जिल्ला अस्पतालमै छैनन् आईसीयू

कोरोनाका गम्भीर बिरामी उपचार अभावमा ज्यान गुमाउँदै
अक्सिजनको मौज्दात पनि सकिँदै

अर्घाखाँची/परासी/कपिलवस्तु — सहर आसपास रहेका जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) उपलब्ध नहुँदा कोरोना संक्रमित उपचारबाट वञ्चित भएका छन् । कतिपयले ज्यानसमेत गुमाएका छन् ।

जिल्ला अस्पतालमै छैनन् आईसीयू

लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पताल आईसीयूविहीन छन् । यी अस्पतालमा कोरोनाको सामान्य उपचार मात्रै हुन्छ । आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई चार/पाँच घण्टाको यात्रामा बुटवल लैजानुपर्ने हुन्छ । जसका कारण बिरामीले उपचार अभावमा ज्यानैसमेत गुमाउनुपरेको छ ।

आईसीयू बेड नभएकै कारण सन्धिखर्क अस्पतालमा मंगलबार एक संक्रमितको मृत्यु भयो । श्वासप्रश्वासमा अप्ठेरो भएपछि अस्पताल भर्ना भएका मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय रामप्रसाद भुसालको अस्पताल ल्याएको २ घण्टामै मृत्यु भएको हो । वैशाख ९ मा प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको थियो । त्यहाँ बेड नपाएर घर फर्केका उनलाई श्वास फेर्न गाह्रो भएपछि सन्धिखर्क अस्पतालमा ल्याइएको थियो ।

सन्धिखर्क अस्पतालमा आईसीयू सुविधा छैन । अहिले अक्सिजन पनि अभाव छ । अस्पताल प्रमुख डा. कपिल गौतम अक्सिजन लिन भन्दै बुधबार संघीय सरकारको स्वास्थ्य विभाग काठमाडौं गएका छन् । कोरोनाका बिरामीलाई आवश्यक स्वास्थ्य सामग्री लिन काठमाडौं जानु परेको उनले बताए । सन्धिखर्कबाट एम्बुलेन्समा बुटवल पुग्न चार घण्टा लाग्छ । त्यहाँ पनि बेड अभाव भएकाले सहजै उपचार पाउन सक्दैनन् । जिल्लामै कोरोनाका जटिल बिरामीले उपचार सेवा पाऊन् भनेरै प्रदेश सरकार र केन्द्रको स्वास्थ्य विभागमा आईसीयू सेवा सञ्चालन गर्न अनुमति माग गरेको डा. गौतमले बताए ।

आईसीयू अभावमा गुल्मी दरबारका एक युवकको मंगलबार मृत्यु भयो । तम्घास अस्पताल प्रमुख डा. उत्तम पाच्यले अस्पतालमा आईसीयू सञ्चालन गर्नेबारे कुनै योजना नभएको बताए । बजेट र जनशक्ति अभावमा गुल्मीमा आईसीयू सञ्चालन गर्नेबारे सुरसार नरहेको जनस्वास्थ्य प्रमुख डा. भवानी शर्माको जिकिर छ । ‘आईसीयूमा अक्सिजन, भेन्टिलेटरको व्यवस्था हुन्छ,’ उनले भने, ‘जिल्लामा यस्तो सुविधा नहुँदा बिरामीलाई समस्या भएको छ ।’ गुल्मीका चार जना कोरोना संक्रमितले आईसीयू नभएकै कारण ज्यान गुमाउनु परेको उनले बताए ।

