लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन सकियो

सिकिस्त बिरामीलाई समस्या, दिउँसोसम्म २८० सिलिन्डर आइपुग्ने अस्पतालको भनाइ
अमृता अनमोल

बुटवल — बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन सकिएको छ । अक्सिजन सकिएपछि आकस्मिक कक्षका अधिकांश बिरामीलाई लगाइएको अक्सिजन निकालिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन सकियो

सिकिस्त बिरामीलाई पनि अक्सिजन दिन नसकेपछि आफन्त आक्रोशित बनेकाले वातावरण अशान्त बन्दै गएको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । अस्पतालको आकस्मिक कक्ष र कोरोना अस्पतालमा गरी आज १ सय २५ विरामी रहेका छन् ।

कोरोना फोकल पर्सन डा. नन्दु पाठकका अनुसार जिल्ला प्रशाशन कार्यालयले शुक्रबार ३ सय ३० वटा खाली अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो । त्यसमध्ये भरिएको अवस्थामा अहिलेसम्म १ सय ५० सिलिन्डर मात्र उपलब्ध भएका छन् । जबकि अस्पतालमा दैनिक ४ सय ५० देखि ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ ।

अक्सिजन सप्लाइमा सम्झौता गरेको बाँकेको एचओ सप्लायर्सले आपूर्ति रोकेपछि ५ दिन रुपन्देहीका उद्योग एवं सप्लायर्सबाट अक्सिजन ल्याएर काम चलाइएको अस्पतालका मेसु राजेन्द्र खनालले बताए ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अक्सिजन सकिएपछि हारगुहार गर्दा शंकर सप्लायर्स बुटवलले २ सय ३० र लुम्बिनी अक्सिजन ग्यास प्रालिले दिउँसोसम्म भरिएका ५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने बताएका छन् । त्यसबेलासम्म पनि थेग्न सक्ने अवस्था नहुँदा अस्पताललाई समस्या भएको उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?