संक्रमण तीव्र, तयारी सुस्त

प्रशासनबाट बल्ल कोभिड एम्बुलेन्स, आइसोलेसन सेन्टर र क्वारेन्टाइन व्यवस्थापन गर्न निर्देशन
संक्रमण नियन्त्रण बाहिर पुग्ने चिकित्सकको चेतावनी

बाँके,लुम्बिनी र कपिलवस्तु — सुर्खेत गुब्राकोट गाउँपालिका–१३ का ३१ वर्षीय युवा रोजगारी गर्न भारत गएका थिए । एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि घर आए । उनमा दीर्घरोग थिएन । गत मंगलबार ३१ गते एक्कासि सास फेर्न गाह्रो भयो । त्यसै दिन पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएपछि भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार थालियो । श्वासप्रश्वास समस्या बल्झिएपछि शुक्रबार बिहान उनको मृत्यु भएको छ । भेरी अस्पतालमा शुक्रबारसम्म गम्भीर प्रकृतिका कोरोना संक्रमित ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका ७४ जनामध्ये ४९ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । दोस्रो चरणमा कोरोना संक्रमित ह्वात्तै बढे पनि रोकथाम तयारी र सावधानी त्यही गतिमा भएको देखिँदैन ।

संक्रमण तीव्र, तयारी सुस्त

बाँके जिल्ला प्रशासनले बिहीबार सबै स्थानीय तहलाई अनिवार्य कोभिड एम्बुलेन्स, आइसोलेसन सेन्टर, क्वारेन्टाइन व्यवस्थापन गर्न निर्देशन दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले ह्वाइट हाउस होटलमा १ सय ५० बेड भएको आइसोलेसन सेन्टर बनाउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति तेज ओलीले बताए । स्थानीय सरकारलाई एम्बुलेन्सको व्यवस्थापन गर्न अनुरोध गरे पनि चासो नदिएको उनले बताए । ‘अस्पतालमा बेड अभाव भएपछि दुई सयभन्दा बढी संक्रमितलाई घरमै राखिएको छ,’ उनले भने, ‘उनीहरूको अवस्था गम्भीर भएमा तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल ल्याउनुपर्ने हुन्छ ।’ त्यसका लागि एम्बुलेन्स तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ । ‘स्थानीय तहले सहयोग नगरे भेरी अस्पतालले थेग्न सक्दैन,’ ओलीले भने, ‘एम्बुलेन्स र आइसोलेसन अनिवार्य भएका छन् ।’

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले अहिले सबैभन्दा बढी नेपालगन्जका स्थानीय संक्रमित रहेको बताए । ‘यसको मुख्य कारण खुला सीमामा नियन्त्रण नगर्नु हो,’ उनले भने, ‘शुक्रबारबाट नेपालगन्ज–रूपैडिया नाका हुँदै किनमेल गर्न आउजाउ गर्नेलाई कडाइ गरिएको छ ।’ नाकामै स्वास्थ्य जाँच गर्ने र गम्भीर प्रकृतिका बिरामीको तुरुन्त उपचार व्यवस्था थालिएको छ । कोरोना फैलिन नदिन मुख्य तीनवटा सुरक्षाका आधार अपनाउन लागिएको उपाध्यायले बताए । खुला सीमामा रोक लगाउने, मास्क नलगाई बाहिर निस्किनेलाई कडा कारबाही गर्ने, विद्यालय बन्द गर्ने, भीडभाड र बजारमा नियन्त्रण लिने प्रशासनको तयारी छ । प्रशासनले पटक–पटक स्वास्थ्य सुरक्षामा जोड दिँदै आएको भए पनि सर्वसाधारणको लापरबाही हुँदा स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने उनले सुनाए । ‘प्रशासनले निर्णय मात्रै गरेको छैन, कडा शैलीमा लागूसमेत गराउँछ,’ उपाध्यायले भने, ‘नियम उल्लंघन गर्नेलाई आवश्यक कारबाही गर्नसमेत पछि पर्दैनौं ।’

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले शुक्रबार मात्रै १ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यसले अवस्था झनै जटिल बन्दै गएको उनको भनाइ छ । उनका अनुसार ७२ बेड रहेको अस्पतालमा अहिले अभाव भइसकेको छ । ‘नन कोभिड बिरामीका लागि पनि बेड राख्नुपर्छ,’ थापाले भने, ‘संक्रमितको संख्या ह्वात्तै बढेकाले जनशक्तिसमेत बढाउनुपर्ने भएको छ ।’ अहिले भेरीमा ३९ जना नर्सिङ स्टाफ र ६ जना मेडिकल अफिसरले कोभिडका बिरामी हेरिरहेका छन् । यो पर्याप्त जनशक्ति होइन । ‘हामीले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयमा जनशक्तिको माग गर्दै पत्र पठाइसकेका छौं,’ डा. थापाले भने, ‘नन कोभिडका बिरामी पनि हेर्नु पर्दा भेरीमा सास्ती छ ।’ यहाँ ७ वटा मात्र भेन्टिलेटर छन् । यही गतिमा संक्रमण तीव्र हुँदै गए स्थिति नियन्त्रणभन्दा बाहिर पुग्ने उनले बताए ।

भारतबाट आउनेमा संक्रमण धेरै

रूपन्देहीको बेलहिया नाकाबाट शुक्रबार मध्याह्नसम्म ५० जनाभन्दा बढी मुलुक प्रवेश गरे । त्यतिन्जेल नाका हुँदै भारत जानेको संख्या १ सय ९० थियो । भारतबाट आएकाको ज्वरो जाँच गर्दा ८ जना शंकास्पद फेला परे । एन्टिजेन परीक्षणबाट भारत घर भई नेपालगन्ज माइत आएकी एक महिलामा संक्रमण पुष्टि भयो । आमाको मृत्यु भएकाले माइत जान लागेकी उनलाई भारत फिर्ता पठाउने वा बाँकेस्थित सम्बन्धित पालिकासँग समन्वय गरी नेपालगन्ज पठाउने भन्नेबारे छलफल भइरहेको इलाका प्रहरी बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।

