कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित सबै होम आइसोलेसनमा, अक्सिजन छैन

काशीराम डाँगी

रोल्पा — रोल्पा सदरमुकाम लिबाङदेखि सुदूरपश्चिम सीमामा अवस्थित गंगादेव गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित एकैपटक ४५ जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भयो । न अस्पताल, न अक्सिजनको व्यवस्था । संक्रमितको संख्या ह्वात्तै बढेपछि स्थानीय त्रसित बनेका छन् ।

यति धेरै संक्रमित भएको गाउँमा अक्सिजन आवश्यक परे के गर्ने ? यसको जवाफ कसैसँग छैन । जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाको आशा छ– कसैलाई गम्भीर समस्या नआओस् । आइहालेमा छिमेकी जिल्लाका अस्पतालमा पुर्‍याउनुको विकल्प छैन । रोल्पामा एउटा मात्र अस्पताल छ । १५ बेडको उक्त अस्पतालमा मुस्किलले १२ जना बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन सकिने अवस्था छैन । त्यसैले गम्भीर खालका बिरामीलाई दाङ, नेपालगञ्ज या बुटवल–भैरहवाका अस्पतालमा पुर्‍याउनु एक मात्रै विकल्प हो । तर त्यहाँ पुर्‍याइएका बिरामीले पनि बेड पाउने सम्भावना निकै कम छ ।

गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भने, ‘संक्रमितलाई सामान्य ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ । तीमध्ये केहीलाई कुनै पनि लक्षण देखिएको छैन ।’ एक साताअघि आशंकाको आधारमा ४३ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सबै संक्रमितलाई होम आइसोलेसनमा राखेको अध्यक्ष खत्रीले बताए । उनले भने, ‘सबैलाई स्वास्थ्यको मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी मेहरमान वलीको संयोजकत्वमा स्वास्थ्य सहयोग समिति गठन गरेका छौं ।’ उक्त समितिले जिल्ला स्वास्थ्य, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लगायतसँग सम्पर्क र समन्वय गर्ने जिम्मेवारी पाएको छ । गम्भीर स्वास्थ्य समस्या देखिएमा साबिकको गाविस भवनमा निर्माण गरिएका १० बेडको अक्सिजनरहित आइसोलेसन केन्द्रमा लैजाने र थप गम्भीर बिरामी भएमा जिल्ला अस्पताल रेउघामा वा छिमेकी जिल्लाका कोभिड अस्पतालमा लैजाने व्यवस्था मिलाइएको छ ।

गंगादेवमा शंकास्पद कम्तिमा एक सय बढीको पीसीआर परीक्षण गर्ने गाउँपालिकाको योजना छ । कर्मचारी र जनप्रतिनिधिको सम्पर्कमा आएका उपभोक्ता समितिका पदाधिकारी, होटल व्यवसायी, शिक्षक र उनीहरुका परिवारलाई लक्षित गरेर पीसीआर परीक्षण गर्न प्राथमिकता दिने योजना रहेको उनले बताए ।

तर जिल्ला स्वास्थ्यले १५ वटा एन्टिजेन किट मात्रै पठाएको छ । स्वाब परीक्षण गर्ने भीटीएम वा एन्टिजेन किट पर्याप्त मात्रामा नभएकाले शंकास्पद व्यक्तिहरुको अवस्था परीक्षण गर्न ढिलाइ भएको वडा नं ५ का अध्यक्ष मानबहादुर डाँगीले बताए ।

संक्रमितमध्ये ५/६ जनाको परिवारका सबै सदस्य संक्रमित छन् । गंगादेवका स्वास्थ्य विभाग संयोजक नै कोरोना संक्रमित भएपछि शंकास्पद संक्रमित पहिचान गर्न थप समस्या देखिएको छ । संक्रमितमध्ये गाउँपालिकाकी उपाध्यक्ष, एकजना वडा अध्यक्ष र आईटी विभागका कर्मचारीमा गम्भीर लक्षण देखिएको अध्यक्ष खत्रीले बताए । उक्त गाउँपालिकालाई गत शुक्रबारदेखि सिल गरिएको छ ।

जिल्ला जनस्वाथ्य प्रमुख नोखराज पोखरेलले गंगादेवमा एकैपटक बढी जनामा कोरोना संक्रमण देखिएपछि परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिएको बताए । ‘जुनजुन स्थानमा संक्रमण पुष्टि भएको छ, त्यस क्षेत्र आसपासमा पम्पर्कमा आएकाको पनि स्वाब परीक्षण गर्नुपर्ने हुन्छ’ पोखरेलले भने, ‘संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरेर उनीहरुको पीसीआर गर्ने योजना छ ।’ उनका अनुसार शंकास्पदहरुको सूची तयार भइरहेको छ । डीसीसीएमसीमार्फत् सबैको तत्काल पीसीआर गर्ने निर्णय भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संक्रमितको उपचार र शंकास्पदहरुको पीसीआर गरेर सबैलाई सुरक्षित राख्न पहल भइरहेको बताए । जिल्लामा आवश्यकता अनुसारको भीटीएम, एन्टिजेन किट, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीको आपूर्ति गर्न प्रदेश र संघीय सरकारसँग समन्वय भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?