प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद पाण्डे कांग्रेस प्रवेश

कांग्रेस उम्मेदवारका रुपमा राष्ट्रिय सभामा पठाउने चार दलीय गठबन्धनको निर्णय 
अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

पत्रकार सम्मेलनमा पाण्डेलाई चारदलीय गठबन्धनले खादा लगाएर स्वागत गर्दै । तस्बिर : अमृता अनमोल कान्तिपुर

उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । उनले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ ।

पाण्डेले आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । कांग्रसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को एकबाट उनले चुनाव जितेका थिए । उनलाई एमालेले प्रदेश सभाको सामाजिक समिति सभापति समेत बनाएको थियो ।

प्रदेश सभा सदस्य त्यागेका पाण्डेले एमालेको तानाशाही प्रवृत्ति मन नपरेकाले सदस्य पदबाटै राजीनामा दिएर कांग्रेसमा फर्किएको बताए । ‘मैले सदन र संसदीय दलमा पटक पटक व्यक्तिगत स्वार्थको साटो जनताको हित हेरौं भनेर कुरा राखेको थिए । तर, मेरो कुरा सुनिएन । त्यसैले दिक्क भएर राजीनामा दिएको थिएँ,’ उनले भने । पाण्डेले अबको राजनीति कांग्रेसबाटै गर्ने र जनताको सेवा गर्ने बताए ।

प्रकाशित : वैशाख २०, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा ६५ जनाको परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि

अवधेशकुमार झा

राजविराज — सप्तरीमा दोश्रो लहरको कोरोना संक्रमण फैलिने क्रम तीव्र भएको छ । आइतबारदेखि पीसीआर परीक्षणको दर बढाउँदा संक्रमित पनि थपिँदै गएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजस्थित प्रयोगशालामा सोमबार गरिएको ६५ जनाको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जितकुमार झाले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामा १० जना महिला र ३१ पुरुष छन् । जसमध्ये सबैभन्दा बढी राजविराज नगरपालिकाका १३ जना छन् । सोमबार संक्रमण पुष्टि भएका ४१ जनामध्ये अधिकांश ४० वर्ष मुनिका रहेका छन् ।

संक्रमण पुष्टि भएका ४१ मध्ये एकजना गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत अहेब समेत रहेका छन् । यो समेत गरी गजेन्द्रनारायण सिंह अस्पतालका चारजना स्वास्थ्यकर्मी अहिले संक्रमित छन् । यस्तै कोरोनाविरुद्धको खोप लगाएका ४ जना समेत संक्रमित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जनाए ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका सबै ४१ जना होमआइसोलेसनमै रहेका छन् । ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

प्रकाशित : वैशाख २०, २०७८ १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×