२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रुपन्देहीको निषेधाज्ञालाई थप कडा बनाइँदै

सन्जु पौडेल

तिलोत्तमा — जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित थपिने दर वृद्धि हुंदै गएकाले निषेधाज्ञालाई कडा गर्ने तयारी भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

रुपन्देहीको निषेधाज्ञालाई थप कडा बनाइँदै

‘निषेधाज्ञा लागू भएको १० दिनपछि त्यसको प्रभाव देखिने हो,’ उनले भने, ‘अहिले साता दिनमा बढिरहेको संख्याको समस्क्षा गर्दै सर्वपक्षीय छलफलपछि कडाइका साथ लाग्ने हाम्रो तयारी हो ।’ अहिलेसम्मको संख्या हेर्दा थप कडाइ गरेर नजाने हो भने अवस्था भयावह बन्ने देखिएको उनको भनाइ छ ।

विशेष गरी सहरी क्षेत्रका बैंक तथा वित्तीय संस्था, अस्पताल तथा फार्मेसीमा आवश्यकभन्दा बढी भीडभाड हुनु, भित्री गल्लीमा पसल पूरै खुला राख्नु, मानिसको हिँडडुल नरोकिनुले समस्या बढाइरहेकाले जनशक्ति बढाएर थप निगरानी र नियमनलाई कडाइ गरिने तामाङले बताए । रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञापछिको अवस्था र आवश्यक कदमका बारेमा छलफल गर्न कोभिड–१९ नियन्त्रण केन्द्रको केहीबेरमा बैठक बस्ने भएको छ ।

बैठकपछि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन तथा बजार, पसल सञ्चालन भएमा कडा कारबाही गर्नेगरी तयारी थालिएको उनको भनाइ छ । मंगलबार सम्मको तथ्यांकअनुसार रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ । जसमध्ये ९ हजार ८ सय ७० संक्रमित निको भएका छन् भने संक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ रहेको छ । मृत्यु हुनेको कुल संख्या २ सय २० पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार मंगलबार २४ घण्टाको अवधिमा मात्रै ७ सय ९७ जना संक्रमित थपिएका हुन् । जसमध्ये बुटवल उपमहानगरपालिकामा ३ सय ३२, तिलोत्तमामा १ सय ५८, सिद्धार्थनगर नगरपालिकामा १ सय ८ संक्रमित थपिएका छन् । अन्य पालिकामा संक्रमित संख्या केही कम रहेको भन्दै तामाङले सिद्धार्थनगरको तुलनामा बुटवल र तिलोत्तमामा समेत मानिसको हिँडडुल, वित्तीय संस्था पूर्ण रुपमा खुल्नु र पसलमा समेत भीडभाड भइरहँदा संक्रमण बढेको जनाए ।

तामाङले आजको बैठकबाट वित्तीय संस्था पूर्ण रुपमा बन्द गर्ने, सडक किनारका तरकारी पसल, आधा सटर खोलिएका किराना पसललाई बन्द गरी अस्पताल नजिकका फार्मेसीलाई आवश्यकभन्दा बढी खुल्न नदिने नियम बनाई अघि बढ्ने बताए । आम नागरिकका लागि प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीले खेलिरहेको भूमिकालाई नजरअन्दाज गर्दा संक्रमण समुदायमै विस्तार भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख २२, २०७८ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?