डाँडामा पाहुनाघर

रुकुम पूर्व — धेरै जिल्लामा अग्लो स्थानमा भ्यु टावर बनाउने लहर छ । रुकुम पूर्वको एक पालिकाले भने अग्लो डाँडामा अतिथि गृह बनाएको छ । भूमे गाउँपालिकाले २ र ७ नम्बर वडाको सीमास्थित मारिङडाँडामा अतिथि गृह सञ्चालनमा ल्याएको हो ।

डाँडामा पाहुनाघर

२ हजार ६ सय मिटर उचाइको मारिङडाँडाबाट रोल्पाको जलजला, रुकुम पूर्वको सिस्ने हिमाल, पुथा हिमाल, पश्चिम धौलागिरी नजिक देखिन्छन् । यहाँबाट सूर्यास्त पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ५० लाख रुपैयाँ बजेटबाट मारिङमा आधुनिक अतिथि गृह बनेको हो । अतिथि गृहमा एट्याच बाथरुमसहितका चार सुत्ने कोठा छन् । कृषिको खोज, अनुसन्धान, अध्ययन र अवलोकन गर्न आउनेहरूको सजिलोका लागि अतिथि गृह बनाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘प्राकृतिक रूपमै भ्यु टावरका रूपमा रहेको यो ठाउँबाट प्राकृतिक दृश्यावलोकनका साथै शान्त वातावरणमा आनन्द लिन सकिन्छ,’ उनले भने, ‘कृषि र वन वातावरणको थप अध्ययन र मनोरञ्जनात्मक क्षेत्रको रूपमा यसलाई विकास गर्न खोजिएको छ ।’ मारिङ अहिले सडक सञ्जालमा जोडिएको छ । सहिदमार्गबाट नौ किलोमिटर र मध्यपहाडी लोकमार्गबाट आठ किलोमिटर यात्रा गरेपछि मारिङ पुग्न सकिन्छ । मारिङ सम्पूर्ण दृष्टिकोणले पर्यटक घुम्नका लागि उपयुक्त छ ।

मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्र सञ्चालन र व्यवस्थापन कार्यविधि अनुसार अतिथि गृह चलाइनेछ । गृहमा बस्ने अतिथि, पाहुनाहरूबाट निश्चित सेवा शुल्क लिइने व्यवस्था गरिएको छ । त्यसबाट आएको आम्दानी तीनतिर बाँडिनेछ । कुल आम्दानीको २५ प्रतिशत यहाँ कार्यरत कर्मचारी, २५ प्रतिशत सञ्चालक समिति र ५० प्रतिशत गाउँपालिकाको सञ्चित कोषमा जम्मा हुनेछ ।

प्रकाशित : वैशाख ५, २०७८ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?