अस्पतालमा बिरामी खचाखच

ठाउँ नभएपछि आपत्कालीन कक्षमा र भुइँमा राखेर उपचार
कमल पन्थी

बर्दिया — कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन कक्ष र बेड अभाव खट्किएका बेला बर्दियाको जिल्ला अस्पताल बिरामीले भरिएको छ । गर्मी र प्रदूषण बढेपछि विभिन्न रोगीको संख्या बढेको हो ।

अस्पतालमा बिरामी खचाखच

५० शय्याको अस्पतालका बेड भरिभराउ छन् । ठाउँ नभएपछि शनिबार आपत्कालीन कक्षमा समेत बिरामी खचाखच थिए । नयाँ बिरामी भर्ना गरेर उपचार गर्न समस्या भएको छ । छिमेकी जिल्ला बाँकेको नेपालगन्जस्थित अस्पतालमा संक्रमितले गर्दा बेड पाउन समस्या भएपछि यहाँ कोरोनाबाहेकका बिरामीको चाप एक्कासि बढेको बताइएको छ ।

चिकित्सकका अनुसार श्वासप्रश्वास, झाडापखाला, रक्तअल्पता, ज्वरोलगायत बिरामीले अस्पताल भरिएको छ । यसबाहेक पेट र टाउको दुख्ने, मधुमेह, रक्तचापलगायत समस्या भएका बिरामी पनि दिनहुँ बढिरहेका छन् । शुक्रबार तीनवटा शय्या थपेर बिरामीको उपचार गरिएको थियो । शनिबार पनि बिरामी थपिएपछि भुइँमा राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ । यहाँ अधिकांश बिरामी बर्दिया र केही बाँकेका छन् । दुर्घटनालगायत गम्भीर अवस्थामा आउने बिरामीलाई आपत्कालीन कक्षमा बेड थपेर उपचार गर्न थालिएको छ । यसरी नै बिरामी बढ्दै जाने हो भने थेग्न नसक्ने अस्पतालले जनाएको छ ।

मधुवन नगरपालिका–५ का रोशन खड्का शनिबार मधुमेह बढेपछि जिल्ला अस्पताल आए । विगतमा नेपालगन्ज पुगेर उपचार गराउँदै आएका उनले अहिले कोरोनाको त्रासले त्यहाँ जाने अवस्था नरहेको बताए । ‘राम्रो उपचार यहीं हुन्छ भने कोरोना महामारी फैलिएको नेपालगन्ज किन जाने भनेर यहाँ आएको हुँ,’ उनले भने । उनीजस्तै गुलरिया–१ की देवमाया सुनार पनि रक्तचाप र मधुमेहकी बिरामी हुन् । उनले रेडियो, टीभी र पत्रपत्रिकामा नेपालगन्जमा कोरोनाको त्रासले भयावह अवस्था भएको थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल आएको बताइन् ।

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुभाष पाण्डेयले बाँकेको कोहलपुर र नेपालगन्जका अस्पताल कोभिडका कारण भरिभराउ भएपछि रिफर गर्ने बिरामी पनि यहीं उपचार गराइरहेको बताए । जनशक्ति कम भए पनि चिकित्सकबाट उपचारमा कुनै कमी नभएको उनले दाबी गरे । जिल्ला अस्पतालमा तीन विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्र कार्यरत छन् । मेडिकल अधिकृत आठ, नर्सिङ स्टाफ २१ जना कार्यरत रहेको अस्पतालले जनाएको छ । कतिपय बिरामीलाई अक्सिजन चढाएर राखिएको छ । अक्सिजन सिलिन्डर सकिनुअगावै नेपागन्जबाट मगाउने गरिएको मेसु पाण्डेयले जनाए । संक्रमण बढे पनि जिल्ला अस्पतालमा आउने बिरामीलाई जोखिम मोलेरै भए पनि उपचारमा कुनै कमी नगरेको चिकित्सकले जनाएका छन् ।

जिल्ला अस्पतालको बहिरंग सेवामा अहिले दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको मेडिकल अधिकृत मनु दहितले बताए । कोरोनाको जोखिम मोलेरै चिकित्सकले उपचार गरिरहेको उनले जनाए । बिरामीको संख्या बढ्दै गएपछि चिकित्सकले संक्रमण नफैलियोस् भन्दै सुरक्षित रूपमा उपचारमा लागेका छन् । माइकबाट बोलाएपछि टिकट काटेका बिरामी पालैपालो भित्र छिर्छन् । आईसीयू र भेन्टिलेटर नहुँदा जटिल बिरामी बाध्य भई थप उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ । जिल्ला अस्पतालमा सिकलसेलको परीक्षण निःशुल्क व्यवस्था गरिएको छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?