२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

किनमेललाई नाका पारि जान रोक

भारतबाट फर्किनेको भीडले नाकामा स्वास्थ्य परीक्षण र विवरण संकलन प्रभावित भएपछि अति जरुरी काममा जानेलाई मात्र अनुमति

भैरहवा र परासी — कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि अति जरुरी कामबाहेक रूपन्देहीको बेलहिया–सुनौली नाका हुँदै भारत जानेलाई दशगजाबाट फर्काउन थालिएको छ । घरायसी प्रयोजनका सामान किनमेल गर्न सीमावर्ती भारतको सुनौली बजारमा दैनिक नेपालीको भीड लाग्ने गर्थ्यो । किनमेल गर्न जाने र फर्किने नेपालीको अत्यधिक चापले गर्दा भारतबाट आउने सबै यात्रुको ज्वरो मापन र विवरण संकलन प्रभावित भएपछि किनमेलमा जान रोक लगाइएको हो ।

किनमेललाई नाका पारि जान रोक

अनावश्यक कामले भारततर्फ जाने यात्रुलाई नेपाली सुरक्षाकर्मीले शुक्रबारदेखि सिमानामै रोक्न थालेका छन् । नेपाली सुरक्षाकर्मीले भारतबाट नेपाल आउने यात्रुमाथि पनि कडाइ गर्न थालेपछि सुनौली नाकामा आवागमन गर्ने यात्रुको भीड कम हुन थालेको छ, जसले गर्दा नाकाबाट आवागमन गर्ने यात्रुको व्यवस्थापन गर्न सहज भएको सुरक्षाकर्मीले बताए । ‘अत्यावश्यक कामबाहेक र विशेष गरी सामान किनमेल गर्न भारततर्फ जाने यात्रुलाई रोकिएको छ,’ सिमानास्थित हेल्थ डेस्कमा कार्यरत प्रहरी जवान भीमबहादुर परियारले भने, ‘आवश्यक कामका लागि भारततर्फ जान खोज्ने यात्रुलाई भने प्रमाणका आधारमा जान दिइएको छ ।’

सामान किनमेल र अनावश्यक कामका लागि भारततर्फ जान खोज्ने यात्रुलाई नियन्त्रण गर्न सिमानामा भारतका तर्फबाट तैनाथ एसएसबीका सुरक्षाकर्मीले पनि साथ दिएको सुरक्षाकर्मीले बताए । भारतीय सुरक्षा निकाय, सरकारी र निजी कम्पनीमा कार्यरत कर्मचारी, विद्यार्थी, उपचार, बैंकिङ, अध्ययन र औषधि किनमेल गर्न जानेलाई प्रमाण देखाएर भारततर्फ जान अनुमति दिइएको छ ।

भारतबाट नेपाल आउने भारतीय नागरिकको हकमा विमान टिकट भएका, भन्सार प्रयोजन, र आँखाको शल्यक्रिया गर्नेजस्ता जरुरी काम बाहेक अन्यलाई रोक लगाइएको छ । भारतमा रोजगारीका लागि गएर फर्केका नेपालीलाई भने आउन दिइएको छ । सामान किनमेलको नाममा सुनौली पुग्ने नेपाली उपभोक्ताको भीडलाई निरुत्साहित गर्न भारतीय सुरक्षा निकाय एसएसबीका सुरक्षाकर्मीले किनमेल गरेको सामानसहित नेपाल फर्केका यात्रुलाई सिमानामै सामानको खानतलासी गर्न थालेका छन् । एउटै उपभोक्ताले धेरै सामान ल्याएको र बिलबिनाका सामान ल्याएको पाइएमा नेपाल आउनमा रोक लगाई भारतीय सुरक्षाकर्मीले सामान फिर्ता गर्न लगाउने गरेका छन् ।

कोरोनाको संक्रमण भारतमा बढ्दै जान थालेपछि र विभिन्न सहरमा लकडाउन हुन थालेपछि भारतमा रोजगारी गर्ने नेपालीको फर्कने क्रम बढ्न थालेको हो । तिलोत्तमा नगरपालिका–३, सेमरी घर भएका लालबहादुर थारूसहित चार जनाको समूह भारतको चेन्नाईमा लकडाउन हुन थालेको भन्दै शुक्रबार नेपाल प्रवेश गरेको छ । ‘पहिलाको लकडाउनमा उतै फसेकाले निकै दुःख पाइयो,’ नाकामा रहेको हेल्थ डेस्कमा ज्वरो मापन गर्दै गरेका उनले भने, ‘यसपालि भने लकडाउन हुनु पहिल्यै नेपाल फर्केका छौं ।’ केही दिनअघि सम्पन्न त्यहाँको स्थानीय तहको निर्वाचनको परिणाम आउँदो मे २ तारिखमा आउने र त्यसलगत्तै चेन्नाईमा लकडाउन हुने दाबी उनले गरे । ‘चेन्नाईमा रहेका अन्य नेपाली परिवार पनि नेपाल आउने तयारीमा छन्,’ उनले भने ।

