उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

होम आइसोलेसनमा बसेकालाई गम्भीर अवस्था भएपछि मात्र अस्पताल
ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–२ का ६९ वर्षीय पुरुषको स्वास्थ्यमा सोमबार साँझ समस्या देखियो । श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा ल्याउँदै गर्दा सोही राति बाटोमै उनको मृत्यु भयो ।

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

लक्षण देखिएपछि गत वैशाख १९ गते परीक्षण गर्दा कोरोना संक्रमण पत्ता लागेपछि होम आइसोलेसनमा बसेका थिए । नजिकै रहेको भेरी अस्पताल नेपालगन्ज र नेपाल शिक्षण अस्पताल संक्रमितले भरिभराउ छन् । त्यसैले गर्दा उनी घरमै बस्न बाध्य थिए ।

खजुरा गाउँपालिकाको आइसोलेसन सेन्टरमा रहेका वडा नम्बर ३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको गत शनिबार मृत्यु भयो । उनको उपचार नपाएर ज्यान गएको परिवारजनको आरोप छ । सामान्य लक्षण देखिएपछि सुरुमा उनी परीक्षण नै नगराई होम आइसोलेसनमा बसेका थिए । वैशाख १६ गते परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो । वैशाख १७ गते आइसोलेसन सेन्टरमा भर्ना भए ।

परिवारले उनलाई सुरुमा शिक्षण अस्पताल नेपालगन्ज लगेका थिए । तर, अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाका बिरामीलाई उपचार गर्न नसक्ने भन्दै एम्बुलेन्सबाट झार्नै दिएनन् । अस्पतालमा बेडको अभाव भएपछि उनलाई परिवारले शुक्रबार आइसोलेसन सेन्टरमा भर्ना गरेका हुन् । ‘देखाउनका लागि दुई जना स्टाफको भरमा आइसोलेसन बनाइएको छ । तर, डाक्टर छैनन् । समयमा उपचार पाएको भए बुबा सायद बाँच्नु हुन्थ्यो होला,’ मृतकका छोरा अनिल तिरुवाले भने, ‘अक्सिजन लेबल कम थियो । एक्कासि गाह्रो भयो भन्दा भन्दै ज्यान गयो ।’

बाँकेमा संक्रमण बढेसँगै अस्पतालहरूमा बेड अभाव भएपछि होम आइसोलेसनमा बस्ने बढेका छन् । लक्षण देखिएपछि परीक्षण नै नगराई होम आइसोलेसनमा बस्ने पनि उत्तिकै छन् । ढिलो गरी परीक्षण गराउँदा र होम आइसोलेसनमा बस्ने बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

संक्रमण भएकाहरू स्वास्थ्य समस्या गम्भीर भएपछि मात्र उपचारका लागि अस्पताल आउने गरेका कारणले मृतकको संख्या बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । अस्पताल भरिएको हल्लाले पनि संक्रमितहरू बेड नपाउने हो कि भनेर अस्पताल नगएर घरमै बस्न थालेका हुन् । त्यस्तै स्वास्थ्य अवस्था सामान्य हुँदासम्म घरमै बस्ने र गम्भीर अवस्थामा मात्र अस्पताल आउन चिकित्सकले सुझाव दिँदै आएका छन् ।

‘अहिलेको समस्या नै त्यही हो । लक्षण देखिएकाहरू नै पीसीआर नगरी बस्नुहुन्छ । धेरै अस्वस्थ भएपछि मात्र पीसीआर गराउनु हुन्छ । कतिको त अस्पतालमा भर्ना भएपछि मात्र पीसीआर गराइन्छ,’ भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा फिजिसियन डा. संकेत रिसालले भने, ‘उपचारका लागि बिरामीलाई ढिलो गरी अस्पताल पुर्‍याउँदा पक्कै पनि उपचारमा समस्या थपिन्छ ।’ मृतकहरूको आँकडा हेर्दा उपचारका लागि अन्तिम अवस्थामा अस्पताल पुग्नेको संख्या धेरै छ । अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ । अक्सिजन अनि भेन्टिलेटरको अभाव उस्तै छ । जसले होम आइसोलेसनमा बस्ने संख्या बढ्दो छ ।

हाल नेपालगन्ज उपमहानगरपालिकामा २ हजार ३ सय ६६ जना होम आइसोलेसनमा छन्, जसमध्ये सबैभन्दा धेरै वडा नं. १० मा ६ सय ५० जना छन् । उपमहानगरले सामान्य लक्षणसहितका बिरामीलाई ह्वाइट हाउसस्थित आइसोलेसनमा राखेको छ भने रामलीला मैदानस्थित तालिम केन्द्रमा अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा छ । घरमै आइसोलेसनमा बसेकालाई सुरुमा सम्पर्क व्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय–समयमा परामर्श दिँदै आएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘घरमै बसेकाहरूलाई वडाकै स्वास्थ्यकर्मीले फलोअप गर्नुहुन्छ,’ उनले भने, ‘समस्या गम्भीर भएमा कोभिड वार्डमा रेफर गर्छौं ।’

नेपालगन्जकी उपप्रमुख उमा थापामगरले होम आइसोलेसनमा बसेकाहरूको स्वास्थ्य अवस्थाबारे समय–समयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको बताइन् । वैशाख २० गतेसम्मको अभिलेखअनुसार कोरोनाका कारण नेपालगन्जमा मात्र ७१ जनाको मृत्यु भइसकेको छ । कोहलपुरमा २९, बैजनाथमा १२, खजुरामा १८ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बस्ने व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सम्बन्धित पालिकाले स्वास्थ्यका कर्मचारी परिचालन गर्नुपर्ने स्वास्थ्य निर्देशिका छ ।

प्रकाशित : वैशाख २२, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?