जागिर छाडेर कृषिमा रम्दै- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिर छाडेर कृषिमा रम्दै

वार्षिक ४५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–६, पक्वैका ३३ वर्षीय वसन्त चौधरीले ११ वर्षसम्म विभिन्न संघसंस्थामा उद्यम विकास सहजकर्ताको जागिर खाए । मुख्य विषय नेपाली लिएर बीएड उत्तीर्ण गरे । शिक्षण अनुमतिपत्र लिए । समाजशास्त्रमा स्नातकोत्तर भर्ना भए ।

शिक्षाशास्त्र पढेर शिक्षक बन्ने या संघसंस्थामा जागिर खाने उनको लक्ष्य थियो । तर, चार वर्षअघि उनको योजना एकाएक मोडियो । पढ्दापढ्दै र जागिर गर्दागर्दै उनी कृषितिर आकर्षित भए । उद्यम विकास सहजकर्ता भएर किसानलाई सहजीकरण गर्दा उनी आफैंलाई व्यावसायिक कृषिकर्म गर्न मन लाग्यो । त्यसपछि उनी जागिर र पढाइ छोडेर कृषिकर्ममा लागेका हुन् ।

चार वर्षदेखि उनी व्यावसायिक तरकारी खेतीमा छन् । ‘लामो समय किसानलाई तालिम दिइयो । किसानका बारीमा पुगेर अध्ययन, अवलोकन गरियो,’ चौधरीले भने, ‘किसानको काम देखेर आफैंलाई पनि त्यही कर्म गर्न हौसला मिल्यो अनि जागिर र पढाइ छोडेर पूर्णकालीन कृषिकर्ममा लागें ।’ उनले अहिले पक्वैमा डेढ बिघा आफ्नै जग्गामा काउली, टमाटर र बन्दागोभीको खेती गरेका छन् । दुई वर्षदेखि लमही नगरपालिका–८ सतबरियामा पनि पाँच बिघा जमिन भाडामा लिएर खुर्सानी, काँक्रा, तरबुजा र टमाटर खेती गरिरहेका छन् । चार जनालाई नियमित रोजगारी दिएका छन् । तरकारी रोप्दा र टिप्दा २० जनाजतिले काम पाउँछन् । उनी दाङ र देउखुरी दिनहुँ ओहोरदोहोर गरिरहन्छन् ।

उनले अहिले वार्षिक ४५ लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्छन् । जसबाट ५८ प्रतिशत आम्दानी हुने गरेको उनले बताए । उनी अहिले पनि राम्रो खेती गरेका किसानका बारीमा पुगेर सिक्छन् । ‘अहिले पनि कसरी राम्रो खेती गर्न सकिन्छ भनेर नियमित सिकिरहेको छु,’ उनले भने, ‘सिकाइबाट उत्पादन वृद्धि गर्न सहयोग मिल्छ ।’ बजारको समस्या छैन, बारीमै गाडी लिएर खरिद गर्न आउँछन् । लकडाउनको समयमा बिक्री नभएपछि भने उनी गाडी रिजर्भ गरेर घरघरमै बिक्री गर्न हिँडेका थिए । अहिले उनलाई तरकारी बिक्रीमा कुनै समस्या छैन ।

पहिले उनको खेतबारीमा धान र मसुरो मात्रै खेती हुन्थ्यो, जसबाट मुस्किलले वार्षिक ३० हजार रुपैयाँ बच्थ्यो । अहिले व्यावसायिक तरकारी खेती सुरु गरेपछि उनको उत्पादन लाखौंमा पुगेको छ । आधुनिकीकरण गर्दै व्यावसायिक खेती गरेमा राम्रो आम्दानी गर्न सकिने उनले सुझाए । सुरुमा उनलाई यति धेरै पढेलेखेको, जागिरे मान्छे किन सबै छोडेर कृषिमा लागेको होला भनेर छिमेकी र साथीभाइले अनौठो मान्थे । अहिले भने सबै उनको कामदेखि दंग परेका छन् । उनले आफूमात्रै होइन, पढेलेखेकी बहिनीलाई समेत कृषिमै लगाएका छन् । बहिनी सुनिता चौधरीले बीबीएस पढेकी छन् ।