पश्चिम नवलपरासीमा एउटा जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल र एक निजी अस्पताल सञ्चालनमा छन् । तर भेन्टिलेटर र आईसीयू उपचार कक्ष भने कुनैले पनि सञ्चालन गरेका छैनन् । जसका कारण गम्भीर बिरामीलाई चितवन र रूपन्देहीका अस्पतालमा लैजानुपर्ने बाध्यता छ । १० वर्षअगाडिबाट जिल्लाबासीले आईसीयूसहितको उपचार कक्ष निर्माण गर्न माग गर्दै आइरहेका छन् । तर अहिलेसम्म पूरा हुन सकेको छैन । ‘सडक दुर्घटना, सर्पको टोकाइले बर्सेनि जिल्लाबासीले उपचार अभावमा ज्यान गुमाउनु परिरहेको छ,’ सुनवल–४ का दीपक घिमिरेले भने, ‘चुनावको समयमा हरेक निर्वाचन क्षेत्रमा आईसीयूसहितको अस्पताल निर्माण गर्ने नारा लगाइन्छ । तर त्यसपछि त्यत्तिकै हराउँछ । उपचार अभावमा नागरिकले ज्यान गुमाउँदा समेत नीति निर्माण तहमा बस्नेको होस खुलेको छैन ।’

जिल्लामा भेन्टिलेटर र आईसीयू सेवा नहुँदा रामग्राम–९ का एक युवकको मंगलबार कोरोनाकै कारण मृत्यु भयो । जिल्लामा बर्सेनि सडक दुर्घटना, महामारी, हृदयाघात र सर्पदंशका बिरामीले उपचार अभावमा ज्यान गुमाइरहेका छन् । सामान्य वार्डमा छट्पटाउँदा–छट्पटाउँदै बिरामीको मृत्यु हुँदा चिकित्सक र आफन्तले आईसीयू बेड नहुँदाको पीडा प्रत्यक्ष भोगेका छन् । ‘जिल्लामा आईसीयूसहितको उपचार कक्षको खाँचो छ । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु । तर हामी कर्मचारीले मात्र भनेर हुँदैन,’ जिल्ला अस्पताल परासीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले भने, ‘अहिले यहाँ भौतिक संरचना भएकाले भेन्टिलेटर र आईसीयू सेवासम्बन्धी उपकरण केन्द्र र प्रदेशले उपलब्ध गराउनुपर्‍यो । आईसीयू अभावमा जीवन बचाउन सकिने बिरामीको आँखैअगाडि मृत्यु हुँदा मन दुःखी हुँदो रहेछ ।’

पश्चिम नवलपरासी अत्यधिक सडक दुर्घटना हुने जिल्लाअन्तर्गत पर्छ । दुर्घटनामा गम्भीर घाइते भएकालाई आईसीयूमा राख्नुपर्ने हुन सक्छ । तर उपचारका लागि जिल्लाबाहिर लैजानुपर्दा धेरैले बाटोमै ज्यान गुमाउनु परिरहेको छ । ‘हामीले जिल्ला अस्पतालको स्तरोन्नति गरेर आईसीयूसहितको उपचार सेवा सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरेका छौं,’ प्रदेशसभा सदस्य बैजनाथ जैसवालले भने, ‘म आफैं कोरोना संक्रमित भएर उपचारका लागि काठमाडौं जानु पर्‍यो । जिल्लामै सुविधा सम्पन्न अस्पताल भएमा विपन्न जनताले पनि सेवा पाउने थिए ।’

कोभिड अस्पताल सञ्चालनको माग

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ धनकौलीका ३३ वर्षीय युवकको उपचार नपाएरै वैशाख १० मा घरमै ज्यान गयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा वैशाख ८ मा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो तर बेड अभावमा उनी अस्पताल भर्ना हुन पाएका थिएनन् । कपिलवस्तु नगरपालिका–३ आनन्दवागका ५० वर्षीय पुरुष पनि आइतबार एक्कासि बिरामी भए । श्वासप्रश्वासमा समस्या भयो । सिकिस्त बनेपछि तौलिहवा अस्पतालमा सम्पर्क गर्दा बेड अभावमा भर्ना गर्न नसकिने बताइयो । भैरहवा लैजाने तयारी गर्दागर्दै बुधबार उनको घरमै मृत्यु भयो । नेपाल मुस्लिम संघका अध्यक्ष असहद कमाललाई सिकिस्त भएपछि सोझै तौलिहवा अस्पताल ल्याइएको थियो । यहाँ उपचार नहुने भएपछि भैरहवा मेडिकल कलेज लगियो । गम्भीर अवस्थामा रहेको उनको मंगलबार उपचारको क्रममै मृत्यु भयो ।

