भर्ना नपाउँदा संक्रमितको बिचल्ली

अस्पतालमा रेखदेख र उपचार नभएको गुनासो
कम जनशक्तिले धेरैको व्यवस्थापन गर्दै स्वास्थ्यकर्मी
अमृता अनमोल

बुटवल — पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ३६ वर्षीय पुरुषलाई श्वास प्रश्वासमा समस्या आयो । ज्वरोसमेत आएका उनको शुक्रबार कोरोना परीक्षण भयो । रिपोर्ट पोजिटिभ देखियो । आफन्तले परासीको पृथ्वीचन्द्र अस्पतालमा लगे । बेड नभएको भन्दै अस्पतालले भर्ना लिन मानेन ।

भर्ना नपाउँदा संक्रमितको बिचल्ली

अवस्था जटिल बन्दै गएपछि शनिबार बिहानै रूपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा ल्याइयो । तर, यहाँ पनि बेड खाली थिएन । तीन घण्टा अस्पतालको पेटीमा बिताएपछि बल्ल स्वास्थ्यकर्मी आए । उनीहरूले अक्सिजन मात्रै नापे । अरू उपचार गरेनन् । अक्सिजन लेभल कम छ तर बेड खाली नहुँदासम्म राख्न र उपचार गर्न सक्ने अवस्था छैन भन्दै उनीहरू फर्किए । बिरामी दिनभर अस्पतालको पेटीमा थिए । ‘अस्पतालमै आएर पनि उपचार पाइएन,’ बिरामीका आफन्त पुण्य चौधरीले भने, ‘कहिले बेड खाली हुने हो र भर्ना पाइने हो थाहा छैन ।’ पुण्यले रूपन्देहीका सबै अस्पतालमा फोन गरेको र कतै भर्ना पाउने अवस्था नरहेको बताए । ‘अब सिकिस्त बिरामीलाई घर लैजानु कि अस्पतालबाहिर राख्नु, थाहा छैन,’ उनले भने ।

रूपन्देहीको रोहिणी–१ की एक महिलालाई तीन दिनदेखि लगातार ज्वरो आयो । ५६ वर्षीया ती महिला खोकीले लखतरान परिन् । बिस्तारै श्वास फेर्न गाह्रो मान्न थालिन् । आफन्तले गत बिहीबार पीसीआर परीक्षण गराए । उनमा कोरोना देखियो । गाउँका स्वास्थ्यकर्मीले अक्सिजनसहितको आईसीयूमा राखेर उपचार गर्न भन्दै कोरोना विशेष अस्पतालमा जान सुझाव दिए । शुक्रबार बिहान उपचारका लागि उनलाई भीम अस्पताल ल्याइयो । तर, उपचार पाउन सकिनन् । स्वास्थ्यकर्मीले बेड छैन भनेर ढोकाबाटै फर्काइदिए । तत्काल मेडिकल कलेजमा लगे । त्यहाँ पनि आईसीयू बेड नभएको भन्दै भर्ना लिइएन । बिरामीलाई फर्काएर पुनः भीम अस्पतालकै आँगनमा ल्याइयो । ‘बिरामी झन् झन् सिकिस्त हुनुभाछ,’ बिरामीका आफन्त ज्योति गुप्ताले भने, ‘हामी कतिबेला अस्पतालको बेड खाली होला भनेर कुरिरहेका छौं । अब भगवान् भरोसा छ ।’

अस्पतालमा उपचाररत बिरामीले पनि उचित चिकित्सकीय सुविधा पाएका छैनन् । नियमित नर्सिङ सेवा पनि नपाएको आफन्तहरूको गुनासो छ । अस्पतालको बेडमा संक्रमितसँगै आफन्त कुरेर बसेका भेटिन्छन् । उनीहरूलाई औषधि खुवाउनेदेखि बेड मिलाउने काम कुरुवाले नै गर्नुपर्छ । बिरामीको नियमित सम्पर्कमा रहेका कुरुवा एवं आफन्तहरू सामाजिक घुलमिल गरिरहेका छन् । यसले संक्रमण झन् भयावह हुने डर छ । एक सातादेखि एचडीयूमा संक्रमित आमाको उपचार गराइरहेका सिद्धार्थनगर नगरपालिकाको भैरहवाका राकेश ठाकुरले औषधि के खुवाउने भनेर सोध्न पनि स्वास्थ्यकर्मी नभेटिने बताए । ‘डाक्टर त देखिँदै देखिन्नन् । यहाँ हुने नर्सले पनि बिरामीको वास्ता गर्दैनन्,’ उनले भने, ‘संक्रमितका आफन्तले नै बिरामीको रेखदेख र स्याहारसुसार गर्नुपरेको छ ।’

भीम अस्पतालमा २२ बेडको एचडीयू र पाँच बेडको आईसीयू कक्ष छ । आकस्मिक कक्षमा ३० जना बेडको पर्खाइमा छन् । अस्पतालको बाहिर बस्नेको संख्या पनि त्यत्तिकै हाराहारीमा छ । तर, अस्पतालका सबै बेड बिरामीले भरिएका छन् । भर्ना भएका बिरामीलाई तत्काल सुधार नभएपछि नयाँ बिरामी भर्ना गर्न सकिएको छैन । अस्पतालका स्वास्थ्यकर्मीहरूले भने कम जनशक्तिले धेरै व्यवस्थापन गर्नुपर्दा समस्या भएको बताए । ‘हामीले सक्दो गर्ने हो । अवस्था भयावह छ,’ अस्पतालको आकस्मिक कक्षकी इन्चार्ज सविता शर्माले भनिन्, ‘चाहेर पनि सबै गर्न सकिएको छैन ।’ विशेषज्ञ चिकित्सक नआउँदा स्वास्थ्यकर्मीले नै सबै उपचार गर्नुपरेको उनले दुखेसो पोखिन् ।

लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको भीम अस्पतालमा संक्रमितले भर्ना नपाउने र भर्ना भएकाले पनि उचित रेखदेख नपाउने समस्या बढेपछि यस अस्पताललाई पूर्ण रूपमा कोभिड अस्पताल बनाउन थालिएको छ । अस्पतालमा कोभिडको मात्रै उपचार गर्न ५० बेडको एचडीयू बनाइँदै छ । यसका लागि अन्य बिरामी भर्ना गर्न छोडिएको छ । उपचारको व्यवस्थापन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले गर्ने र अपुग जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने निर्णय भएको प्रदेशका स्वास्थ्यमन्त्री लीला गिरीले बताए । ‘मंगलबारसम्म ५० बेडको एचडीयू सुरु हुनेछ,’ उनले भने, ‘लुम्बिनी प्रादेशिकले हेर्ने भएपछि उपचारको सेवामा पनि सुधार हुने अपेक्षा छ ।’

प्रकाशित : वैशाख १९, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?