लुम्बिनी प्रदेश सरकार : निरन्तर दल बदल र राजीनामा

आठ प्रदेशसभा सदस्य पदमुक्त
चार दिनमा तीनपटक मन्त्रिमण्डल विस्तार
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गत आइतबार राजीनामा दिएर पुनः नियुक्ति लिएपछि तरंगित लुम्बिनी प्रदेशको राजनीतिमा सांसदले दल बदल्न र राजीनामा गर्न थालेका छन् । यसले एमालेभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । ‘अल्पमत’ मा रहेका बेला संसद् छलेर पुनः नियुक्ति गराएको भन्दै आलोचित मुख्यमन्त्री पोखरेलको संकट अझै नटरेको यसले देखाउँछ ।

लुम्बिनी प्रदेश सरकार : निरन्तर दल बदल र राजीनामा

मुख्यमन्त्री नियुक्त भएसँगै जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाएपछि पोखरेलको आफ्नै दलभित्र भाँडभैलो सुरु भएको हो । जसपाले मन्त्री बनेका चार सांसदलाई निष्कासित गरिसकेको छ । पार्टीभित्र सन्तुलन मिलाउन भन्दै पोखरेलले मंगलबार एमालेका दुई र स्वतन्त्र एक जनालाई मन्त्री बनाएका छन् ।

यसैबीच, एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनी दाङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । राजीनामा दिएका डाँगीलाई माओवादी केन्द्रमा स्वागत गरिने उक्त पार्टीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । यसअघि दाङबाट निर्वाचित प्रदेश सांसद विमलाकुमारी खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् । आफ्नै जिल्लाका नेता मुख्यमन्त्री भए पनि कहिल्यै सोधीखोजी नगरेकाले दल त्याग गरेको उनले बताइन् । ‘उताबाट वास्ता भएन,’ खत्रीले कान्तिपुरसँग भनिन्, ‘सुखदुःखमा माओवादीको साथ पाएँ ।’ यससँगै ८७ सदस्यीय प्रदेशसभा अब खुम्चिएर ७९ सदस्यीय बनेको छ । जसपाका चार, माओवादीबाट एमाले प्रवेश गरेका दुई र प्रदेशसभाबाट राजीनामा दिएका दुई गरी आठ प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध गत वैशाख ६ गते माओवादी केन्द्र, कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सँगै प्रदेश प्रमुखसमक्ष प्रदेशसभा बैठक डाक्न समावेदन गरेका थिए । उनीहरूको मागअनुसार गत आइतबार मध्याह्न प्रदेशसभा बैठक आह्वान गरिएको थियो । आइतबार अविश्वासको प्रस्तावमाथि छलफल तय गरिएको थियो । सोमबार अविश्वासको प्रस्तावमाथि मत विभाजनको कार्यक्रम थियो । तर, पोखरेलले आइतबार बिहान पदबाट राजीनामा दिए र लगत्तै कामचलाउ हैसियतमै प्रदेशसभाको बैठक स्थगन गर्न सिफारिस गरे । दिउँसो एकल बहुमत दाबी गर्दै मुख्यमन्त्रीमा पुनः नियुक्त भए ।

त्यसको विरोधमा ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष बहुमत दाबी गरेको विपक्षी गठबन्धनको माग सुनुवाइ भएन । मुख्यमन्त्रीको नियुक्ति बदर र शपथ रोक्न माग गर्दै विपक्षी गठबन्धनका सांसद अपराह्नदेखि प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नामा बसेका थिए । साँझ ८ बजे धर्नामा बसेका सांसदमाथि बल प्रयोग गरेर प्रदेश प्रमुखले मुख्यमन्त्रीको कार्यालयमा पुगेर पोखरेललाई शपथ गराए । त्यसपछि विपक्षी मोर्चाले पोखरेललाई बहिष्कार गर्ने निर्णय गरेको छ । उनको आफ्नै दल एमालेभित्र पनि असन्तुष्टि व्यापक बनेको छ ।

पोखरेलले असन्तुष्ट मिलाउन चार दिनमा तीनपटक मन्त्रिमण्डल विस्तार गरिसकेका छन् । एकपटक पुनर्गठन र कार्यविभाजनसहित चारपटक शपथ ग्रहण समारोह भइसक्यो । पोखरेलले मंगलबार साँझ मन्त्रिमण्डल विस्तार गरेर १० सदस्यीय बनाएका छन् । एमालेमा अझै मन्त्री चाहना राख्नेको सूची लामै छ । पोखरेलले माधव नेपाल पक्षका विष्णु पन्थीलाई मन्त्री र रमा घर्तीलाई राज्यमन्त्रीको अफर गरेका थिए । यस्तो अफरबारे कुनै प्रतिक्रिया नदिने पन्थीले बताए । नेपाल समूहबाट ओलीलाई साथ दिएका गुल्मीका कमल श्रेष्ठसहित प्रमुख सचेतक भूमिश्वर ढकाल, बर्दियाका कुलप्रसाद पोखरेल पनि मन्त्रीका आकांक्षी मानिएका छन् । एमाले स्रोतका अनुसार महिलातर्फ जाल्पा भुसाललाई राज्यमन्त्रीमा भए पनि समेट्नुपर्ने दबाब छ । एमाले सचेतक ढकालले भने मुख्यमन्त्रीलाई सहज हुने गरी मन्त्रिमण्डल विस्तार गर्न अधिकार दिएको बताए । ‘संसदीय दलले उहाँलाई अधिकार दिएको छ,’ उनले भने, ‘संख्या बढाउनै परे पार्टी केन्द्रको सल्लाह पनि लिइनेछ ।’

प्रकाशित : वैशाख २३, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?