२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

संक्रमित बोक्न मान्दैनन् एम्बुलेन्स

नवीन पौडेल

परासी — बर्दघाट नगरपालिका–११ का आत्मराम चौधरीले आइतबार बिहान जिल्लाका तीनवटा एम्बुलेन्स चालकलाई फोन गरे । वृद्ध आमालाई एक्कासि ज्वरो आएपछि अस्पताल लैजान उनले फोन गरेका हुन् ।

संक्रमित बोक्न मान्दैनन् एम्बुलेन्स

दुई चालकले चार–पाँचपटक लगातार फोन गरेपछि फोन त उठाए तर एक जनाले आफू बुटवल भएको बताए भने अर्काले आफ्नो एम्बुलेन्स पाटेसन नगरिएकाले कोरोना संक्रमणको लक्षण भएका बिरामी नबोक्ने बताए ।

सहजै एम्बुलेन्स पाउने छाँट नदेखेपछि अन्तिममा उनले गाउँकै निजी सवारी साधन खोजेर आमालाई बुटवल लिएर जानुपर्‍यो । ‘संक्रमण फैलन लागेको एक वर्षभन्दा बढी भयो । अहिलेसम्म सुरक्षाका मापदण्ड छैनन् भनेर बिरामी नबोक्ने यो कस्तो परिपाटी हो ?,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा एम्बुलेन्स चालकले बिरामी बोक्दिनँ भन्नु गैरजिम्मेवारी हो । एम्बुलेन्स सहज अवस्थामा मात्र पैसा कमाउने माध्यम नबनोस् ।’

यो त प्रतिनिधि घटनामात्र हो । जिल्लाका सबैजसो एम्बुलेन्स चालकलाई फोन गर्दा पहिला के भएको बिरामी हो भनेर सोध्ने र ज्वरो, खोकी छ भनेपछि व्यस्त छौं भनेर टार्ने गरेको स्थानीयको गुनासो छ । लक्षण देखिएका बिरामी अस्पताल जानुपर्‍यो भने एम्बुलेन्स नपाइने रामग्राम नगरपालिका–९ का वसन्त गाहाले बताए । यसले गर्दा बिरामीले समयमा उपचार नपाउने समस्या छ ।

केही दिन अगाडि मात्रै बर्दघाटका एम्बुलेन्स चालक मानबहादुर रानाले स्वास्थ्य मापदण्ड पूरा नभएको साधनमा बिरामी बोक्नुपरेको भन्दै एम्बुलेन्सको साँचो नगरपालिकालाई बुझाएका थिए । पीसीआर परीक्षणका लागि अस्पताल जान पटक–पटक फोन आएको तर आफूले चलाइरहेको एम्बुलेन्समा पाटेसन नभएको हुँदा सेवा दिन नसक्ने जानकारी गराएको चालक गाहाले बताए । ‘एम्बुलेन्स चालकको सुरक्षा र प्रोत्साहन भत्ताका लागि कसैले पनि चासो नदिने अनि जबर्जस्ती स्वास्थ्य मापदण्ड पूरा नभएको सवारीसाधनमा बिरामी बोक्न भन्ने ?,’ उनले भने, ‘हाम्रो पनि स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्‍यो । स्वास्थ्य सुरक्षा र प्रोत्साहन भत्ता नपाएकाले साँचो बुझाएको हुँ ।’

जिल्लामा अहिले २३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये बर्दघाट क्षेत्रमा सञ्चालित दुईवटा एम्बुलेन्स बिग्रिएर थन्किएका छन् । संक्रमित बोक्ने एम्बुलेन्सलाई चालक बस्ने र बिरामी राख्ने स्थानको बीचमा पाटेसन गरेर सुरक्षित पार्ने काम गरिएको संयुक्त एम्बुलेन्स चालक संघ परासीका अध्यक्ष कृष्ण साहनीले बताए । ‘हामीले धमाधम सबैखाले बिरामी बोकिरहेका छौं । जिल्लामा शव वाहन नहुँदा हामीले शव पनि बोक्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यो बेला ज्वरो तथा संक्रमणको लक्षण भएका बिरामी बढेको र एम्बुलेन्स पनि व्यस्त भएकाले चाहिएको समयमा उपलब्ध हुन नसकेको हो ।’

प्रकाशित : वैशाख २३, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?