१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

युवा रोक्न गाउँमै कृषि पढाइ

४५ जनालाई निःशुल्क तीनवर्षे बाली विज्ञान पढाइँदै

गुल्मी — वैदेशिक रोजगारीमा युवा शक्तिको मोहका कारण गाउँमा खेतबारी बर्सेनि बाँझिने क्रम बढेपछि युवालाई गाउँमै रोक्न कृषि विषय पढाउन थालिएको छ ।

युवा रोक्न गाउँमै कृषि पढाइ

मालिका गाउँपालिकाले ४५ जना विद्यार्थीलाई निःशुल्क तीनवर्षे बाली विज्ञान पढाउन थालेको हो । मालिका–८ को मालिका माविले यही विषय पढाउन डेढ वर्षअघि शैक्षिक एवं धार्मिक महोत्सव लगाएर ४८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमा पालिकाले सघाएपछि गत वर्षदेखि बाली विज्ञान पढाइ सुरु भएको हो ।

गाउँमा आधुनिक खेती प्रणाली अपनाएर थोरै जग्गामा धेरै उत्पादन गर्न घरैपिच्छे कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले पढाइ सुरु गरिएको गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीले गाउँमै निःशुल्क बाली विज्ञान पढ्न पाएका छन् । ‘हामीले भाषणमा भैंसी पाल, कृषि गर भनेर मात्रै भएन,’ उनले भने, ‘मलजल मिलाउन, रोगबाट बाली जोगाउन, थोरै जग्गामा धेरै उत्पादन गर्न पहिला सैद्धान्तिक ज्ञान भएपछि सहज हुन्छ ।’

गाउँपालिकामा विभिन्न तरकारी, मसलाबाली, पशुपालन लगायत फार्म खोल्न सकिने उनको भनाइ छ । उनले भने, ‘कृषि उद्यमबाट गाउँलाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य हो । विद्यार्थी र अभिभावक उत्साहित छन् ।’ विद्यार्थीलाई गाउँमा परिचालन गरेर स्थानीयलाई उत्पादनमा जोड्ने थापाले बताए । विद्यार्थीले पढेर सिकेपछि घरमा अभिभावकलाई तरकारी उत्पादन गर्न सिकाएको प्रधानाध्यापक हेमराज पौडेलले बताए । ‘गाउँमा कृषि उत्पादन बढ्दो छ,’ उनले भने । युवाशक्ति बाहिरिंदा गाउँको खेतबारी बाँझिएको थियो । कृषि पढाइले बाँझो बारी नराखी युवालाई कृषि उत्पादनमा जोड्न मद्दत पुग्ने उनले बताए ।

एक वर्षदेखि बाली विज्ञान पढेका विद्यार्थीले तरकारी, अन्नबाली खेती, थोरै जग्गामा धेरै उत्पादन, रोगकिराबाट जोगाउने उपायका बारेमा कक्षामा पढ्ने र विद्यालयको खेतमा सिक्ने गर्छन् । अहिले यहाँ पढ्दै गरेका विद्यार्थीका हातमा कापी–किताबसँगै कुटो–कोदालो पनि हुन्छ । उनीहरूले च्याउ, गोलभेडा, मकै, तरकारीलगायत खेती गर्नेबारे सिक्दै आएका छन् । विद्यालयले सिमलटारीमा २० रोपनी खेत किनेर विद्यार्थीलाई सिकाउदै आएको छ ।

विद्यालयमा सिकेपछि घरमा कृषि उत्पादन गरेर बिक्री गर्न सुरु भइसकेको छ । ‘हामी किसानका छोराछोरी हौं, खेती कसरी गर्ने तरिका पढ्दै र सिक्दै गर्दा धेरै जानिंदो रहेछ,’ विद्यार्थी अंकिता खत्रीले भनिन्, ‘च्याउ, तरकारी खेती गरेर पनि पढ्न सकिन्छ ।’ बीउ माटोमा कसरी रोप्ने, रोगकिराबाट बचाउने उपाय, थोरै जग्गामा धेरै फलाउनेबारे पढ्दै प्रयोगात्मक रूपमा सिकेपछि बल्ल कृषि कर्म गर्न सकिने अंकिताले बताइन् । पढाइमा सिकेपछि भविष्यमा कृषि उद्यम गर्न सकिने अनिल अर्यालले बताए । ‘थोरै जग्गामा धेरै उत्पादन, खेती प्रणालीको तरिका सिकाइन्छ र खेतमा प्रयोगात्मक अभ्यास गरिन्छ,’ उनले भने, ‘कुटो–कोदालो गरेरै कृषिबाटै भविष्य उज्ज्वल पार्न सकिन्छ । जे उत्पादन गरे पनि बिक्री भइहाल्छ ।’

विद्यार्थी ममता लम्सालले पढेर कृषि फार्म खोल्ने योजना सुनाइन् । ‘यत्तिकै खेती गरेर राम्रो उत्पादन हुँदो रहेनछ,’ उनले भनिन्, ‘बालीलाई कसरी जोगाउने र धेरै फलाउने भन्ने सिकिरहेका छौं । यसरी नै सबैले खेती गर्ने हो भने खाद्यान्नमा परनिर्भर हुनुपर्दैन ।’ विद्यार्थीले घरमा र छिमेकीलाई पनि सिकाउन थालेपछि गाउकै कृषि उत्पादन पनि बढेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?