१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निर्देशन अटेर गर्दै भीडभाड

दिनहुँ जमघट र वनभोज
सार्वजनिक यातायातमा छैन सावधानी

दाङ/लुम्बिनी — कोरोना संक्रमण एकाएक बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन । दिनहुँजसो भीडभाड बढिरहेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रशासन कार्यालयले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन ।

निर्देशन अटेर गर्दै भीडभाड

दाङ जिल्ला प्रशासन कार्यालयले चैत १२ गते सूचना नै जारी गर्दै छिमेकी भारत लगायत विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गएकाले अनावश्यक भीडभाड नगर्न आग्रह गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले भारतसँगको खुला सीमा नाकाका कारण आवतजावत बढ्नुका साथै सहरी तथा ग्रामीण क्षेत्रमा मानिसहरूको चहलपहल अत्यधिक बढेकाले संक्रमणको जोखिम उच्च रहेको भन्दै भीडभाड नगर्न आग्रह गरेका थिए । सूचनामा मेलापर्व, भोजभतेर र पार्टीमा समावेश नहुन तथा जमघट एवं भीडभाड नगर्न आग्रह गरिएको थियो ।

यसैगरी घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न पनि सूचनामा आग्रह गरिएको थियो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । प्रशासनको सूचना उल्लंघन गर्दै दिनहुँ वनभोज, जमघट र भीडभाड भइरहेको छ । सार्वजनिक यातायातका साधनमा कुनै पनि सुरक्षाका मापदण्ड अपनाइएको छैन । विद्यालय, कलेज र बजारमा भीडभाड त्यत्तिकै छ ।

कोरोनाले एकको मृत्यु

कोरोनाका कारण बिहीबार दाङमा एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरकी ५५ वर्षीया महिलाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । हाल अस्पतालमा २० जना बिरामी उपचाररत रहेको उनले जानकारी दिए । अस्पतालमा २५ शय्या रहेकामा बिरामी बढ्दै गएपछि अभाव हुन थालेको पौडेलले बताए ।

भेन्टिलेटरमा राख्नुपर्ने बिरामी बढ्दै गएपछि समस्या भएको उनले बताए । नागरिक गम्भीर नहुँदा समस्या बढ्दै गएको र यसमा थप निर्णय गर्न शुक्रबार बैठक बस्ने उनले जानकारी दिए । ‘सबै स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसन ठिक अवस्थामा राख्न आग्रह गरेका छौं,’ उनले भने, ‘मानिसहरूको लापरबाही बढिरहेको छ । अब थप के निर्णय लिने भन्ने विषयमा छलफल गर्दैछौं ।’ जिल्लाको नेपाल–भारत मुख्य सीमा नाका कोइलाबासमा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कबाट सीमामा आवतजावत गर्ने नागरिकको अभिलेख राख्ने, स्वास्थ्य जाँच गर्ने र सचेतना फैलाउने काम भइरहेको पौडेलले बताए । भारतबाट जिल्ला प्रवेश गर्ने सबैको स्वास्थ्य जाँचपछि अवस्था हेरेर अस्पताल, क्वारेन्टाइन वा आइसोलेसनमा पठाइने उनले बताए ।

कोरोना अस्पतालमा हालसम्म ६ सय ३६ बिरामी भर्ना भएकामा ५ सय ९८ बिरामी सन्चो भएर घर फर्केको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण वलीले बताए । अस्पतालमै ८ जनाको मृत्यु भएको र अन्य ३० जनाको जिल्ला र जिल्लाबाहिर उपचार भइरहेको उनले जानकारी दिए । यसअघि जिल्लामा स्थापना भएका क्वारेन्टाइनमा १३ हजार ५ सय २६ जना बसेका थिए । क्वारेन्टाइनमा बसेका र अन्य गरी जिल्लामा २३ हजार १ सय ६४ जनाको स्वाब संकलन गरिएकामा ३ हजार ४ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोनाका कारण ४५ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य सचेतना बढाइएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । स्वास्थ्य मापदण्डलाई बेवास्ता रूपन्देहीमा बुधबार मात्रै ३९ जनामा कोरोना संक्रमण देखियो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भयो । यहाँका अस्पतालमा दैनिक कोरोना संक्रमणका बिरामी भेटिन थालेपछि जिल्ला फेरि हटस्पट बन्ने संकेत देखिएको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि खुला नाका रहेको रूपन्देहीमा पनि त्यसको प्रभाव देखिएको हो । तर, जिल्ला र आसपासमा कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना र सतर्कतालाई बेवास्ता गरिएको छ । धेरै जमघट हुने विद्यालय क्षेत्र, बसपार्क, हाट बजारलगायत स्थानमा बिना मास्क हिंडडुल गर्ने मानिसको भीड छ ।

