२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ध्यान केन्द्र निर्माण एक महिनाभित्रै

दोस्रो चरणमा फिनिसिङ र सुन्दरता भर्ने काम तीव्र
मनोज पौडेल

लुम्बिनी — राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत यहाँ निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल एवं ध्यान केन्द्रको फिनिसिङको काम भइरहेको छ ।

ध्यान केन्द्र निर्माण एक महिनाभित्रै

पहिलो चरण पूरा भएर दोस्रो चरणको काम धमाधम चलिरहेको हो । दोस्रो चरणको पनि २६ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको लुम्बिनी विकास कोषले जनाएको छ । पहिलो चरणमा मुख्य पूर्वाधारको काम सकिएको थियो । दोस्रो चरणमा फिनिसिङ र सुन्दरता भर्ने काम तीव्र रूपमा भइरहेको छ ।

यहाँ ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहलको चारैतिरबाट पर्खाल निर्माण भइरहेको छ । चाइनिज इँटाको पर्खाल लगाउने काम पूरा हुन थालेको छ । हलमा भित्र पस्न तीनवटा सेन्सर ढोका र ५२ वटा हाते ढोका निर्माण भएका छन् । सेन्सर र हाते ढोका १३ मिटर उचाइ र ढाइ मिटर चौडाइका छन् । हल चारैतिरबाट ढाकिएपछि मनमोहक र चिरिच्याट्ट देखिएको छ । हलले ओगटेको ३८ हजार वर्गमिटरमा पर्खाल निर्माण भइरहेको छ । ७ सय ५० मिटर लम्बाइको पर्खालको साढे सात मिटरमा ९७ वटा बुद्धमूर्ति राखिनेछ । बुद्धमूर्ति काठमाडौंमा तयार भइसकेका छन् । कार्यक्रममा आउने विशिष्ट अतिथिका लागि दुईवटा वेटिङ रुम (भीआईपी कक्ष) निर्माण भइरहेका छन् । सात मिटर चौडा र १७ मिटर लम्बाइका कोठाका फाउन्डेसन र पिलरको काम भइसकेको छ ।

दुई नम्बर गेटबाट सभाहलभित्र सर्वसाधारण र विशिष्ट अतिथि पस्न दुईवटा बाटो निर्माण भइरहेका छन् । आठ मिटर चौडा र १ सय ६० मिटर लम्बाइको बाटोमा आरसीसी ढलान गरिनेछ । २०७७ पुस १३ गते सम्झौता गरी १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम थालिएको हो । लुम्बिनी, अर्घाखाँची बाबुल जेभीले ३४ करोड ९५ लाख रुपैयाँमा दोस्रो चरणको ठेक्का लिएको हो । ‘अहिले द्रुत गतिमा काम भइरहेको छ,’ साइड इन्जिनियर वसन्त क्षत्रीले भने, ‘हामी समयअघि नै सम्पन्न गर्ने तयारीमा छौं ।’ अहिले दैनिक १ सय ५० मजदुरले काम गरिरहेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा सुरक्षा सतर्कता अपनाएर काम भइरहेको उनले बताए ।

पहिलो चरणको काम सम्पन्न भएसँगै २०७८ जेठ १२ गते परेको बुद्ध जयन्ती यही हलमा मनाउने गरी तयारी थालिएको छ । बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन हुन सक्ने भन्दै रक्षासचिव आएर हलको अवलोकन गरी फर्केका छन् । अवस्था सामान्य रह्यो भने राष्ट्रपति र प्रधानमन्त्री आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए । ‘अहिले तयार रहेकै संरचनामा बुद्ध जयन्ती मनाउन सकिने अवस्था छ,’ उनले भने, ‘कसरी मनाउने भने वैशाख १७ गते पर्यटन मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा लुम्बिनीमा हुने कोषको बैठकबाट निष्कर्षमा पुगिनेछ ।’

ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रंग लगाइएको छ । ‘अत्याधुनिक र सुविधासम्पन्न हल मुलुककै पहिलो हो,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक भट्टराईले भने, ‘अब लुम्बिनीमा ठूलठूला कार्यक्रम गर्न सकिने भएको छ ।’

प्रकाशित : वैशाख १२, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?