संक्रमण बढ्न थालेपछि सुनौली नाकामा कडाइ

माधव ढुंगाना

भैरहवा — कोरोनाको संक्रमणको क्रम बढ्न थालेपछि सुनौली–भैरहवा सीमा नाकाबाट हुने आवतजावतमा कडाइ गर्न थालिएको छ । सिमानामा तैनाथ नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले अत्यावश्यक काम बाहेक हुने आवागमनलाई निरुत्साहित गर्न सिमानामा कडाइ गर्न थालेका हुन् ।

संक्रमण बढ्न थालेपछि सुनौली नाकामा कडाइ

नेपाली सुरक्षाकर्मीले भारततर्फ जान खोज्ने सम्पूर्ण यात्रुलाई सिमाना पुग्नु अगावै रोकेर सोधपुछ गर्दै जरुरी काम बाहेक अन्यलाई भारत जानमा रोक लगाउन थालेका छन् । जरुरी काम भएकाको पनि प्रमाणको आधारमा मात्र छाड्ने गरिएको छ ।

नेपालबाट गएका यात्रुलाई आफ्नो देशमा प्रवेश दिनु अगावै सिमानामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले लाइनमा लगाएर सोधपुछ र परिचयपत्रको आधारमा भारत जानु पर्ने कारणको प्रमाण खोज्ने गर्छ । सिमानामा कडाइ गर्न थालिएपछि घरायशी प्रयोजनको सामान किनमेल गर्ने भन्दै सिमावर्ती भारतको सुनौली बजार जाने नेपाली उपभोक्ताको भीड नियन्त्रण हुन थालेको छ ।

‘नेपालमै पाइने सामान नकिनेर भारतमा किनमेल गर्न जाने नेपालीलाई सिमानाबाटै फर्काइदिन थालेका छौं,’ सिमानामा तैनाथ नेपाली एक प्रहरीले भने, ‘यसको मुख्य कारण भनेको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नु हो ।’ उनका अनुसार सामान किनमेलको नाममा सुनौली बजार पुग्ने नेपालीको भीडले गर्दा भारतबाट आउने सबै यात्रुको ज्वरो मापन र विवरण लिन सकिएको थिएन । उनका अनुसार भारतीय सुरक्षा निकाय, सरकारी र निजी कम्पनीमा कार्यरत कर्मचारी, विद्यार्थी, उपचार, बैंकिङ, अध्ययन र सामान्य औषधि किनमेल गर्न जानेलाई प्रमाण देखाएर भारततर्फ जान अनुमती दिइएको छ ।

भारतबाट नेपाल आउने भारतीय नागरिकको हकमा विमान टिकट भएका, भन्सार प्रयोजन, र आखाको शल्यक्रिया गर्ने जस्ता जरुरी काम बाहेक अन्यलाई रोक लगाइएको छ । भारतबाट फर्केका नेपाली भने सबैलाई आउन दिइएको छ ।

सामान किनमेलको नाममा सुनौली पुग्ने नेपाली उपभोक्ताको भीडलाई निरुत्साहित गर्न भारतीय सुरक्षा निकाय एसएसबीका सुरक्षाकर्मीले किनमेल गरेको सामानसहित नेपाल फर्केका यात्रुलाई सिमानामै सामानको खनतलासी गर्न थालेका छन् । एउटै उपभोक्ताले धेरै सामान ल्याएको र बिना बिल सामान ल्याएको पाइएमा नेपाल आउनमा रोक लगाइ भारतीय सुरक्षाकर्मीले सामान फिर्ता गर्न लगाउने गरेका छन् ।

प्रकाशित : वैशाख १०, २०७८ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?