रोजगारी गुमेपछि तरकारी खेती

बुटवल — रूपन्देहीको सैनामैना–७ का बाबुराम पन्थ दुबईमा मजदुरी गर्थे । उनको कमाइबाट परिवारका पाँच जनाको खर्च धानिएको थियो । कोरोना संक्रमण सुरु भएपछि रोजगारी गुम्यो । गत साउनमा घर फर्किए । यहाँ आएर अलमलिएका उनलाई छिमेकीले तरकारी खेती गर्न सल्लाह दिए । अहिले उनले ४ कट्ठा आफ्नो र ७ कट्ठा जग्गा भाडामा लिएर विभिन्न थरीका तरकारी लगाएका छन् ।

रोजगारी गुमेपछि तरकारी खेती

‘माटो, मौसम, प्राविधिक सेवा र बजारको माग मिलाएर खेती गर्न सके तरकारी खेतीबाट सोचेभन्दा फाइदा रहेछ,’ उनले भने, ‘त्यसैले भाडामा समेत जग्गा लिएर खेती गरेको हुँ ।’ गोलभेंडाका लागि तीनवटा टनेल बनाएका छन् । थोपा सिँचाइबाट बेमौसमी काँक्रा र करेला फलाएर आम्दानी लिएका छन् । तरकारी खेतीबाट छिटो र नगद आम्दानी हुन्छ । सिँचाइ सुविधा हुने हो भने बाह्रैमास तरकारी खेती गर्न सकिन्छ । बेमौसमी खेती गर्न सके भनेको मोलमा बिक्री हुन्छ । यसैले पछिल्लो समय कोरोनाका कारण विदेशबाट फर्केका युवासमेत व्यावसायिक तरकारी खेतीमा लागेका हुन् । त्यसैमध्येका हुन्, सैनामैना नगरपालिका–६ का दीपक नेपाली ।

कोरोनाले रोजगारी खोसिएपछि दीपक गत चैतमा मलेसियाबाट घर फर्के । अहिले उनी तरकारी खेतीमा रमाएका छन् । ५ कट्ठा खेतमा बेमौसमी रूपमा फलाएका काँक्रा, करेला, बोडीलगायत छन् । केही जमिनमा गोलभेंडा, खुर्सानी, बन्दा पनि लगाएका छन् । टनेलमा थोपा सिँचाइबाट खेती गरेका छन् । उत्पादित तरकारी लिन स्थानीय व्यापारी घरमै पुग्छन् । भनेको मोलमा किन्छन् । यसले दीपकको उत्साह चुलिएको छ ।

‘दुई जना सुस्त मनस्थितिका भाइ र वृद्ध बाबुआमासहित आठ जनाको परिवार पाल्ने जिम्मेवारी छ । केही महिना के काम थाल्ने भनेरै अलमलमा थिएँ,’ उनले भने, ‘सेतो गुराँस बाल विकास सेवाका प्राविधिकहरूले घरमै आएर तरकारी खेतीमा लाग्न सुझाव दिनुभयो । अहिले यही तरकारी खेतीले काम र दाम दुवै दिएको छ ।’ तरकारी खेतीमा सघाउन प्राविधिकहरू घरमै आउने गरेको उनले बताए । टनेल र सिँचाइका लागि सामग्री र बीउ अनुदानमा पाएका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका सैनामैना–२ का परमानन्द ज्ञवाली पनि अहिले तरकारी खेतीमै रमाएका छन् । बेमौसमी खेतीका लागि टनेल बनाएका छन् । जैविक मल र विषादीका लागि ढोलमोल बनाएका छन् । बेमौसमी तरकारीको आम्दानीले सन्तुष्ट उनी थप जग्गामा खेती गर्ने योजनामा छन् । सैनामैनामा यस वर्ष भारत एवं तेस्रो मुलुकबाट फर्किएका ८० जना युवाले मौसमी एवं बेमौसमी तरकारी खेती गर्न थालेका छन् ।

प्रकाशित : वैशाख ४, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?