सिद्धबाबा छिचोल्नै मुस्किल- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धबाबा छिचोल्नै मुस्किल

पाइपलाइन बिछ्याउँदा निर्माण व्यवसायीको लापरबाहीले घण्टौं जाम
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–चिडियाखोला (सिद्धबाबा) खण्ड कालोपत्र उप्किएर धुलाम्मे भएको छ । पाँच किलोमिटर यो सडक मर्मत नगर्दा यात्रु धूलोले हैरान भएका हुन् ।

यसले सबैभन्दा बढी मोटरसाइकल र साना गाडीका साथै पैदलयात्रु मारमा परेका छन् । पछिल्लोपटक बुटवल खानेपानी आयोजनाअन्तर्गतका निर्माण व्यवसायीको लापरबाहीले झन् समस्या थपिएको छ । तीन–चारवटा स्काभेटर सडकछेउमा खडा गरेर काम गर्दा यात्रुले घण्टौं जाम भोग्नुपरेको छ । नाली खनेर पाइपलाइन बिछ्याउँदा सडक थप धूलाम्मे भएको हो । ‘घण्टौं जाम र धुलाम्मे सडकले महिनौंदेखि हैरानी खेप्नुपरेको छ,’ सोमबार यही सडक खण्डमा भेटिएका कालीगण्डकी गाउँपालिका गुल्मीका मोटरसाइकल चालक यादव न्यौपानेले भने, ‘नालीबाट पाइप पुर्दा सडकमा पूरै धूलो फालिएको छ ।’

बुटवल खानेपानी र सडक डिभिजन पाल्पाबीचको सहमति अनुसार नाली छाडेर पाइपलाइन बिछ्याउनुपर्छ । अहिलेको सडकमा डेढ मिटर गहिराइमा पाइपलाइन बिछ्याएको छ । निर्माण व्यवसायीले यसअघिको सहमति तोडेर नालीमै खनेर पाइप बिछ्याएका छन्, जसबाट राजमार्ग एकतर्फी भएको छ । दुई महिनायता सडकछेउमा खन्दा यात्रुले सास्ती खेप्नुपरेको हो । जिप चालक श्याम रानाका अनुसार तानसेनबाट बुटवल पुगेर फर्किन मात्र पाँच घण्टाको समय छुट्याउनुपर्छ । अन्य समयमा दुई घण्टामै बुटवल–तानसेन यात्रा गर्न सकिन्थ्यो । दोभान चौकीदेखि चिडियाखोलासम्म पाँच किलोमिटर सडकमा कालोपत्रको नामोनिसान छैन । यही क्षेत्रमा पाइपलाइन बिछ्याउन नाली खनिएको छ । ‘नालीभन्दा बाहिर खन्ने सहमति भएको हो,’ सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्द अधिकारीले भने, ‘अहिले फेरि नाली भत्काउन सजिलो भएर होला त्यहीं खनेर बिछ्याइएको छ ।’ यसले भविष्यमा सडक चौडा गर्दा पानीको पाइपलाइन सडकको बीचमा परेर थप समस्यामा पार्ने उनले बताए ।

यही सडकमा ट्रिपर मात्रै दैनिक एक हजारभन्दा बढी गुड्छन् । चुनढुंगा बोक्ने ट्रिपरका कारण घण्टौं जामको हैरानी बेहोर्नुपर्छ । दोभान नजिकै पैठेडाँडा, हेडबक्समा सडक भासिएर एकतर्फी भएको छ । सवारीसाधन दोहोरो चल्न नसक्दा जाममा पर्छन् । अर्कोतर्फ खानेपानी पाइपलाइन खनेको स्थानमा एकतर्फी भएपछि घण्टौं जामको समस्या थपिएको हो । ‘पाँच किलोमिटर सडक पार गर्न कहिलेकाहीं दुई घण्टा लाग्छ,’ बस चालक कृष्ण खनालले भने, ‘जसले गर्दा भनेको समयमा कहिल्यै गन्तव्यमा पुग्न सकिएको छैन ।’ दोभानदेखि चिडियाखोलामा आरसीसी र अस्फाल कालोपत्रका लागि गत भदौमा ठेक्का भएको हो । तर, अहिलेसम्म निर्माण व्यवसायीले काम सुरु गरेको छैन ।