समयमै उपचार नपाउँदा मृत्यु हुनेको संख्या धमाधम बढिरहेको छ । तर सदरमुकामस्थित कपिलवस्तु अस्पताल भने अहिले पनि कोरोनाका बिरामीका लागि बन्द छ । यहाँ रहेको अत्याधुनिक सुविधासहितको आईसीयूमा बिरामीले उपचार पाउन सकेका छैनन् । चार वटा भेन्टिलेटरसहित १० बेड क्षमताको आईसीयू कक्ष छ । यहाँ चिकित्सक र स्वास्थ्यकर्मी पनि पर्याप्त छन् । तर आईसीयू प्रायः खाली रहँदै आएको छ । अस्पतालले स्तरोन्नति गर्दै भेन्टिलेटरसहितको आईसीयू सुविधा गत चैतमा थपेको हो । स्वास्थ्य मन्त्रालयको १ करोड ५० लाख रुपैयाँ सहयोगमा यो संरचना खडा गरिएको हो । गत चैत २४ मा आईसीयूको तामझामका साथ उद्घाटन पनि गरियो । तर जिल्लामा संक्रमित बढे पनि यहाँ उनीहरूको उपचार भइरहेको छैन ।

‘पहिलो कुरा ज्यान हो,’ स्थानीय व्यापारी बृजेश भटराले भने, ‘त्यही भएर सक्दो छिटो नजिक र जिल्लाकै आईसीयू कक्षमा कोरोना संक्रमितको उपचार गर्नुपर्छ ।’ अस्पतालमा सबैखाले बिरामीको उपचार गर्नुपर्ने हुँदा अहिलेलाई कोभिड अस्पतालमा परिणत गर्न नसकेको अस्पतालका व्यवस्थापक रत्नाकर शुक्ला बताउँछन् । ‘समाजमा सबै खाले बिरामीले सेवा पाउनुपर्छ,’ उनले भने, ‘संक्रमितको मात्रै उपचार गर्न थाल्यौं भने अन्यको अवस्था जटिल हुन्छ । अन्य बिरामीलाई वैकल्पिक व्यवस्था नगरेसम्म यहाँ कोभिड अस्पताल सञ्चालन गर्न गाह्रो छ ।’ साबिकको महिला विकास कार्यालयमा अक्सिजनसहितको उपचार सेवा प्रदान गर्ने गरी तयारी गरिरहेको उनले बताए ।

२०२८ मा स्थापित यो अस्पताल अहिले ५० शय्याको छ । तर अस्पतालका मेसु डा. किशोर बन्जाडे भने स्थानीय तह मूकदर्शक बन्दा समस्या भएको बताउँछन् । एकै ठाउँबाट सेवा दिन जोखिम हुने भएकाले अस्पतालभन्दा बाहिरै २० शय्याको कोभिड अस्थायी अस्पताल बनाएर सेवा दिन लागिएको प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिए । सरकारले सबै स्थानीय तहलाई १५ बेडको अस्पताल बनाउन निर्देशन दिए पनि यहाँ कुनैले पनि बनाएका छैनन् । गत वर्ष असारमै सर्वपक्षीय बैठक बसेर जिल्लाका प्रत्येक स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि १०/१० लाख रुपैयाँ उठाउने निर्णय भएको थियो । तर अहिलेसम्म कुनै तहले पनि रकम नदिएको पाण्डेको गुनासो छ ।

प्रकाशित : वैशाख १७, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?