कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नौमुरेबाट ७ वर्षमा २८१ मेगावाटको लक्ष्य

वीरेन्द्र केसी

अर्घाखाँची — सात वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित नौमुरे जलविद्युत् आयोजनाको काम सुरु भएको छ । प्यूठानसँग सीमा जोडिएको अर्घाखाँची शीतगंगा–६ नौमुरेमा कार्यालय स्थापना गरेर काम सुरु भएको हो । यसै आर्थिक वर्षभित्र अध्ययन, सर्भे डिजाइन, बाँधस्थलसम्म सडक निर्माण, डुबान क्षेत्र छुट्याउने काम हुने बताइएको छ ।

नौमुरेबाट ७ वर्षमा २८१ मेगावाटको लक्ष्य

दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । वातावरण मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईई) पुगिसकेको छ । चैत २९ गते ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नौमुरे नजिक लामातालमा नौमुरे बहुउद्देश्यीय आयोजनाको कार्यालय उट्घाटन गरेका थिए । विद्युत् विकास विभागका अनुसार अहिले एक परियोजना संयोजक, एक आयोजना प्रमुख, चार इन्जिनियरसहित आठ जना कर्मचारीले काम सुरु गरेका छन् । विद्युत्का लागि आवश्यक ठाउँ निर्धारण गरी जग्गाको मुआब्जा दिने, बाटो निर्माण गर्ने, सर्भेसहित अध्ययनको सबै काम यसै आर्थिक वर्षभित्र पूरा हुने विभागका महानिर्देशक नवीनराज सिंहले बताए । त्यसका लागि सवा करोड रुपैयाँ खर्च गरिने उनले बताए ।

२०४४ सालमा तत्कालीन सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । अहिले बढेर २ सय ८१ मेगावाट निकालिने बताइएको छ । जसअनुसार नौमुरे बाँधमा २ सय १८, त्यसदेखि तल पानी सञ्चित गरेर तामातालमा ८ मेगावाट र कपिलवस्तुमा पानी लैजाँदै गर्दा भर्टिकल गरेर ५५ मेगावाट विद्युत् निकालिने सिंहले बताए । ‘काम सुरु भएको सात वर्षभित्र सबै काम सकेर विद्युत् उत्पादन हुन्छ,’ उनले भने, ‘नौमुरेमा काम सक्न १ खर्ब २८ अर्ब रुपैयाँ खर्च हुनेछ । सरकारले बर्सेनि १८ अर्ब नियमित बजेट उपलब्ध गराएमा समयमै काम पूरा गर्न सकिन्छ ।’ नौमुरे जलविद्युत् सञ्चालन भएपछि विद्युत्बाटै वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी हुने उनले बताए । यहाँ विद्युत् उत्पादन मात्रै नभएर पर्यटक क्षेत्र, माछापालन, सिँचाइलगायतबाट पनि स्थानीयले मनग्य आम्दानी लिन सक्छन् ।

नौमुरेको पानी सिक्टा, फत्तेपुरसहित दाङका चारवटा सिँचाइ आयोजनामा पुगेपछि बल्ल कपिलवस्तुलाई सिँचाइका लागि पानी लगिनेछ । कपिलवस्तुको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने गरी नौमुरेको पानी जाने सिंहले बताए । ‘आउँदो आर्थिक वर्षमा बजेट परेपछि टेन्डर गरेर पूर्वाधारको काम गरिनेछ,’ उनले भने, ‘नौमुरेमा विद्युत् निकाल्ने मात्रै नभएर यस परियोजनाले स्थानीयलाई अन्य क्षेत्रमा पनि फाइदा पुग्छ ।’

लामातालमा नौमुरे बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयमा खुसियाली छाएको छ । २०४४ सालमा डिटेल सर्भे गरेर बाँधको ड्यामसमेत निर्माण भएको थियो । अहिले ती संरचना हराएका छन् । लामातालसहित गाउँमा अहिलेसम्म विद्युत् सेवा छैन । नौमुरे परियोजना सञ्चालन भएपछि जंगल क्षेत्रको दुर्गम बस्तीको मुहार फेरिनेमा स्थानीय आशावादी छन् । स्थानीय अगुवा जुनबहादुर पुलामीले सरकारको आँखा पुग्न नसकेको जलुकेमा जलविद्युत् सञ्चालन भएपछि गाउँमा आर्थिक कारोबार बढ्ने र विकासमा फड्को मार्ने आशा रहेको बताए । ‘धेरै स्थानीय दुर्गममा सेवा सुविधा नभएकाले बसाइँसराइ गरेर तराई झरेका छन्,’ उनले भने ।

विद्युत् उत्पादनसँगै यहाँ पर्यटकीय क्षेत्र बन्ने सम्भावना छ । बस्तीभन्दा जंगल क्षेत्र धेरै छ । नौमुरे र लामातालमा ड्याम स्थलमा ताल बनाउने, माछापालनसहित उत्पादन बढ्नेछ । नौमुरे ड्याम स्थलमा १८ वर्गकिमि र लामातालमा ५ वर्गकिमि क्षेत्रफलमा ताल बन्ने विद्युत् विकासले जनाएको छ । चारैतिर हरियाली डाँडासहितको जंगल र बीचमा नदी भएकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा संरचना बनाएर विकास गरिने ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए । ‘ताल बनेपछि धेरै पर्यटक आउँछन्,’ उनले भने, ‘टुरिजम डेभलपमेन्टको प्लान पनि छ । माछापालन क्षेत्र हुन्छ, अन्य संरचना निर्माण गरेर पर्यटक भित्र्याउने हो ।’

यहाँबाट भालुवाङ गाडी यात्रामा ३० मिनेटमा पुगिन्छ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रसँग नौमुरे जोडिएकाले पनि यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने उनले बताए । उनले विद्युत्को पूर्वाधारको काम गर्न बजेट भाषणमै सम्बोधन गरेर आवश्यक बजेट पारिने बताए । बर्सेनि बजेट पारेर समयावधिभित्रै काम सम्पन्न गरेर विद्युत् उत्पादन गरिने रायमाझीले दाबी गरे । लुम्बिनी आएका पर्यटकलाई नौमुरे ल्याउने, प्यूठानको स्वर्गद्वारी हुँदै अर्घाखाँचीसहित पहाडी जिल्ला भ्रमण गराइने उनले दाबी गरे ।

प्रकाशित : वैशाख ९, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?