बहिनीलाई उनले सहकारीमार्फत कृषिको तालिम लिन चार वर्षअघि इजरायल पठाए । ११ महिनाको तालिम लिएर आएपछि सुनिता पनि पूर्णरूपमा दाइलाई सघाउँदै कृषिमै लागेकी छन् । बीउ नपाउनु, चाहेको ठाउँमा जग्गा भाडामा नपाउनु, सरकारी अनुदान वास्तविक किसानले नपाउनु, प्रविधिको प्रयोग नहुनुजस्ता समस्या भए पनि कृषिमा सम्भावना राम्रो रहेको चौधरीले बताए । ‘व्यावसायिक खेती गर्नेले राम्रो आम्दानी गर्न सक्छ । पढेर जागिर मात्रै खानुपर्छ भन्ने छैन,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्

अझै घटेनन् हलियाका दुःख

‘मुक्ति कागजमा घोषणा गरियो, सरकारले वास्ता नगर्दा हाम्रो जिन्दगी झन् कष्टपूर्ण बनेको छ’
कान्तिपुर संवाददाता

सुर्खेत — वीरेन्द्रनगर नगरपालिका–९ का जंकु चौधरीसँग आफ्नो जग्गा नहुँदा झन्डै २० वर्ष जमिनदारको घरमा हलिया बसे ।

हलिया प्रथा मुक्त भए पनि अहिले उनी गाउँका अरू जमिनदारका जग्गा जोतेर जीविकोपार्जन गर्छन् । उनका छिमेकी शान्ति चौधरीलाई हलियाबाट मुक्त भएपछि पनि परिवारको खर्च धान्न समस्या भएको छ ।

सरकारले २०६५ मा हलिया प्रथा मुक्त गरे पनि मुक्त हलिया जीविकोपार्जनकै समस्यामा छन् । ‘मुक्ति कागजमा घोषणा गरियो, सरकारले वास्ता नगर्दा हाम्रो जिन्दगी झन् कष्टपूर्ण बनेको छ,’ जंकुले भने, ‘ठूलो परिवार भएकाले जनता आवास कार्यक्रमले बनाएको घरमा बस्न मुस्किल छ, परिवारको खर्च धान्नै धौधौ भयो ।’ सरकारले विकल्प नदिएरै मुक्त घोषणा गर्दा आफूहरूले दुःख पाएको उनको गुनासो छ । जमिनदारले तिमीहरू मुक्त भइसक्यौ भनेपछि आफूहरूलाई काम पाउन मुस्किल भएको शान्तिले बताए । ‘एक गाँस राम्ररी खान पनि मुस्किल छ,’ उनले भने, ‘हाम्रा दुःख कहिल्यै गएनन् ।’ बाबुबाजेले जमिनदारको घरमा काम गर्ने बेला लिएको ऋण तिर्न पनि हम्मेहम्मे भएको उनले बताए । सरकारले हलियामुक्त गर्दा उनीहरूले लिएको ऋण तिर्न नपर्ने भने पनि जमिनदारले तिर्न बाध्य बनाएको मुक्त हलियाको भनाइ छ । पुर्खाहरूले लिएको ऋण तिर्न नसक्दा हलियाकै काम गर्न बाध्य भएको स्थानीय कमल थारूले बताए । ‘परिवार पाल्न अर्को इलम पनि छैन,’ उनले भने, ‘सरकारले कुनै सहयोग नगर्दा छोराछोरीलाई पढाउनै सकेका छैनौं ।’

पहिले जोतेरै खान पुगेको भए पनि अहिले परिवार पाल्न समस्या भएको जाजरकोटका मुक्त हलिया अमृत विकले बताए । ‘मुक्ति भन्ने शब्दले जमिनदारले पनि आफ्नो मान्न छोडे,’ उनले भने, ‘सरकारले घर निर्माण त गरिदियो, तर छाउगोठजस्ता घरमा कसरी बस्नु ?’ उनका अनुसार जाजरकोटमा ४ सय ४१ जनामध्ये २ सय १ जना हलिया परिचयपत्र लिएका छन् । परिचयपत्रको कुनै उपयोग नभएको उनले बताए ।

मुक्त हलिया समाजका केन्द्रीय महासचिव पर्वत सुनारले कागजमा मात्र हलिया मुक्त भएको बताए । उनका अनुसार कर्णालीमा २ हजार ८ जना हलिया मुक्त भएका छन् र ३ सय ८२ जनासँग ‘क’ वर्गको परिचयपत्र छ ।

प्रकाशित : वैशाख ८, २०७८ १२:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×