कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी

नेपाली र भारतीयलाई १ सय ५० प्रतिशतसम्म शुल्क बढाइयो
फिर्ता लिन चौतर्फी दबाब
मनोज पौडेल

लुम्बिनी — विश्वसम्पदामा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी वृद्धि गरिएपछि चौतर्फी विरोध भएको छ । कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिनुपर्ने बेलामा लुम्बिनी विकास कोषले चर्को शुल्क वृद्धि गरेपछि स्थानीय, नागरिक अगुवा, पर्यटन व्यवसायी र भिक्षु–भिक्षुणीले विरोध जनाउँदै फिर्ता लिन माग गरेका हुन् ।

मायादेवी मन्दिर प्रवेश शुल्कमा मनपरी

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी बन्दै गएका बेला शुल्क वृद्धिले नकारात्मक असर पुर्‍याउने उनीहरूको भनाइ छ । कोषले यही वैशाख १ गतेबाट शुल्क बढाएर असुल्न थालेको छ । गत साउन १७ गते कोषका अध्यक्ष तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले नेपाली र भारतीय पर्यटकको प्रवेश शुल्कमा १ सय ५० प्रतिशतसम्म बढाएको हो । त्यस्तै सार्क राष्ट्रका लागि ५० प्रतिशत र तेस्रो मुलुकका लागि २० प्रतिशत शुल्क बढाइएको छ ।

नेपाली र भारतीयले अहिलेसम्म मायादेवी मन्दिर प्रवेश शुल्क २० र ४० रुपैयाँ तिर्दै आएकामा अहिले बढाएर ५० र एक सय रुपैयाँ पुर्‍याइएको छ । नेपाल र भारतका विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ । त्यस्तै सार्क राष्ट्र र तेस्रो मुलुकका पर्यटकलाई दुई सय र पाँच सय लिंदै आएकामा बढाएर ३ सय र ६ सय पुर्‍याइएको छ । नेपालीलाई क्यामरा, भिडियो क्यामरा र छायांकनको शुल्क बढाएर क्रमशः एक सय, एक हजार र १० हजार पुर्‍याइएको छ । यही शीर्षकमा भारतीयलाई एक सय, एक हजार र सात सय यूएस डलर पुर्‍याइएको छ । सार्क र तेस्रो मुलुकका लागि क्यामरा, भिडियो क्यामरा र छायांकनको शुल्क बढाएर क्रमशः ३ डलर, २५ डलर र ७ सय यूएस डलर पुर्‍याइएको छ । भिक्षु, भिक्षुणीका अतिरिक्त कपिलवस्तु, रूपन्देही र नवलपरासीका नागरिकलाई भने शुल्क नलाग्ने जनाइएको छ । तर, उनीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्नेछ ।

लुम्बिनी सबै नेपालीको भएकाले कसैलाई प्रवेशमा शुल्क लाग्ने र कसैलाई नलाग्ने नीति विभेदकारी भएको मायादेवी मन्दिरमा पूजाआजा गराउने भिक्षु विवेकानन्दले बताए । ‘सरोकारवालासँग छलफल नै नगरी एक्कासि शुल्क बढाइएको छ,’ उनले भने, ‘हामीलाई यो मान्य छैन । यस निर्णयका विरुद्ध अदालत जाने तयारी गरेका छौं ।’ लुम्बिनीका नागरिक समाज, होटल र पर्यटन व्यवसायी, पथप्रदर्शक र भिक्षु भिक्षुणीले ज्ञापनपत्र बुझाई शुल्क वृद्धि खारेजीको माग गरिसकेका छन् । ‘विश्व सम्पदास्थल हो, यहाँ नेपालीबाट शुल्क उठाउनु राम्रो होइन,’ लुम्बिनी संरक्षण नागरिक समाजका संयोजक मेघनाथ आचार्यले भने, ‘शुल्क उठाउँदा आफ्नो ठाउँ आफैं पराई बनाएजस्तो भयो ।’ भारतमा रहेका बौद्धस्थलमा पनि आफ्नै मुलुकका नागरिकसँग शुल्क नलिइने उनले बताए । यहाँ लिइँदा लुम्बिनीप्रति नकारात्मक धारणा बन्ने उनको भनाइ छ ।

