बुटवलका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द- लुम्बिनी - कान्तिपुर समाचार

बुटवलका सबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द

अमृता अनमोल

बुटवल — कोरोना संक्रमण भयावह बन्दै गएपछि बुटवल उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । 

बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै वैशाख ९ गतेबाट वैशाख मसान्तसम्मका लागि सबै शैक्षिक संस्थाहरु बन्द गर्न आग्रह गरेको छ । ‘कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरिएको छ,’ उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत चक्रपाणी शर्माद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

भौतिक रुपमा बन्द भएका विद्यालयहरुले पनि वैपल्पिक माध्यमबाट कक्षा लिन सक्ने र शैक्षिक गतिविधि गर्न सक्ने नगरपालिकाको विज्ञप्तिमा उल्लेख छ । उपमहानगरले कक्षा ८ को पालिकास्तरीय परीक्षासमेत स्थगित गरेको छ । पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान् सम्मका लागि स्थगित गरेको जनाएको छ ।

पठनपाठन बन्द भए पनि विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने उपमहानगरपालिकाले जनाएको छ ।



प्रकाशित : वैशाख ८, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन् ।

लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएकाले उपचार भइरहेको पश्चिम नवलपरासी जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्ले बताए ।

अहिले विज्ञसहितको टोलीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।

गिद्ध मरेको स्थानमा दुई वटा कुकुरका शव खुला स्थानमा र थप दुई वटा कुकुरको शव बोरामा राखिएको अवस्थामा भेटीएकाले विषादी प्रयोग गरेर कुकुर मारिएको र कुकुरको सिनो खाना गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोप हुन लागेको गिद्ध एकै पटक ठूलो संख्यामा मृत अवस्थामा भेटिनु ठूलो क्षति भएको पक्षी संरक्षणविद् डीबी चौधरीले बताए ।


प्रकाशित : वैशाख ८, २०७८ १६:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×