१६ घण्टापछि संक्रमितको शव व्यवस्थापन

परासी — कोरोना संक्रमणबाट मृत्यु भएकी वृद्धाको १६ घण्टापछि शव व्यवस्थापन गरिएको छ । रामग्राम नगरपालिका–३ की ७१ वर्षीया महिलाको शनिबार राति घरमै मृत्यु भएको थियो । मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

१६ घण्टापछि संक्रमितको शव व्यवस्थापन

शव व्यवस्थापनमा कसैले चासो नदेखाएपछि मृतकका आफन्त र छिमेकीले आइतबार बिहानै प्रशासनमा धर्ना दिएका थिए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले स्थानीय तहलाई शव व्यवस्थापनका लागि स्थानको टुंगो लगाउन र तत्काल व्यवस्थापन गर्न निर्देशन दिए पनि लागू हुन सकेन ।

स्थानीय तहले शव व्यवस्थापनमा तदारुकता नदेखाएको भन्दै रामग्रामका प्रमुख नरेन्द्र गुप्ताको निवासमै पुगेर मृतकका आफन्त र छिमेकीले दबाब दिए । गर्मी मौसमका कारण गह्नाउन थालेपछि १६ घण्टापछि बल्लतल्ल शवको व्यवस्थापन गरिएको आफन्तले बताए । ‘शोकमा डुबेका हामीलाई शव व्यवस्थापन नहुने हो कि भन्ने पिरलो आउनु साह्रै दुःखद पक्ष हो,’ एक आफन्तले भने, ‘संक्रमण बढ्दो भएकाले हाम्रो परिवारले जस्तो अरूले दुःख पाउन नपरोस् भनेर विरोध गरेका हौं ।’

आइतबार दिउँसो नेपाली सेनाको टोलीले स्थानीय झरही खोलामा महिलाको शव व्यवस्थापन गरेको छ । जिल्लामा आइतबारसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ भने १ हजार ४ सय ५८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?