कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुथाउत्तरगंगाका सबै वडा सचिवविहीन

वडादेखि गाउँपालिकाको कामकाज प्रभावित

रुकुम पूर्व — १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन् । वडासचिवको जिम्मेवारी लामो समयदेखि सम्बन्धित वडाका स्वास्थ्यकर्मीले निर्वाह गरिरहेका छन् ।

२०७३ फागुनयता केही समय चार वडामा सचिव थिए । पछिल्लो एक वर्षदेखि सबै वडा सचिवविहीन बनेका हुन् । गाउँपालिकामा पनि कर्मचारी अभाव छ । वडासहित गाउँपालिकामा ६० जनाको दरबन्दी छ । तर हाल गाउँपालिकामा ६ जना मात्रै कर्मचारी छन् । ती पनि शाखाका कर्मचारी हुन् । एक जना कर्मचारी हाजिर भएको दुई दिन भयो । गाउँपालिकाको कृषि शाखामा एक, पशु सेवामा एक, शिक्षा शाखामा एक, कम्युटर सहायक चौथो एक, खानेपानी सब टेक्निसियन एक र लेखापाल एक जना छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि निमित्त छन् । झण्डै डेढ महिनायता यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा प्राथमिक स्वास्थ्य केन्द्र कोलका प्रमुख वशिष्ठनारायण यादवलाई दिइएको छ । उनी जनस्वास्थ्य निरीक्षक छैटौं तहका हुन् । यादवले आर्थिक अख्तियारीसहितको कामकाज थालेका छन् । सुरुवातदेखि केही कर्मचारी करारमा नियुक्त गरेर कामकाज गराइएको छ ।

कर्मचारी नहुँदा वडादेखि गाउँपालिकासम्मको कामकाज प्रभावित भएको छ । एउटा वडाको सर्वसाधारण सचिव खोज्दै स्वास्थ्य चौकी भएको ठाउँसम्म पुग्नुपर्दा समस्या भइरहेको छ । पुथाउत्तरगंगा–२ का हर्कबहादुर बुढाले पञ्जीकरणको कामका लागि अर्को वडामा जानुपर्ने बाध्यता रहेको बताए । १ नम्बर वडामा रहेको स्वास्थ्य चौकी इन्चार्जले १, २, ३ र ४ नम्बर वडाको पञ्जीकरणको काम गर्ने जिम्मेवारी पाएका छन् । पुथाउत्तरगंगा–१२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले कर्मचारी अभावमा वडादेखि गाउँपालिकासम्म समस्या भइरहेको बताए । स्थानीय तह सञ्चालनमा आएदेखि नै वडा र गाउँपालिकाले कर्मचारीको समस्या भोग्दै आएको उनले बताए । साबिकको मैकोट, हुकाम, जाङ, तकसेरा, राङसी गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । साबिकका स्वास्थ्य चौकी पनि साबिकका गाविसमै छन् । यसैले पनि पञ्जीकरणको काम गर्न सर्वसाधारण अर्को वडामा जानुपर्ने बाध्यता छ । घरनजिकको सरकार भनिए पनि वडा कार्यालयबाट सेवा नपाई स्वास्थ्य चौकीसम्म जानुपर्ने बाध्यता रहेको पुथाउत्तरगंगा–९ का भीमबहादुर रोकाले दुखेसो गरे ।

गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले पुथाउत्तरगंगा गाउँपालिकालाई सबैतिरबाट हेपिएजस्तो महसुस भइरहेको बताए । सुरुवातदेखि नै गाउँपालिकाले कर्मचारी नपाएको उनको भनाइ छ । ‘कर्मचारी आउँदै नआउने समस्या छ । आए पनि बस्दै नबस्ने भएपछि जनता र हामी आफैंले पनि दुःख पाइरहेका छौं,’ उनले भने, ‘हरेक बैठकबाट कर्मचारीको माग हुन्छ तर पूर्ति कहिल्यै भइरहेको छैन ।’ लोक सेवा आयोगदेखि प्रदेश र संघ सरकारसँग पटक–पटक कर्मचारीका लागि हारगुहार गर्दा पनि त्यो आवाज नसुनिएकामा उनले गुनासो गरे । कर्मचारी नआएपछि करारमा नियुक्त गरेरै भए पनि काम चलाउनु परेको उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?