रोल्पामा बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा 

मंगलबारसम्म संक्रिय संक्रमित ९७ जना
काशीराम डाँगी

रोल्पा — बढ्दो कोरोना संक्रमण रोक्न रोल्पामा १५ दिनसम्म निषेधाज्ञा गर्ने घोषणा गरिएको छ । सोमबार बसेको जिल्लास्तरीय सर्वपक्षीय/सर्वदलीय विस्तारित बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

रोल्पामा बुधबारदेखि १५ दिनसम्म निषेधाज्ञा 

प्रमुख जिल्ला अधिकारीको आह्वानमा सोमबार सदरमुकाम लिबाङमा आयोजित बैठकले वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । सर्वपक्षीय उक्त निर्णयलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले समेत अनुमोदन गरेको छ । बैठकमा जिल्लाका १० वटै तहका प्रमुख, सुरक्षा अधिकारी र स्वास्थ्य अधिकारीहरुको समेत उपस्थिति थियो ।

रोल्पामा कोरोनाले हालसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य प्रमुख नोखराज पोखरेलले गंगादेव गाउँपालिकामा एक महिला, त्रिवेणी गाउँपालिकामा एक पुरुष, सुनीलस्मृति गाउँपालिकामा एक पुरुष र माडी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको बताए । संक्रमितलाई विभिन्न अस्पतालमा उपचार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

रोल्पामा हालसम्म कोरोनाका सक्रिय संक्रमित ९७ जना छन् । पश्चिमी रोल्पाको गंगादेव गाउँपालिकामा ४५ छन् । त्यहाँ एकैपटकमा ४३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यससँगै रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, सुनीलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिकालगायतमा कोरोना संक्रमण फैलिएको हो । स्वेच्छिक रुपमा जिल्लाबाहिर पुगेर पीसीआर परीक्षण गरेका पनि छन् ।

डीसीसीएमसीका अनुसार कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा त्यसबाट जोगिन निषेधाज्ञा गर्नुपरेको हो । ‘निषेधाज्ञाबाट मात्रै थप संक्रमण रोक्न सकिने भएकाले यो निर्णय गरिएको हो,’ डीसीसीएमसीका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भने, ‘जिल्लावासीलाई कोरोनाबाट जोगाउन सबैको सहयोग आवश्यक छ ।’

निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने प्रशासनले जनाएको छ । खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नियम बनाइएको छ ।

जिल्लामा संक्रमण फैलिएको अवस्थाबारे गम्भीर बन्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनचेतना बिस्तार गर्ने तथा त्यसका लागि स्थानीय तह र टोल सुधार समिति गठन गरी आह्वान गर्ने निर्णय गरेको हो । जिल्लामा पीसीआर मेसिन नभएको र एन्टीजेन किटसमेत नभएकाले संक्रमणको यकिन तथ्यांक पत्ता लगाउन मुस्किल भएको प्रजिअ सापकोटाले बताए ।

बैठकमार्फत प्रदेश सरकारसमक्ष पीसीआर मेसिन एउटा, ४/४ हजार थान एन्टिजेन किट र पीपीई माग गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । यस्तै ठूलो आकारको २०/२० थान अक्सिजन सिलिन्डर र अक्सिजन कनेक्टर पनि पठाइदिन माग गरिएको छ ।

सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गर्ने तर पूर्वाधार निर्माणका काम जारी राख्ने निर्णय भएको छ । शंकास्पद स्थान र व्यक्तिलाई निगरानी राख्ने र बाहिरबाट आएकालाई कम्तीमा १० दिन होम क्वारेन्टाइनमा बसाल्ने निर्देशन दिइएको छ । यस्तै हरेक स्थानीय तहले कम्तीमा एउटा आइसोलेसन निर्माण गर्नुपर्ने बैठकको निर्देशन छ ।

प्रकाशित : वैशाख २१, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?