बर्दियामा थप १२ दिन निषेधाज्ञा

कमल पन्थी

बर्दिया — कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले थप १२ दिन निषेधाज्ञा जारी गरेको छ । यसअघि आंशिक रुपमा वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको थियो ।

बर्दियामा थप १२ दिन निषेधाज्ञा

निषेधाज्ञा खुकुलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो । मानिस खुलेआम भीडभाड हुने ठाउमा घुमफिर गर्ने,बजारका पसल खुला भएको, सार्वजनिक र निजी सवारी साधन निर्वाध सञ्चालनमा आएको थियो । निषेधाज्ञा पालना नहुँदा एक सातामा करिब तीन सय कोरोना संक्रमित थपिएपछि शुक्रबार बेलुकी प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति गायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै यातायातका सवारी साधन बन्द रहने भएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । अनावश्यक रुपमा घर बाहिर बाहिर निस्कनेमाथि कारबाही गरिने प्रजिअ सुनारले बताए । आवश्यक काम परे अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।

विवाह, व्रतबन्ध, पूजा, दाहसंस्कारका काममा बढीमा १० जना सहभागी हुन पाउनेछन् । विवाहमा २ वटा सानो गाडी वा ठूलो गाडीमा दस जना बढी नराख्ने गरी प्रयोग गर्ने निर्णय गरिएको छ ।


प्रकाशित : वैशाख १८, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?