नाकामा मनोमानी

पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा आवतजावत रोक्न सशस्त्र र नेपाल प्रहरी त्रिपाल टाँगेर बसेका छन् । निगरानी बढे पनि सर्वसाधारणको आउजाउमा भने कमी आएको छैन । विभिन्न बहाना बनाउँदै सीमा वारपार गर्ने क्रम निर्वाध छ । मालबाहक सवारी साधनलाई सिमाना खुला छ । त्यसबाहेक दशगजा क्षेत्रमा आवातजावतमा रोक लगाइएको छ । यहाँका सिमानाकाबाट खुलमखुला मानिस आवातजावत गरिरहेका छन् ।

कोरोना कहरको कारण बन्द गरिएको सीमा नाकाको मुख्य नाका महेशपुरबाहेक अन्य छोटी भन्सारका नाका झुलनिपुर, विष्णुपुरा, भुजहवा अघोषित रूपमा खुला रहेका छन् । सिमानाका बन्द भएको केही दिन कोरोना कहरका कारण काम बन्द गरेको भए पनि अहिले धमाधम आउजाउ चलिरहेको छ । ‘कोरोनाले गर्दा काम सबै बन्द भयो । घरखर्च पनि कसरी चलाउने, मुस्किल हुन थाल्यो,’ पाल्हीनन्दन–१ का सन्तोष तेलीले भने, ‘नेपालमा भन्दा भारतमा सामान धेरै सस्तो छ । मूल बाटोमा सुरक्षाकर्मीले रोक लगाए पनि भित्री नाकाबाट ओहोरदोहोर भइरहेको छ ।

नेपालमा मजदुरी पनि गर्न पाइँदैन, भारतमा काम पाउन पनि सजिलो छ । ज्यानको मायाभन्दा पनि परिवार भोकभोकै राख्न सकिएन ।’ कोरोनाका कारण नियमित रोजगारीबाट वञ्चित भएका युवा अहिले चोरी नाकाबाट खाद्यान्न, कपडा र विद्युतीय उपकरण ओसारपसारमा लागेका छन् । कुखुरा, लत्ताकपडा भन्सार छली गरेर ल्याउने र जिल्लाका विभिन्न स्थानमा पुर्‍याउने गिरोह सक्रिय छ । कागजमा मात्र बन्द रहेको नाकामा मानिसहरू ओहोरदोहोर गरिरहे पनि सीमा सुरक्षामा तैनाथ सुरक्षाकर्मीका अधिकारीहरू भने सीमा पूर्ण रूपमा बन्द रहेको दाबी गर्छन् । सशस्त्र प्रहरी बल २६ नम्बर गणका एससी महेश अधिकारीले नाका पूर्ण रूपमा बन्द रहेको बताए ।

नगरपालिका र विद्यालय बन्द

कपिलवस्तुको महाराजगन्ज नगरपालिका कार्यालय एक साताका लागि बन्द गरिएको छ । कार्यालयका एक अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउँदै शुक्रबारदेखि वैशाख १६ गतेसम्म कार्यालय बन्द गरिएको हो । उनीसँग नजिकको सम्पर्कमा रहेका ६ कर्मचारीको शुक्रबार स्वाब लिएर एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ रिपोर्ट आएकाहरूको संक्रमण पुष्टिका लागि शुक्रबार पुनः पीसीआर गर्न जिल्ला अस्पतालद्वारा तौलिहवामा सञ्चालित ल्याबमा स्वाब दिइएको छ ।

कार्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवाबाहेक सबै सेवा बन्द गरिएको स्वास्थ्य शाखा संयोजक राधेश्याम जयसवालले बताए । ‘कार्यालयभित्रै संक्रमणको जोखिमले सचेतना अपनाउनुपर्‍यो,’ उनले भने, ‘नभए अवस्था जटिल हुन्छ ।’ त्यस्तै नगरपालिकाको वडा ९ को वडा कार्यालय र सबै विद्यालय पनि वैशाख १६ गतेसम्मका लागि बन्द गरिएको छ ।

प्रकाशित : वैशाख ११, २०७८ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?