उनका अनुसार अहिले दैनिक हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरी शंकास्पदलाई अस्थायी होल्डिङ सेन्टरमा राखेर परीक्षण भइरहेको उनले बताए । ‘होल्डिङ सेन्टरको निर्माण पूर्ण रूपमा भइसकेको छैन,’ उनले भने, ‘शनिबारदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाइनेछ ।’ गत बुधबार यो नाका भएर नेपाल आउनेको संख्या ३ सय २ थियो । भारत जाने ५ सय ३२ जना थिए । बिहीबार यहाँबाट ४ सय ९० जना भारत गएका थिए भने २ सय ८२ जना मुलुक प्रवेश गरेका थिए । बिहीबार आएकामध्ये १९ जना शंकास्पद फेला परेका थिए । उनीहरूको एन्टिजेन परीक्षण गर्दा रूपन्देहीको सैनामैनाका एक व्यक्तिमा संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए । संक्रमितलाई पालिकामा समन्वय गरी आइसोलेसनमा राख्ने गरी पठाइएको छ ।

कोरोनाको दोस्रो लहर भित्रिएसँगै बढेको जोखिम न्यूनीकरणका लागि सरकारले जारी गरेको सूचना र निर्देशनलाई आधार मानेर जिल्लामा लागू गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले बताए । ‘नाका हुँदै मुलुक प्रवेश गर्ने नागरिकको स्वास्थ्य जाँचदेखि परीक्षण र आइसोलेसनमा राख्नेसम्मको व्यवस्थापन गरिरहेका छौं,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि स्थानीय तह, प्रहरी र नागरिक सबैको सहयोग आवश्यक छ ।’ सूचना जारी गर्दागर्दै अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याउनसमेत प्रशासन पछि नपर्ने उनको भनाइ छ । जिल्लामा एन्टिजेन, आरडीटी र पीसीआर परीक्षणको कामलाई तीव्रता दिइएको भन्दै उनले पालिकास्तरीय व्यवस्थापनका लागि शनिबार बैठक बसेर निर्णय गरिने बताए ।

कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था जटिल रहेको कोरोना विशेष अस्पताल, बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । अस्पतालमा रहेका १६ आईसीयूमध्ये तीनवटा मर्मत गर्न बाँकी रहेको र १२ वटा भरिभराउ रहेको उनले जानकारी दिए । ‘दोस्रो भेरियन्ट सुरुवातमै व्यवस्थापन गर्न नसकिने गरी बढ्दै जानु राम्रो संकेत होइन,’ उनले भने, अझै पनि लापरबाही गरियो भने समाजमा यसले पार्ने असर नसोचेको हुन सक्छ ।’ दोस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भएकाले विद्यालय तत्काल बन्द गर्न र अनलाइन माध्यमबाटै पठनपाठन गर्न थापाले सुझाए । अस्पतालमा आउने बिरामी गम्भीर अवस्थाको रहने भन्दै उनले यो लहर फैलिन समय नलाग्ने बताए । स्वास्थ्य मन्त्रालय, प्रशासनबाट अह्राएबमोजिम आफूहरूले कोरोना रोकथाम र नियन्त्रणबारे काम गरिरहेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

घटेन भीडभाड

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै कपिलवस्तुमा पनि संक्रमित बढ्न थालेका छन् । फागुन १ गतेदेखि संक्रमित शून्य थिए । चैत १९ गते दोस्रो चरण सुरु भएपछि २ जना संक्रमित भेटिएका थिए भने वैशाख ३ गतेसम्म १४ जना थपिएका छन् । अहिले यहाँ सक्रिय संक्रमितको संख्या १६ पुगेको छ । बढी थलिएका चार जनालाई बुटवलस्थित धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको छ । १२ जना होम आइसोलेसनमा छन् । गत चैत १९ यता संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ । कपिलवस्तुमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । संक्रमण बढ्न थालेसँगै जिल्लामा डर, त्रास र जोखिम बढेको छ । तर, भीडभाड घटेको छैन । विद्यालय पनि बन्द भएका छैनन् । जिल्ला स्तरीय कोभिड नियन्त्रण व्यवस्थापन समितिको बिहीवार बैठक बसेर सतर्कता अपनाउन निर्देशन गरेको छ ।

पारि कर्फ्यु, वारि भीड

बर्दियासँग सीमा जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा एकै दिनमा ५ सयभन्दा बढी संक्रमित थपिएपछि बिहीबारबाट रात्रिकालीन कर्फ्यु लगाइएको छ । बहराइचमा कडाइ गरे पनि त्यससित सीमा जोडिएको बर्दियामा भने भीडभाड रोकिएको छैन । बहराइचको सलारपुरबाट घर निर्माणलगायत काम गर्ने मिस्त्री र मजदुर गुलरिया आउने क्रम उस्तै छैन । उनीहरू चोरबाटो हुँदै दैनिक गुलरिया आउने गरेको स्थानीय व्यवसायी समिम राइनले बताए । सलारपुरबाट आउने मिस्त्री र मजदुरको स्वास्थ्य परीक्षण नभएकाले पनि कोरोनाको जोखिम बढेको उनले जनाए । साप्ताहिक हाट बजारमा स्वास्थ्य मापदण्ड पूरा नगरी भीडभाड बढेकाले पनि जोखिम बढाएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?