको आसमा बेलाबेलामा आँखा खोल्ने श्रीभद्रका वरपर आफन्त रुनेबाहेक अरू गर्न सकेनन् । जसोतसो, साँझ बुटवल उपमहानगरपालिकाले अक्सिजनको जोहो गर्‍यो । स्वास्थ्यकर्मीले घरमै अक्सिजन लगाएर केही कम गर्न प्रयास गरे । तर, अक्सिजनले मात्रै काम गरेन । शनिबार बिहान करिब साढे ३ बजे छटपटिँदा छटपटिँदै उनको मृत्यु भयो । ‘धनसम्पत्ति, प्रतिष्ठा, पहुँच जे भए पनि कोरोनाको उपचारमा काम लागेन,’ मृतकका भान्जा लक्ष्मण पौडेलले भने, ‘उपचार अभावमा छटपटिएरै मामाको ज्यान गयो । हामी रमिते मात्रै भयौं ।’

अस्पताल कोरोना संक्रमितले भरिँदा रूपन्देहीमा अक्सिजन अभावमा अस्पताल चहार्दाचहार्दै ज्यान गुमाउनेको संख्या पनि बढेको छ । त्यसमध्येका हुन्, बुटवल–११ देवीनगरका सुन्दर सुनार । ३७ वर्षीय उनी सात दिनदेखि बिरामी थिए । शुक्रबार एक्कासि ज्वरो बढ्यो । शरीर कटकटी खायो । श्वास फेर्न अप्ठ्यारो भयो । आफन्तले अटोरिक्साको जोहो गरे । शुक्रबार साँझ त्यसमै राखेर लुम्बिनी प्रादेशिक अस्पताल लगे । अस्पतालले ठाउँ नभएको भन्दै ढोकाबाटै फर्काइदियो । भैरहवाको भीम वा मेडिकल कलेजमा लैजान सुझाव दियो ।

आफन्तले अटोरिक्सा घिसार्दै राति ती दुवै अस्पताल पुर्‍याए । तर, बिरामीले भर्ना पाएनन् । फर्काएर पुनः लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याए । अस्पतालका चिकित्सकले अक्सिजन खोजेर ल्याए आँगनमै भए पनि उपचार गर्ने बताए । रातभरि अक्सिजनको खोजीमा लागे । तर, कतै पाएनन् । अस्पतालको बाहिरी गेटमा छटपटिएर बिहान उनको मृत्यु भयो । आफन्त शव बोकेर घरतिर लागे । ‘जिउँदो छँदासम्म उपचार पाएनौं । मरेपछि लास किन अस्पताललाई बुझाउने भनेर घरै लग्यौं,’ मृतकका आफन्त रेशमले भने, ‘जति हारगुहार गरे पनि कसैले सहयोग गरेनन् । रोग लागेपछि उपचार होला र बाँचिएला भन्ने आस अब रहेन ।’

अस्पतालमा पुगेर पनि उपचार नपाउँदा एम्बुलेन्समा छटपटिएरै बुटवलमा एक जनप्रतिनिधिले समेत ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका–७ का वडा सदस्य नवीन थापा मगरको शुक्रबार भैरहवाको युनिभर्सल मेडिकल कलेजको प्रांगणमा मृत्यु भएको हो । ‘मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन र आईसीयू नहुँदा एम्बुलेन्सको अक्सिजनकै सहारामा बाहिर चौरमा राखिएको थियो । रातभरि त्यहीं छटपटिएर बिहान मृत्यु भयो,’ उपमहानगरका नगर प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले भने ।

बाँकेको कोहलपुर नगरपालिकामा शुक्रबार दुई जना कोरोना लक्षण देखिएका व्यक्तिले अस्पताल परिसरमै ज्यान गुमाए । उनीहरूको पीसीआर रिपोर्ट आएको थिएन । शव व्यवस्थापन नभएपछि परिवारले घरै लगे । बाँकेमा एकातिर महामारी तीव्र गतिले बढिरहेको छ । यसको व्यवस्थापन कछुवा गतिमा छ । बुधबार नेपालगन्ज मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी भर्ना नहुने विज्ञप्ति जारी गरेपछि समस्या चर्किएको हो ।

शनिबार प्रदेशसभा सदस्य आरती पौडेल, कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावल, उपप्रमुख सन्जुकुमारी चौधरी, नेता सर्य ढकाल, नरेन्द्र न्यौपानेलगायतले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा जतिसक्दो छिटो बिरामी भर्ना गर्न अस्पताल व्यवस्थापनसमक्ष अनुरोध गरेका छन् । अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार जनप्रतिनिधि र नेताहरूले अक्सिजन उपलब्ध गराइदिए उपचार गर्न समस्या छैन । उनका अनुसार आइतबारदेखि बिरामी भर्ना लिने, अक्सिजन अभाव भइहाल्यो भने जनप्रतिनिधिले जिम्मा लिने मौखिक सम्झौता भएको उनले बताए । ‘बिरामी भर्ना गराउनु भन्दै अस्पताल धाउनुभन्दा पनि अक्सिजन अस्पतालमा कसरी ल्याउन सकिन्छ भन्नेबारे जनप्रतिनिधि र नेताले दौडधुप गर्नुपर्छ,’ डा. श्रेष्ठले भने, ‘उपचार नपाई अस्पतालमा बिरामीको मृत्यु भयो भने कसले जिम्मा लिने ?’

राज्य नै जनताको स्वास्थ्यप्रति संवेदनशील नदेखिएको मानवअधिकारकर्मी वसन्त गौतमले बताए । उनका अनुसार यहाँका मानवअधिकारकर्मीले छिटोभन्दा छिटो नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न, पीसीआर जाँचको दायरा बढाउन, बिरामीको उपचारका लागि अस्पतालमा स्रोत जुटाउनेलगायत जिम्मेवारी पूरा गर्न माग गर्दै जिल्ला प्रशासन, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रविरुद्ध अदालतमा रिट हालेका थिए । अदालतले आदेशसमेत दिएको थियो । तर, प्रशासनको काम सुस्त गतिमा भएको उनले बताए ।

जिल्लामा दैनिक ५ सयको हाराहारीमा संक्रमित संख्या बढेको छ । त्यस्तै, हरेक दिन कम्तीमा चार जना संक्रमितको मृत्यु भइरहेको छ । स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले महामारीप्रति पूर्वतयारी गर्न नसक्दा स्थिति भयावह भएको मानवअधिकार आयोग बाँकेका प्रमुख शंकरबहादुर रावलले बताए । ‘मुख्य कुरा सरकारको पूर्वतयारी भएन,’ उनले भने, ‘जतिबेला समस्या भयो, उतिबेला खोजीनिती गर्दासम्म महामारी नियन्त्रणभन्दा बाहिर गएको हो ।’

प्रकाशित : वैशाख २६, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?