रुपन्देहीमा सोमबार थपिए ५ सय ७९ कोरोना संक्रमित- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा सोमबार थपिए ५ सय ७९ कोरोना संक्रमित

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा सोमबार ५ सय ७९ नयां संक्रमित थपिएका छन् । थप भएका मध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका २ सय ५१ जना रहेका छन् ।

त्यस्तै, तिलोत्तमानगरपालिकामा १ सय २६, सिद्धार्थनगर नगरपालिकामा ९०, सैनामैना नगरपालिकामा ३२, देवदहनगरपालिकामा २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै, ओमसतिया गाउँपालिकामा १५, कञ्चनमा १२, मायादेवी र शुद्धोधनमा ९, सियारीमा ८, रोहिणीमा ४ र सम्मरीमाई गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।

कुल ४ हजार १ सय ५ सक्रिय संक्रमितमध्ये ३ हजार ९ सय ७४ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा जिल्लामा कोभिडका कारण ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्

चितवन मेडिकल कलेजमा १२ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ घण्टाभित्र ३ जनाको मृत्यु भएको छ । उनीहरु तीनै जना चितवन बाहिरका हुन् ।

मृत्यु हुनेमा बारा, रुपेन्देही र कलैयाका पुरुषहरु रहेका छन् । आइतबार राति दुईजना र सोमबार बिहान एकजनाको मृत्यु भएको हो । यो बाहेक पुरानो मेडिकल कलेजमा थप एकको मृत्यु भएको छ ।

सिएमसीको शिक्षण अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार बारा जिल्ला कलैया–६ का ६५ वर्षीय पुरुषको सोमबार बिहान नौ बजेर ३५ मिनेट जाँदा मृत्यु भएको छ । ती व्यक्ति ज्वरो र श्वास्प्रश्वासको समस्या भएका कारण गएको मंगलबार वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनलाई वैशाख ६ गते नै कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यसै गरी आइतबार राति १० बजेर ३४ मिनेट जाँदा अस्पतालमा उपचार गराइरहेका रुपन्देही तिलोत्तमा नगरपालिका–५ मणिग्रामका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी शनिबार चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । टाउको दुख्ने र कमजोरी अनुभव हुन थालेपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना भाइरसको संक्रमण भएको वैशाख ९ गते नै पत्ता लागेको थियो ।

त्यसअघि आइतबार राति ९ बजेर ५३ मिनेट जाँदा चितवन मेडिकल कलेजमै अर्का संक्रमितको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तु जिल्ला तौलिहवा–१ घर भएका ४७ वर्षीय पुरुष रहेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको वैशाख १३ गते कपिलवस्तुमा नै पत्ता लागेको थियो । चितवन मेडिकल कलेजमा उनी वैशाख १९ गते आइतबार मात्रै भर्ना भएका थिए ।

चितवन स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये सोमबार मध्यान्हसम्म ११८ जनाको मृत्यु भएको छ । यसमा जिल्ला बाहिरबाट भरतपुरका अस्पतालमा उपचार सेवा लिन आउँदा मृत्यु भएका संक्रमितहरु जोडिने गरिँदैन । ११८ जना मृतकहरु चितवन नै घर भएर यही नै मृत्यु भएकाहरु हुन् । भरतपुरमा जिल्लाका साथै अन्यत्रबाट पनि उपचार सेवा लिन आउने अत्याधिक हुने गर्दछन्।

चितवन स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख भए अनुसार सोमबार मध्यान्हसम्म चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २११ पुगेको छ । जसमध्ये अस्पतालमा उपचार गराइरहेका संक्रमितहरु जम्मा ९३ जना छन् । तर चितवनमा संक्रमितको उपचार हुने तीनवटा अस्पतालहरुमा उपचारमा रहेका संक्रमितको संख्या २२० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भरतपुरमा चितवनका ९३ जनाको उपचार भइरहँदा १२७ जना जिल्ला बाहिरका संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयको विवरणले देखाएको छ । चितवनका अस्पतालहरुमा सघन उपचार कक्ष (आईसीयु)मा ६४ जना र भेन्टिलेटरमा १३ जना छन् । एचडियुमा ४६ जना संक्रमितहरुको उपचार भइरहेको छ । चितवनमा चैत्रको दोस्रो सातबाट कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेको हो ।

प्रकाशित : वैशाख २०, २०७८ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×