बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना बाँके र २ जना कैलालीका हुन् ।

बाँके बैजनाथ गाउँपालिका–५ की ६२ वर्षीया महिलाको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो । वैशाख १९ गते पीसीआर गरेकी उनलाई २० गते भर्ना गरिएको थियो ।

यस्तै, कैलाली धनगढीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरेका उनलाई २० गते भर्ना गरिएको थियो । उनको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको छ । १७ गते अस्पताल भर्ना भएका उनको १८ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

खजुरा गाउँपालिका–२ बाँकेको होम आइसोलेसनमा बसेका ६९ वर्षीय पुरुषको आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा राति साढे ११ बजे मृत्यु भएको हो । वैशाख १९ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएदेखि नै होम आइसोलेसन बस्दै आएका थिए ।

वैशाख १४ गते पीसीआर गरेका कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुषको सोमबार राति ११ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको ११ बजेर ४० मिनेटमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरेका उनलाई १८ गते भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट १४३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आएका १२५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुमा मंगलबार बिहानदेखि निषेधाज्ञा

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा मंगलबार बिहान ४ बजेदेखि जिल्लाभर निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा वैशाख ३१ राति १२ बजेसम्म जारी रहने बताइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको गत आइतबार बसेको बैठकले निषेधाज्ञा लगाउन सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन् ।

निषेधाज्ञासँगै यहाँका बजार, पसल र सवारी यातायात बन्द भएका छन् । जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढ्दै गई सहरबजार र बस्तीमा मानवीय चहलपहल र भिडभाडले जोखिम बढेकाले न्यूनीकरण गर्न निषेधाज्ञा जारी गरिएको प्रजिअ पाण्डेले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ देखि दिउँसो १ बजेसम्म पसल खुला रहने प्रशासनले जनाएको छ । जिल्लामा सोमबार साँझसम्म ७ सय २५ सक्रिय संक्रमित पुगेका छन् । संक्रमणबाट ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×