०६५ सालमा पनि कोषले मन्दिर प्रवेश शुल्क लगाएको थियो । तर, स्थानीय पर्यटन व्यवसायी दिलीप बानियाँले सर्वोच्च अदालयमा मुद्दा दायर गरेका थिए । अदालतले कुनै पनि किसिमको शुल्क नलिनु भन्ने आदेश गरेको थियो । उक्त आदेश पनि कोषले आंशिक मात्रै लागू गरेको छ । नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट असुल्दै आएको थियो । एक दशकपछि फेरि कोषले अदालतको आदेशको अवहेलना गर्दै शुल्क लिन सुरु गर्नु दुःखद भएको बानियाँले बताए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा ०७५ जेठ १ गते बसेको बैठकले भदौ १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको ३ दिनसम्म मान्यता हुन्थ्यो । अहिले २४ घण्टा मात्र मान्य हुन्छ । ‘श्रद्धाले आउनेलाई श्रद्धाले नै पैसा दिने वातावरण बनाउनुपर्छ,’ अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘पैसा लिएर पूजाआजा गर्न दिनुले राम्रो सन्देश जाँदैन ।’

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा प्रवेश निःशुल्क छ तर मायादेवी मन्दिरमा शुल्क लाग्नु एउटै देशमा संस्कृति र सम्पदामा दोधारे नीति भएको अध्यक्ष महास्थवीरले सुनाए । ‘शान्ति र प्रेरणाका लागि टाढाटाढादेखि नेपाली यहाँसम्म आउँछन् तर दर्शनार्थीबाट पैसा लिनु राम्रो होइन,’ उनले भने, ‘यसले लुम्बिनीप्रति नराम्रो सन्देश जान्छ । प्रवेशमा पैसा लाग्ने भएपछि मन्दिर प्रवेश नगरी टाढैबाट हेरेर फर्किने अवस्था आउन सक्छ ।’ सरकारले लुम्बिनी विकास कोषलाई प्रशासनिक र चालु खर्चका लागि बजेट नदिई आत्मनिर्भर बन्न भनेकाले बाध्य भएर शुल्क वृद्धि गर्नुपरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले बताए । ‘शुल्क वृद्धि नगरी नहुने अवस्था आयो,’ उनले भने, ‘रकम अभावमा अहिले कतिपय कर्मचारीले एक महिना काम गरेर १५ दिनको मात्रै पारिश्रमिक लिएर चित्त बुझाएका छन् ।’

लुम्बिनीको प्रशासनिक र चालु खर्च वार्षिक १८ करोडको हाराहारीमा छ । प्रवेश शुल्कबाट मात्रै अहिले कोषले वार्षिक १४ करोडभन्दा बढी आम्दानी गर्दै आएको छ । कोषले तलबभत्ता, सुरक्षा, सरसफाइ, विद्युत्, सञ्चार र इन्धनलगायतको खर्च आफ्नै बजेटबाट गर्नुपर्छ । शुल्क वृद्धि अशोभनीय र लज्जाजनक भएको लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले बताए । ‘लुम्बिनीमा आउने पर्यटक अहिले २२ देखि २८ मिनेट मात्रै यहाँ रोकिने तथ्यांक छ,’ उनले भने, ‘यस्तोमा लुम्बिनीमा बसाइ कसरी लम्ब्याउने भन्नेबारे कोषको कुनै योजना छैन ।’ लुम्बिनीमा संग्रहालय र बगैंचालगायत आकर्षक र जीवन्त स्थल बनाएर पैसा उठाउनुपर्ने उनको सुझाव छ ।

नेपालमा सबैभन्दा बढी विदेशी र स्वदेशीले भ्रमण गर्ने पर्यटकीय स्थल लुम्बिनी हो । सन् २०१९ मा १ लाख ७४ हजार विदेशी र ११ लाखभन्दा बढी स्वदेशीले लुम्बिनीको भ्रमण गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?