२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

प्रसूति सेवा लिनेको भीड

कमल पन्थी

बर्दिया — बाँकेको खजुरा नगरपालिका–६ की २७ वर्षीया महिला सुत्केरी व्यथाले च्यापेपछि आइतबार बर्दियास्थित जिल्ला अस्पताल गुलरियामा आइन् । नेपालगन्जस्थित भेरी अस्पताल कोरोना संक्रमणका बिरामीले भरिएपछि त्यहाँ प्रसूति सेवा प्रभावित छ । त्यसैले उनी यहाँको अस्पताल आएकी हुन् । उनले आइतबार नै शल्यक्रियामार्फत छोरा जन्माएकी छन् । 

प्रसूति सेवा लिनेको भीड

राजापुर नगरपालिका–५ की २५ वर्षीया गर्भवतीको बच्चा उल्टो परेपछि गुलरियाको अस्पतालमा आइन् । उनको सफल शल्यक्रिया गरी बच्चा जन्माइयो । उनीहरूजस्तै दिनहुँ छ/सात जना जटिल खालका गर्भवती शल्यक्रियाका लागि यहाँ आउने गरेका छन् । जिल्ला अस्पताल कोभिड अस्पताल नभएका कारण बर्दियालगायत बाँके, कैलालीबाट पनि सुत्केरी हुन गुलरियाको जिल्ला अस्पताल आउने गर्भवतीको संख्या बढ्दै गएको छ । यहाँ सुत्केरी हुन आउनेको एन्टिजेन वा पीसीआर परीक्षण भने गरिंदैन ।

परीक्षण गर्न लाग्दा समय लाग्ने भएकाले पहिलो प्राथमिकता आमा र बच्चाको ज्यान बचाउनु भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभास पाण्डेयले बताए । ‘जोखिम मोलेर हामी शल्यक्रिया गर्छौं । लक्षण देखिए सुरक्षित रूपमा थप उपचार हुन्छ,’ उनले भने, ‘कोरोना संक्रमणको जोखिम मोल्दै शल्यक्रिया गराउँदा यहाँका धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।’

अस्पतालका दुई डाक्टर, एक स्टाफ नर्सका साथै रेडियोग्राफर, प्रशासन कार्यालयका लेखा सहयोगी, एआरटी स्टाफ, फार्मेसीका एक कर्मचारी पनि संक्रमित भएको मेसु पाण्डेयले बताए । जनशक्ति अभावमा अहिले दैनिक एक सय बिरामीको स्वास्थ्य परीक्षण गरिंदै आएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ केशर चौधरीले बताए । उनी स्वयं पनि संक्रमित भएका छन् । निषेधाज्ञा जारी भए पनि सुत्केरी हुन यहाँ आउनेको संख्यामा कमी नआएको डा. विजय उपाध्यायले बताए । वैशाख १ गतेदेखि मंगलबारसम्म बर्दिया अस्पतालमा १ सय ५ जना सुत्केरी भएका छन् ।

प्रकाशित : वैशाख २४, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?