कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु 

माधव अर्याल

पाल्पा — कोरोना संक्रमणबाट पाल्पामा थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।  तानसेन नगरपालिका–३, भगवतीटोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।

वैशाख २० गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तानसेन–३, का वडाध्यक्ष महेशमान शाक्यका अनुसार नेपाली सेनाको सहयोगमा घरपरिवारले राम्दीघाटमा लगेर दाहसंस्कार गरेका छन् ।

माथागढी गाउँपालिका–३, कसेनीकी २५ वर्षीया महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताए । उनका अनुसार केही दिनअघि बिरामी भएर उपचारका लागि लुम्बिनी मेडिकल कलेज आएको र कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार बिहान ४ बजेतिर अस्पताल ल्याउने क्रममा मृत्यु भएको उनले बताए । शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख जीसीले बताए ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । यसैबीच, पाल्पामा कोरोनाको संक्रिय संक्रमित ६ सय ३३ पुगेको छ । बुधबार एकैदिन दोस्रो लहर सुरु भएपछि सबैभन्दा धेरै १ सय ४८ जनामा संक्रमण पुष्टि भएको थियो । १ सय ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षणमा तानसेन, रैनादेवी छहरा र बगनासकालीमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको हो ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?