‘जति स्थानमा ढलान गरिएको छ, त्यसबाहेक सबै कालोपत्र गर्न ठेक्का लागिसकेको छ,’ सडक डिभिजन प्रमुख अधिकारीले भने, ‘धूलाम्मे भयो भनेर गुनासो आएको छ । निर्माण व्यवसायीले ढलानको काम सकेको छ । अब कालोपत्र गर्छ ।’ प्रकृति–धुलिखेल जेभीअन्तर्गत निर्माण व्यवसायीले ठेक्का पाएको हो । निर्माण व्यवसायीले समयमै काम नगर्दा यात्रुले झन् बढी सास्ती खेप्नुपरेको छ ।

सडक डिभिजनले राजमार्गको यही क्षेत्रमा विभिन्न मर्मत तथा अन्य कामको बहानामा हरेक वर्ष पाँच करोडभन्दा बढी बजेट खर्च गर्छ । यस भेगमा गरेको आरसीसी (रिनफोर्समेन्ट सिमेन्ट कंक्रिट) एक वर्ष नहुँदै भत्किसकेको छ । माथिबाट ढुंगा खसेर भत्केको सडक डिभिजनले जनाएको छ । विगतमा अत्यधिक दुर्घटना हुने दोभानको सिद्धबाबा क्षेत्रको पाँच किलोमिटरलाई अझै बढी खतरा छ । सडक डिभिजनलाई खानेपानी आयोजनाले भत्किएका टेवावाल पर्खाल मर्मत, नाली निर्माण र भत्केको कालोपत्र गर्न बजेट दिने सहमति भएको छ । जसअन्तर्गत ३ करोड ७९ लाख रुपैयाँ दिइसकेको खानेपानी आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्ग तराईबाट पहाड जोड्ने छोटो दूरीको राजमार्गमा पर्छ । भारतीय सीमा सुनौलीदेखि १ सय २० किलोमिटरको दूरीमा पोखरा पुगिन्छ । तर, यही सडक समयमा मर्मत नगर्दा वर्षौंदेखि यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । वर्षायाम होस् वा हिउँदमा जहिलेसुकै सिद्धबाबा क्षेत्रमा यात्रु र चालकले सास्ती खेप्नुपर्छ । राजमार्गको चिडियाखोलादेखि २४ माइलसम्म ५० देखि ८० मिटर लम्बाइमा राजमार्ग भासिएको छ । भासिएका स्थानमा यातायातका साधन दोहोरो सञ्चालन गर्न सक्ने अवस्था छैन । अघिल्लो वर्ष भूतखोला र सिद्धबाबा नजिकै सडक भासिएको थियो । भासिएको सडकमा ग्राभेल राख्ने र कटिङ गर्नुपर्ने हुन्छ । यही राजमार्ग भएर बुटवल, भैरहवा, सुनौलीबाट गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्मका सवारी साधन गुड्छन् । सडकमा दैनिक पाँच हजारभन्दा बढी सवारी साधन गुड्छन् ।

