जितगढीमा कर्णेल उजिरसिंहको सम्झना

रूपन्देही — अंग्रेजसँगको युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक किल्ला जितगढीमा बुटवल उपमहानगरपालिकाले मंगलबार विविध कार्यक्रम गरेको छ ।

जितगढीमा कर्णेल उजिरसिंहको सम्झना

कोभिड संक्रमण बढ्दै गएपछि सम्पदा स्थलमा सामान्य कार्यक्रम गरी जितगढी उत्सव मनाइएको हो । उपमहानगरले वैशाख ७ गतेलाई जिगतढी उत्सवका रुपमा मनाउँदै आएको छ ।

वि.सं. १८७२ वैशाख ७ गतेका दिन नेपालले अंग्रेज सेनालाई पराजित गरेको थियो । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढीमा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहितका अंग्रेज फौजलाई पराजित गरेको थियो । सोही दिनको स्मरण गर्दै कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण, सहिदको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाली सेनाका रामचन्द्र शर्मालगायतले कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरेका थिए । उपमहानगरले जितगढी किल्ला संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउने गरी गुरुयोजना तयार गरिरहेको छ । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको उपप्रमुख आचार्यले बताइन् । किल्लामा तत्कालीन अवस्थाको झल्को दिने खालको कलात्मक गेट, सैनिक पोसाकमा कर्णेल उजिरसिंहको अर्धकदको सालिकलगायत संरचना बनाइने भएको छ ।

प्रकाशित : वैशाख ९, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?