प्रशासनले भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि नयाँ वर्षलाई स्वागत गर्न भन्दै बुटवल, सिद्धार्थनगर, देवदहलगायत क्षेत्रमा रहेका धेरै होटल तथा रेस्टुरेन्टमा बिहीबार पनि भीडभाडसहित कार्यक्रम आयोजना गरिए । ती कार्यक्रममा सहभागीले न मास्कको प्रयोग गरेका थिए, न त व्यक्तिगत दूरी नै कायम गरेका थिए । स्थानीय विद्यालयमा ज्वरो मापन, मास्कको अनिवार्यता पनि हट्दै गएको छ । घरदेखि मास्क पहिरिएर विद्यालय गएका बालबालिका विद्यालयभित्र र बाहिर निस्कंदा बिना मास्क देखा पर्छन् । विद्यालयको मूल ढोकामा ज्वरो नाप्ने यन्त्र, सेनिटाइजरको प्रयोग गराउने प्रचलन छैन ।

मास्क लगाउँदा आफू एक्लै परिन्छ कि भन्ने अवस्था आएकाले नलगाई विद्यालय जाने गरेको सिद्धार्थनगर नगरपालिका–८ स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्र सिद्धार्थ गौतमले बताए । कोरोनादेखि बच्न मास्क लगाउनुपर्छ भन्ने थाहा भए पनि साथीभाइले नलगाउँदा र विद्यालयमा अनिवार्य नहुँदा त्यति चासो नदिएको उनको भनाइ छ । ‘पहिलेपहिले विद्यालयमा मास्कबिना प्रवेश पाइँदैनथ्यो,’ उनले भने, ‘अहिले कसैले किन नलगाएको भनेर पनि सोध्दैन ।’ अघिपछि नलगाए पनि घर पुग्ने बेलामा भने आमाको गाली खाने डरले मास्क प्रयोग गर्ने गरेको उनले बताए ।

नाकामा प्रशासनले कडाइ गरेको बताए पनि भारतीय बजार गई एक किलो चिनी खरिद गर्ने नेपालीको भीड अहिले पनि उस्तै छ । पारि जाँदासम्म भारतीय सुरक्षाकर्मी जाँच गर्ने भएकाले मास्क लगाएजस्तो गर्ने र उताबाट बिनामास्क स्वदेश आउने गरेको पाइन्छ । नाकाको हेल्थ डेस्कमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘मुख्य कुरा भारततर्फ नेपाली जाने र उतादेखि आउने कामलाई बन्द गर्नुपर्छ,’ उनले भने, ‘अहिले दिनहुँ संक्रमितको संख्या दोब्बर भई बढ्नुमा मानिसको लापरबाही र नाका कडाइमा कमजोरी मुख्य कारक हो ।’

संक्रमितको उपचारका लागि छुट्याइएका यहाँका अस्पतालमा आईसीयू कक्ष भरिएका छन् । यसरी नै बिरामी बढ्दै गएमा उपचारको सम्भावना न्यून रहने कोरोना विशेष अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले बताए । ‘सरकारले आईसीयू थप गर्ने र उपकरण ल्याउने विषयलाई गम्भीरतापूर्वक लिएको छैन,’ उनले भने, ‘जनशक्ति, स्थान र उपकरणबिना संक्रमितको उपचारमा कठिनाइ आउँछ ।’ ४० वर्षमुनिका बिरामी बढिरहँदा बालबालिका र युवा वर्गलाई विशेष ख्याल गर्नुपर्ने उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?