अधिकांश चुनढुंगा बोक्ने ट्रिपर र मालवाहक ट्रक गुड्ने भएकाले बढी जाम हुने गरेको दोभान प्रहरी चौकीका प्रमुख सोमबहादुर सारुले बताए । कतिपय स्थानमा सडक भासिंदा यस भेगका यात्रु र सवारी साधन त्रासमा यात्रा गर्न बाध्य भएको उनले बताए । सिद्धार्थ राजमार्गमा यसअघि दुई एक्सलका ६ चक्केभन्दा बढी भार भएका मालवाहक सवारी साधन चल्न पाउँदैनथे । तर, विभागले अहिले सिद्धार्थ राजमार्गमा निर्वाध सबै मालवाहक सवारी साधन चल्न पाउने छुट दिएको छ । तीन एक्सलको १० चक्के, चार एक्सलको १२ चक्के र ४ ट्रेक्टर टेलर १४ चक्केसम्मका मालवाहक सवारी साधन चल्न पाउने भएपछि राजमार्ग जीर्ण बनेको छ । दुई एक्सल लोड १० दशमलव २० टन हुन्छ । गाडीको तौलसमेत गर्दा १५ टनभन्दा हुनु हुँदैन । तर, एक्सल र टायर थपेको अवस्थामा भने सडकलाई खासै असर नपर्ने सडक डिभिजनका इन्जिनियर शिवु खत्रीले बताए । अधिकांश ट्रकले १० टन क्षमता भए पनि १८ टनसम्म बोकेर गुड्ने गर्छन् ।

प्रकाशित : वैशाख ७, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा डेंगुका बिरामी बढ्दै

कान्तिपुर संवाददाता

पर्सा — कोरोनाको दोस्रो लहर तीव्र रूपमा बढिरहेका बेला वीरगन्ज महानगर क्षेत्रमा अर्को सरुवा रोग डेंगुको प्रकोप फैलिएको छ । स्थानीय अस्पतालमा डेंगुको संक्रमण भएका बिरामीहरूको संख्या बढ्दै गएको हो ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहलाई पनि डेंगु भएको छ । उनी एक सातायता घरमै आराम गरिरहेका छन् । डा. सिंह कोरोनाको पहिलो लहरमा बिरामीमा ‘लिम्फोसाइट काउन्ट’ घट्ने साझा समस्या देखिएकोमा हाल दोस्रो लहरमा भने ‘प्लेटलेट’ को मात्रा घट्ने समस्या देखिएको बताउँछन् । ‘शरीरमा प्लेटलेटको मात्रा घट्नु डेंगुको लक्षण हो,’ उनले भने, ‘अब कोभिडसँगै सर्वसाधारणलाई डेंगुको पनि परीक्षण गर्नु अनिवार्य छ ।’

गर्मीमा वीरगन्जमा डेंगु रोगको प्रकोप देखिने गरेको छ । दुई साताअघि वीरगन्जमा कोरोनाको दोस्रो लहर सुरु हुनुअघि आफूले डेंगुका पाँच जना बिरामीको उपचार गरेको डा. सिंहले बताए । ‘डेंगुका बिरामी अहिले झनै बढेको हुन सक्छन्,’ उनले भने, ‘सावधानी जरुरी छ ।’ नारायणी अस्पतालका चिकित्सक डा. जेपी जयसवालले अस्पतालमा दैनिक एक सयभन्दा बढी ज्वरोका बिरामी उपचार गराउन आइरहेकाले तीमध्ये विभिन्न रोगका बिरामी हुने गरेको बताए । ‘केही डेंगुका, केही टाइफाइडका र केही कोरोनाका बिरामी अहिले उपचार गराउन अस्पताल आउँछन्,’ डा. जयसवालले भने, ‘अस्पताल र क्लिनिकमा समेत गरी ७/८ जना डेंगुका बिरामीको उपचार गरिसकें ।’

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले सबै जनशक्ति हाल कोभिड नियन्त्रणमा बढी सक्रिय भएकाले डेंगु नियन्त्रणतर्फ चाहेर पनि काम गर्न नसकेको बताए । ‘ठूलै जनशक्ति कोभिड नियन्त्रणमा खटिएको छ,’ उनले भने, ‘जेठ/असारतिर डेंगु नियन्त्रणका लागि काम हुन्छ होला ।’ हाल वीरगन्ज महानगरमा डेंगु रोगीको यकिन तथ्यांक आफूसँग नरहेको पनि उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×